अमेरिकाबाट फर्केका दुई छोरीसहित तारा एअरको जहाजमा सवार थिए गोरखाका श्रेष्ठ दम्पती


हराइरहेको तारा एयरको जहाजमा गोरखाको सहिदलखन गाउँपालिका–५ को एकै परिवारका चारजना सवार थिए । जहाजमा उक्त गाउँका गणेशनारायण श्रेष्ठ दम्पतीसहित उनीहरुका दुई छोरी भएको पुष्टि भएको छ ।

मुक्तिनाथ दर्शनका लागि उनीहरु पोखराबाट जोमसोमका लागि उडेका थिए । बिहान १० बजे हराएको विमान अहिलेसम्म फेला परेको छैन ।

जहाज चढ्नुअघि उनीहरुले अमेरिकामा रहेका छोरासित सम्पर्क गरेका थिए । सोही आधारमा श्रेष्ठ परिवार उक्त जहाजमा रहेको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले बताए।

अध्ययनको शिलशिलामा अमेरिका गएका छोरीहरु नेपाल आएका बेला सपरिवार मुक्तिनाथ भ्रमण गएको परिवार स्रोतले जनाएको छ। सो विमानमा ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उनकी श्रीमती ४८ वर्षकी रश्मी श्रेष्ठ, छोरीहरु २० वर्षकी रविना श्रेष्ठ र २३ वर्षकी रोजिना श्रेष्ठ थिए।

जहाज बेपत्ता भएपछि गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्