पूर्वमिस नेपाल माल्भिका सुब्बाले दिइन् बयान


काठमाडौं : सौन्दर्य प्रतियोगिता प्रतिस्पर्धीलाई आयोजक संस्थाका सञ्चालकले बलात्कार गरेको प्रकरणमा पूर्वमिस नेपाल माल्भिका सुब्बासँग प्रहरीले बयान लिएको छ। सुब्बा मिस ग्लोबल इन्टरनेसनल नामक सौन्दर्य प्रतियोगिताकी कोरियोग्राफरसमेत रहेकाले उनीसँग प्रहरीले बयान लिएको हो।

बलात्कार आरोपी मनोज पाण्डेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले मंगलबार सुब्बासँग साक्षीका रूपमा बयान लिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

मैनालीका अनुसार अनुसन्धानका सिलसिलामा घटनासँग जोडिएका विभिन्न व्यक्तिहरूसँग बयान लिने क्रम जारी छ। आरोपी पाण्डेविरुद्ध भने प्रहरीमा मानव बेचबिखनको उजुरी दर्ता छ। उक्त घटनामा सुब्बा पनि जोडिएकाले बयान लिएको मैनाली बताउँछन्। प्रतियोगिताका क्रममा आफूलाई बलात्कार गरेको पीडित युवतीले सोही समय सुब्बालाई बताए पनि बेवास्ता गरेको युवतीको आरोप छ।

आफूमाथि पनि आरोप लागेपछि सुब्बाले सामाजिक सञ्जालमार्फत केही दिनअघि माफी मागेकी थिइन्। उनले न्यायिक प्रक्रियामा सहयोग गर्ने वचनसमेत दिएकी थिइन्। सामाजिक सञ्जालमा सुब्बााको विरोध भएको थियो। प्रहरी स्रोतका अनुसार वयान दिएकी सुब्बाले पीडित युवतीको पक्षमा बयान दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्