ओलीलाई झापामा हराउन महागठबन्धन गर्ने देउवा प्रचण्ड नेपालको तयारी
काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीमा सबै राजनीतिक दलहरु जुटिसकेका छन्। मंसिर ४ गते हुने निर्वाचनको तयारीका लागि दलहरु चुनाव प्रचारमा गाउँ केन्द्रित भइसकेका छन्।
सरकारले चुनावको मिति घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गाउँ केन्द्रित भइरहेको छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा गएको सत्ता गठबन्धन भने अहिले सीट बाँडफाँडको लागि बालुवाटार, खुमलटार र कोटेश्वरमै केन्द्रित छ।
एमालेविरुद्ध ‘महागठबन्धन’ बनाएर चुनावी मोर्चामा जानको लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाको गठबन्धन कायमै छ।
यी बाहेक डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान पनि गठबन्धनमै जोडिइसकेको छ।
त्यसो त गठबन्धनको प्रमुख घटक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि गठबन्धनमा समेट्न प्रयास गरिरहेका छन्।
तर, जसपाबाट विभाजित बनेर गएको लोसपालाई गठबन्धनमा भित्र्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि जसपा अध्यक्ष उपेन्द्र यादवसम्म सकारात्मक नभएपछि रोकिएको छ।
लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री देउवालाई पटक पटक भेटेर गठबन्धनमा सामेल गराउन आग्रह गरिरहेका छन्।
तर, गठबन्धनका शीर्ष नेताहरुबाटै लोसपालाई अटाउन सकारात्मक नदेखिएपछि देउवा अझै पर्ख र हेरको अवस्थामा छन्। उनी लोसपालाई सरकारमा ल्याएर मधेश प्रदेशमा कांग्रेसलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने रणनीतिमा छन्।
तर, गठबन्धन दलमै सीट बाँडफाँडको लागि मुस्किल परिरहेको बेलामा अन्य दललाई थप गर्दा झन् समस्या आउने देउवाको बुझाइ छ।
यता, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि गठबन्धन या एमालेसँग मिल्ने भन्ने खुला छलफलमा छ। तर, एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका आ आफ्नै बाध्यताको कारणले एमाले-राप्रपाको गठबन्धन सम्भावना धेरै छ।
अलमलमा राप्रपा
देशभर चुनावी तयारीलाई तीव्रता दिएको राप्रपा पनि अन्य दलसँग तालमेलको बिषयमा अझै अनिर्णित नै छ। तालमेलको बिषयमा कुनै ठोस निर्णय नभएको अध्यक्ष लिङ्देन बताउँछन्।
उनी भन्छन्, ‘हामीले तालमेलको छलफल र सम्भावनालाई खुला राखेका छौँ। हामीले एमालेसँगै मिलेर जानुपर्छ भन्ने छैन। सबैसँग औपचारिक अनौपचारिक रुपमा संवाद भइरहेको छ। कतै मूर्तरूप लिएको छैन।’
राप्रपाले याे निर्वाचनमा एमालेसँग तालमेल गरेर जान पहल गरिरहेको छ। अध्यक्ष लिङ्देनले गत साता मात्रै एमाले अध्यक्ष ओलीलाई बालकोटमै पुगेको छलफल गरेका थिए।
त्यो भेटबारे अध्यक्ष लिङ्देन भन्छन्, ‘हामीले चुनावी तालमेलको बिषयमा कुराकानी गरेका हौँ। तर, उहाँहरु सकारात्मक भएपनि निचोडमा पुगेका छैनौँ। त्यसैले हामी खुला नै छौँ।’
०७४ को चुनावमा माओवादीसँग गठबन्धन हुँदासमेत ओलीले आफूलाई सुरक्षित गर्नको लागि राप्रपासँग तालमेल गरेका थिए। झापा ३ मा लिङ्देनलाई छाडेर ५ मा आफूले सहयोग लिएका थिए।
अहिले सत्ता गठबन्धनले ओलीलाई निशाना साँधेको बेलामा ओलीले आफूलाई सुरक्षित गर्नका लागि फेरि झापा ५ मा ओली र झापा ३ मा लिङ्देन हुनेगरी सहकार्य गर्ने सम्भावना उत्तिकै छ। गतसाता भएको ओली-लिङ्देनको भेटले पनि त्यही संकेत गर्छ।
०७४ को चुनावमा वाम गठबन्धनबाट ओली ५७ हजार १ सय ३९ मत ल्याएका थिए भने, कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत मात्रै ल्याएका थिए। वाम गठबन्धन हुँदा ओलीले राप्रपाको साथमा २८ हजार ८ सय ४२ को फराकिलो मतान्तरले जितेको थिए।
यता, चुनावी तालमेलको बिषयमा लोसपा र राप्रपासँग छलफल भइरहेको एमाले उपमहासचिव प्रदीप ज्ञवाली स्वीकार गर्छन्।
उनी भन्छन्, ‘हामी देशव्यापी रुपमा तालमेल गरेर जाँदैनौँ। तर, आवश्यकता अनुसार केही ठाउँमा हुनसक्छ। त्यसैका लागि राप्रपा र लोसपासँग छलफल भइरहेको छ।’
ओलीलाई रोक्न गृहकार्य
तत्कालीन नेकपाको एकता भंग भएपछि ओलीसँग प्रचण्ड-माधवको पानी बाराबारको अवस्था छ। ओलीले दुई पटक संसद विघटन गरेपछि देउवालाई सत्ताको चाबी बुझाएका प्रचण्ड–माधवले ओलीलाई झापामै रोक्ने प्रयास गरेका छन्।
सत्ता गठबन्धनको आडमा राप्रपालाई साथ लिएर ओलीलाई रोक्ने महागठबन्धनको गृहकार्य थालेका छन्। झापा केन्द्रित भएर गठबन्धनको तर्फबाट सहकार्य गर्नका लागि गठबन्धनबाट प्रस्ताव आएकाे राप्रपा अध्यक्ष लिङ्देनले बताए।