रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो


नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न थालेको छ ।

असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाईं गरेर नेपालीहरु अयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए पनि उचित पारिश्रमिक नपाउने कारणले नेपालीहरू भारत जान बाध्य भएका हुन् । नेपालभन्दा सहज र ज्याला पनि बढी भएका कारण भारत जाने नेपालीको संख्या बढेको छ । पहाडी भेगमा काम पाए पनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेरबहादुर शहीले बताए । उनले आफ्नो गाउँ भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकाले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताउनु भयो ।

पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका रामबहादुर विक जेठ महिनामा खेती लगाउनका लागि घर फर्किएका थिए । तर उनलाई भारतमै काम गर्न सहज भएका कारणले पुन: कामका लागि भारत फर्कन लागेको बताए । भारतमा आफूले गरेको कामअनुसार पारिश्रमिक पाउने भएका कारण भारत रोजगारीका लागि जान लागेको उनले बताए । त्यस्तै सुर्खेतका सुरज विकले पनि परिवार पाल्नका लागि नेपालमा गरेको कामले गुजारा नचल्ने भएपछि भारत जान लागेको बताए ।

पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान रोपाईंको काम लगभग सकिएको छ । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरू वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब विस्तारै पुन: रोजगारीका लागि भारत नै जान लागेका हुन् । सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै श्रमिक भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । अहिले दैनिक सयौंको संख्यामा नेपालीहरू रोजगारीका लागि भारत जाने गरेका हुन् । नेपालमा काम गरेअनुरुपको पारिश्रमिक नपाउनु र काम गरेको पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरूका लागि पीडाको विषय बनेको छ । अधिकांश रोजगारीका लागि भारत पलायन भएका नेपाली नागरिक नेपालमा गरेको कामको पनि उचित पारिश्रमिक नपाएकै कारण कामका लागि भारत जाने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्