मेयरमा पदभार गर्नसाथ दिपेशको एक्सन : राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन


बाँके : बर्दियाको राजापुर नगरपालिकाको मेयरमा निर्वाचित हुनसाथ दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन्।

यसअघि प्रदेश सांसदसमेत रहेका थारु राजापुर नगरपालिका मेयरमा निर्वाचित भएपछि खरो रुपमा उत्रिएका हुन्। माओवादीबाट निर्वाचित थारुले मंगलवार पदभार ग्रहण गर्नसाथ एक सूचना जारी गर्दै कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन अवरुद्ध हुने उल्लेख गर्दै यस्ता आचरण विरोधी काम तत्काल रोक्न निर्देशन दिएका हुन्। यसबारे सात दिनभित्र जानकारी दिनसमेत उनले निर्देशन दिएका छन्।

राजापुरमा मेयर र उपमेयरमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। मेयरमा थारू तथा उपमेयरमा मनकलाकुमारी चौधरी विजयी भएका हुन्।

थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी भए भने निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजङ्ग शाहले नौ हजार ७६० मत पाए। मेयरमा नेकपा (एमाले)का पहारी चौधरीले ६ हजार ७२, नागरिक उन्मुक्ति पार्टीका रामगोपाल चौधरीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणि उपाध्यायले ५९४, स्वतन्त्र उम्मेदवार मोहनलाल चौधरीले ३१८ र राष्ट्रिय जनमोर्चाका शिवलाल उपाध्यायले १७ मत पाए।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी चौधरी १० हजार ८६ मत प्राप्त गरी विजयी भइन्। प्रतिद्वन्द्वी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत, एमालेका सावित्री शर्मा बख्रेलले पाँच ४२२, नागरिक उन्मुक्ति पार्टीका सङ्गीता चौधरीले १२९७, राप्रपाका सम्झना उपाध्यायले ६०५ र राजमोका सुमित्रा सुनार्नीले १२ पाए।

माओवादी केन्द्रले वडा नं ३, ४, ५, ६, ८ र १० मा वडाध्यक्ष जितेको छ। वडा नं १ मा कांग्रेसका बाबुराम चौधरी, वडा नं २ मा काग्रेसकै रामचन्द्र चौधरी, वडा नं ३ मा माओवादी केन्द्रका प्रसादु थारू, ४ मा माओवादी केन्द्रकै विदुर पोखरेल, वडा नं ५ मा स्वतन्त्रबाट रमेश चौधरी र ६ मा माओवादी केन्द्रका असराज न्यौपाने वडाध्यक्षमा विजयी भएका छन्।

त्यसैगरी वडा नं ७ मा एमालेका रामु थारू, ८ मा माओवादी केन्द्रका राजेश थारू, ९ मा कांग्रेसका विष्णुप्रसाद थारू र वडा नं १० मा माओवादी केन्द्रका शिवलाल थारू वडाध्यक्षमा विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्