अमेरिकन आइडलको उपविजेता ‘आर्थर गन’ बने नेपाली पर्यटनको विश्व सद्भावना दूत
काठमाडौं, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता गायक दिवेश पोखरेल (आर्थर गन)लाई नेपालको पर्यटन प्रवर्द्धनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेका हुन् ।
कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकाले पोखरेललाई सम्मान समेत गरिएको थियो । पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुशीको लागेको बताउँदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा व्यक्त गरे ।
काठमाडौंको रविभवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका गएका पोखरेल ‘अमेरिकन आइडल’को स्टेजमा दमदार उपस्थिति जनाइ लोकप्रिय बनेका थिए ।
प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा रहेका सर्वोच्च शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मस्थल जनकपुरसहित अन्य विभिन्न धार्मिक क्षेत्र पशुपतिनाथ, मुक्तिनाथका साथै अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको प्रचार–प्रसारमा पोखरेलले भूमिका खेल्ने विश्वास गरिएको छ ।
विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले संगीतमार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।