रवीन्द्र मिश्रको राजीनामाको कारण लज्जास्पद हार


काठमाडौं । स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुले निराशाजनक मत पाएसँगै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् ।

चुनावी हारको जिम्मेवारी लिँदै राजीनामा दिएका मिश्रले ‘विचारभन्दा माथि देश’को विरोध गर्दै समानान्तर गतिविधि गर्नेहरुमाथि गरिएको कारबाही फिर्ता लिन केन्द्रीय समितिलाई आग्रह गरेका छन् । साथै दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएकाहरुलाई पनि पुनः पार्टीमा फर्किन अपिल गरेका छन् ।

विवेकशील साझाका नेताहरु भने मिश्रको राजीनामासँगै पार्टीमा नेतृत्वको संकट सुरु भएको बताउँछन् । मिश्रले कारबाही फिर्ताको अपिल गर्दै मिलन पाण्डेलाई पुनः संयोजकमा फर्किनसक्ने सकेत गरेपनि त्यो सहज छैन ।

काठमाडौंको हार मुख्य कारण

स्थानीय निर्वाचनमा बाराको फेटा गाउँपालिकाको अध्यक्ष र दुई वटा वडा विवेकशील साझाले जितेको थियो । मिश्रले यसको श्रेय गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई दिएका छन् । अन्यत्र पार्टीका उम्मेदवारहरु ‘इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसकेको भन्दै मिश्रले त्यसको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिने बताएका छन् ।

निकटवर्तीहरुका अनुसार मिश्रलाई अध्यक्षबाटै राजीनामा दिने अवस्थामा पुर्‍याउनुको मुख्य कारण भने काठमाडौं र ललितपुर महानगरपालिकामा दलले पाएको मत हो । यो पटक जितको आश त थिएन, तर अघिल्लो पटककै हाराहारीमा आउने र आगामी संसदीय निर्वाचनलाई सहज हुने विश्लेषण थियो । विवेकशील साझाका एक नेता भन्छन्, ‘चुनावको पार्टीगत रुपमा समीक्षा गर्न बाँकी छ । तर जे नतिजा आएको छ, त्यो अनपेक्षित हो ।’

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५२ हजार मत कटाएर जित पक्का गर्दा वैकल्पिक राजनीतिको मुद्दा उठाएको विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाको मत हजार पनि पुगेको छैन । ललितपुर महानगरमा पनि चिरिबाबु महर्जन ४२ हजार ७२२ मतका साथ पुनः मेयर निर्वाचित हुँदा विवेकशील साझाका उम्मेदवार उज्वलकृष्ण श्रेष्ठले १५८५ मत पाएका छन् । जबकी २०७४ को चुनावमा विवेकशील र साझाले छुट्टा–छुट्टै उम्मेदवारी दिँदा पनि सम्मानजनक मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्