रचना रिमालको पुरा भयो आफैले बनाएकाे घरमा बुबाआमालाई राख्ने सपना
काठमाडौं । गायिका रचना रिमालको झापामा बन्दै गरेको घर तयार भएको छ ।
झापाको चन्द्रगढीमा पुरानो घर भएको ठाँउमा चार कोठे पक्की घर निर्माण कार्य पुरा भएको हो ।
पछिल्लो समय एकदमै व्यस्त गायिकाको रुपमा परिचित रिमालले आफनो कमाइबाट बुबाआमाको लागि घर बनाउने सपना पुरा भएको बताइन् ।
उनले सामाजिक संजाल फेसबुकमा नयाँ घरको तस्बिर राख्दै आफनो सानैदेखिको सपना पुरा भएको भन्दै खुसी साटेकी छन् ।
रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा…, मिनरल वाटर…, पहिलो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको छ ।
यी गायिकाको रुमाल चिनो…., पानी मिठो धाराको…, कोसँग बोलुँ मनको…, एक चिम्टी सिन्दुर…, नरौ नरौ निरमायाँ…, काफल गेडी कुटुक्कै…, तिमी बिना…, मेरो मायाँ हार हैन…, रित्तो मझेरी…, तीज भाका आयो चेली…, सृष्टीको अनुपम उपहार जीवन…, उनको प्रीति…जस्ता थुप्रै गीतहरु अहिले चर्चामा छन् । उनका गीतहरु मध्ये फोटो फिरिममा…, मिनरल वाटर…, आयो चेली…, पहिलो पल्ट भेट हुँदा…जस्ता गीतहरु १० देखि ८० लाख पटकसम्म युट्युब च्यानलमा हेरिएको छ । यस्तै बसन्त सापकोटासँगको पछिल्लो गीत सुनन पियारी…पनि निकै मन पराईएको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना र नारायण रायमाझीको संगीतमा प्रविन बेडवालसँग गाएको ‘उनको प्रीति’ बोलको गीत त निक्कै चर्चित भयो ।
‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु पनि रुचाइएका छन् ।
रचनाले सांगीतिक करिअर शुरु गरेको लामो समय पनि भएको छैन । आफ्नो पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको दुई वर्ष नहुँदै उनको स्वर एक हजारभन्दा बढी गीतमा गुञ्जिइसकेको छ ।
झापाको चन्द्रगढीमा सामान्य परिवारमा जन्मिएकी हुन् रचना । आमाले दुई वर्ष अगाडिसम्म घरछेउमै घुम्ती पसलमा चटपटे बेच्थिन् । बुवा पहिले वैदेशिक रोजगारीमा थिए । अहिले घर फर्किएर अटो चलाउँछन् । तीन दिदी-बहिनीमा माइली रचना सानैदेखि भजन गाउँथिन् ।
रचना ‘चटपटेवाली गायिका’ भनेर भाइरल भएकी थिइन् । त्यतिबेला उनी बेलाबेला गीत गाएर भिडियोहरु फेसबुकमा पोष्ट समेत गर्थिन् । संगीतकार वसन्त सापकोटालाई आफैंले रिक्वेस्ट पठाएर फेसबुकमा साथी बनाइसकेकी थिइन् । रचनाले फेसबुकमा गीत गाएर पोष्ट गरेको ‘क्लिप’ सापकोटालाई मन परेको रहेछ ।
एक दिन संगीतकार सापकोटाको रचनालाई म्यासेज आयो, ‘नानी तिम्रो स्वर एकदमै राम्रो लाग्यो । काम गर्नुपर्छ ल ।’ सापकोटाको म्यासेजले रचनामा खुशीको सीमा रहेन ।
सापकोटाले गीत रेकर्डिङका लागि काठमाडौं बोलाए । बुबालाई लिएर काठमाडौं आइन्, वसन्तको शब्द तथा संगीतमा रचनाको पहिलो गीत रेकर्ड भयो, ‘रुमाल चिनो’ । जतिबेला रचना कक्षा १० मा पढ्दै थिइन् ।
रचना आफ्नो भिडियोमा आउने कमेन्ट पढिरहन्थिन् । ‘नेपाल आइडलमा जाऊ’ भन्ने कमेन्टहरु थुप्रै आउँथे उनलाई । रचना आफैं पनि नेपाल आइडलको नियमित दर्शक थिइन्, उनलाई त्यहाँ गएर गाउने धोको थियो । अडिसनबारे जानकारी पाएपछि नेपाल आइडलमा जाने आँट गरिन् । सयौंबाट छानिइन्, प्रस्तुति दिँदै गइन् । स्रोता-दर्शकबाट तारिफ बटुल्दै उत्कृष्ट आठसम्म पुगिन् । उनले तीन पटकसम्म सबैभन्दा बढी भोट पाएकी थिइन् । उत्कृष्ठ ८ बाट भने उनी बाहिरिइन्, तर त्यसपछि उनको सांगीतिक यात्राको वेग तीव्र हुँदै गयो ।