एकीकृत समाजवादीले छोटो समयमा ठूलो सफलता प्राप्त गर्‍याे : माधव नेपाल


मकवानपुर – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पालिका चुनावमा देशैभरि आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको बताउनुभएको छ ।

हेटौँडामा आज मङ्गलवार नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले छोटो समयमा बनेको पार्टी चुनावमा जाँदा पनि राम्रो सफलता मिलेको भन्दै त्यसका लागि सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

निर्वाचित जनप्रतिनिधिलाई इमानदार भएर काम गर्नका लागि सुझाव दिँदै नेपालले धरान उपमहानगरपालिकामा स्वतन्त्र उठेर मेयरमा निर्वाचित बनेका हर्क साम्पाङ राई जस्तै बन्नका लागि कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अरू पार्टीको तुलनामा एकीकृत समाजवादीले गठबन्धनमार्फत छोटो समयमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको पनि नेता नेपालले बताउनुभयो । उहाँले आउँदाे प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि सक्रियतापूर्वक अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्