किन मागे उपेन्द्र यादवले मुख्यमन्त्री राउतको राजीनामा ?
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका छन्।
पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा मागेका हुन्। राउत यादवकै दल जसपाका नेता हुन्।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए । बैठकमा त्यस विषयमा मौन रहेका अध्यक्ष यादवले सोमबार मात्रै राउतलाई राजीनामा गर्न निर्देशन दिएका हुन्।
जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा दिन भनेका छन्। मुख्यमन्त्री राउत भने केही दिनयता काठमाडौंमै छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्री राउतले वितरण गरेको साइकल खरिदमा अनियमितता भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उक्त मुद्दामा मुख्यमन्त्री राउतलाई चोख्याइएको टिप्पणी भइरहेकै बेला जसपाभित्रबाट राउतमाथि राजीनामाका लागि दबाब बढेको हो। राउतले केही दिनमा राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ।