एमालेलाई मिनेन्द्रको सुझाव : आफ्नो जनमत कति छ, टर्च बालेर खोज्नू


नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आफ्नो जनमत टर्च बालेर खोज्न चुनौती दिएका छन्।

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा जारी छलफलमा शुक्रबार भाग लिँदै रिजालले यस्तो बताएका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर कटाक्ष गर्दै माओवादीको बुई चढेर ल्याएको जनमत आफ्नै कारणले गुमाएको पनि बताए।

‘जसको बुई चढेर चुनाव जित्नु भयो, उसैलाई अपमान गर्नु भयो, त्यसलाई जोगाउन सक्नु भएन’, उनले भने, ‘पाँच वर्षसम्म पाएको जनमत आफैंले जोगाउन नसकेपछि हामीले के भन्नु? अब संसदमा कुन्ठा नपोख्नुस्।’

उनले यो स्थानीय तह निर्वाचनमा वडाअध्यक्षको मत हिसाब गर्दा कांग्रेस नै बलियो भएको जिकिर गरे।

‘यो निर्वाचनमा कांग्रेसले वडाअध्यक्षसहितको जनमत ३४ प्रतिशत ल्याएको हो’, उनले भने, ‘एमालेले ३३ प्रतिशत मात्रै ल्याएको छ। लोकप्रिय मतको कुरा गर्ने मान्छेले आफ्नो जनमत टर्च बालेर खोजे हुन्छ।’

प्रतिक्रिया दिनुहोस्