गाउँ लगे हाँसीहाँसी, भोटपछि पारे बिचल्ली


भोट बटुल्नु थियो, मतदाता जम्मा गरे। बस–माइक्रोबस जे भेटिन्छ, त्यही बुकिङ गरे। झन्डा हल्लाउँदै काठमाडौंलगायत मुख्य सहरका मतदातालाई गाउँ–गाउँ पुर्‍याए। पार्टी र उम्मेदवारबीच मतदाता लैजान ‘हारालुछ’ नै चल्यो। ‘जाने र खाने फ्री’ अफरपछि अधिकांश मतदाता पनि हौसिएर गाउँ पुगे। उत्साहित हुँदै मतदान गरे। तर, जब मत खसाए। काठमाडौंलगायत सहरबाट ल्याउने नेताहरू एकाएक ‘गायब’ भए। त्यसपछि भयो, ‘मतदाताको बिल्लिबाठ।’ आफैंले टिकट काटेर सहर फर्किन खोज्दा पनि गाडी नै नभेटिएपछि अधिकांशले सास्ती भोगिरहेका छन।

काठमाडौं, पोखरा, चितवन जाने यात्री गाडी खोज्दै यताउता भौतारिरहेका छन। वृद्धवृद्धा सडकपेटिमा थकित भएर थुचुक्क बसेका छन्। गर्भवती तथा बालबालिका बोकेका महिलाहरू पनि बस खोज्दै यता र उता दौडिरहेका छन। यो दृश्य हो, मंगलबार बिहान गोरखा बसपार्कको। यात्रुको बिचल्लिप्रति यातायात व्यवसायीलाई भने कुनै मतलब छैन। उल्टै, यात्रुसित बढाबढमा भाडा बार्गेनिङ गरिरहेका छन्। सडक छेउमा यात्रुको चाप र हतास देखेर लुट मच्चाइरहेका छन्। स्थानीय प्रशासन तथा प्रहरीको उपस्थिति कहीँकतै छैन।

चुनावमा मतदान गर्न गाउँ आएका मतदाताहरू फर्कने उचित व्यवस्था नहुँदा केही दिनदेखि गोरखामा यस्तो समस्या देखिएको हो। अनेक प्रलोभन देखाएर गाउँमा ल्याएर नेताहरूले अलपत्र पारेर छाडिदिएको यात्रुहरूको गुनासो छ। काठमाडौं फर्कन साबिकको भन्दा दोब्बर गाडीभाडा तिर्नुपरेको ताकुकोटका पवन देवकोटाको भनाइ छ। ‘फ्रीमा लगिदिन्छौं, फ्रिमै फर्कने व्यवस्था मिलाउँछौं भनेर अनेकभाँती भनेर ल्याए,’ उनले भने, ‘फर्किने बेला कसैको अत्तोपत्तो छैन। सित्तै जान पाइयो भनेर आइयो। फर्कने बेला उल्टै दोब्बर भाडा तिर्नुपर्‍यो।’ एक हजार रुपैयाँ भाडा तिरेर माइक्रोबसमा काठमाडौं फर्कन लागेको उनले बताए।

काठमाडौंको समाज छिटोछिटो परिवर्तन चाहन्छ। राजनीतिक दलले उनीहरूको भावनालाई सम्बोधन गर्ने उम्मेदवार खडा गरेनन। विगतमा पनि युवा मतदातालाई आकर्षित गर्ने कुनै काम गरेनन। पुरानै शैलीले काम गरे। उनीहरूले उठाएका उम्मेदवार पनि युवालाई तान्ने किसिमका भएनन। तुलनारायण साह, राजनीतिक विश्लेषक
गोरखा–काठमाडौंको माइक्रोबस भाडा ५ सय ३० रुपैयाँ हो। मिनिबसको भाडा ४ सय ४५ रुपैयाँ प्रचलित छ। तर, अहिले मिनिबसले यात्रुसँग आठ सय र माइक्रोबसले १ हजार रुपैयाँ भाडा उठाएका छन्। ‘आजभोलि काठमाडौं जाने मात्र हो। फर्कने यात्रु पाइँदैनन। त्यसैले दोब्बर भाडा असुलेको हो’, एक गाडीवाला यात्रुसितको बार्गेनिङमा भन्छन्, ‘जाने भए, आउनुस। नजाने भए यस्ता यात्रु धेरै पाइन्छ।’

गोरखा बजारको हरमटारीमा बसमा चढ्न झुम्मिएका यात्रु

नेताको लहैलहैमा लागेर चुनावमा गाउँ आएकी बुंकोटकी शिला तामाङ पनि अहिले काठमाडौं फर्कन नसकेर सडकमा अस्तव्यस्त छिन्। ‘गाउँबाट गोरखा बजारसम्म आउने गाडीमा पनि उभिने ठाउँ थिएन। जसोतसो गरेर आएँ। अहिले काठमाडौं जाने गाडी छैन’, उनी भन्छिन्, ‘ल्याउने बेला ल्याए, अहिले यस्तो हालत पारेर छाडिदिए।’

काठमाडौं जाने गाडी नपाएर सडकमा तड्िपरहेका कोखे आहालेका वीरबहादुर मग्रातीलाई माइक्रोबसका मजदुरले १६ जना यात्रु खोज्न र भाडासमेत उठाइदिन आदेश गरे। ‘१६ जना यात्रु पनि मैले खोजिदिनु पर्ने अरे, अनि भाडा पनि एक हजारका दरले मैले नै उठाइदिनु पर्ने भनेर ड्राइभर–कन्डक्टर आएर बार्गेनिङ गरिरहेका छन्’, उनी भन्छन्, ‘जसरी पनि जानुपर्ने छ। गाडी नपाएर होटलमा बस्नुपर्‍यो भने त्योभन्दा धेरै खर्च हुन्छ। त्यसैले महँगो भाडा तिरेर भने पनि जानै पर्‍यो।’ आफूहरूलाई अप्ठ्यारो परेको मौका छोपेर गाडीवालाले ठगेको यात्रुहरूको गुनासो छ। ‘मौकामा चौका हानेका छन्’, बुंकोटबाट आएकी अर्की नानुमाया श्रेष्ठ भन्छिन्, ‘नेताले गर्दा दुःख पाइयो। दिनदहाडै रोडमा सयौं यात्रु ठगिएका छन्। प्रहरी प्रशासनको ध्यानै छैन।’ यत्तिका यात्रु सडकमा पसारो परेका बेला प्रहरी प्रशासनले कुनै चासो नदिएको यात्रुहरूको गुनासो छ।

  • मतदान गराउन उम्मेदवारले गाउँ पुर्‍याए, तर फर्कने बेला गरेनन् वस्ता
  • सहर फर्कने सवारीको भाडामा कालोबजारी, दोब्बर तिर्दा पनि भेटिन्न सवारी
  • बसपार्क क्षेत्रमा यात्रुको बिजोक, सुरक्षा निकायको पनि बेवास्ता
  • सार्वजनिक सवारीसाधनले यात्रु ठग्दा पनि स्थानीय प्रशासन मौन
  • विद्यार्थी र मजदुरलाई सहर फर्कन आर्थिक अभाव
  • सवारीसाधनमा कोचाकोच यात्रु, यात्रा झनै कठिन
  • पैसाको लोभमा धेरै यात्रु चढाउँदा दुर्घटनाको जोखिम

गाडीवालाले निर्मम ढंगले यात्रु ठग्दा पनि स्थानीय प्रशासन मौन रहेको सडक आसपासका व्यापारीहरूको आरोप छ। ‘सडकमा यात्रुहरू पसारो परेका छन्। हाम्रै आँखा अघि लुट मच्चिएको छ। हामी पनि व्यापारी हौं। हामीले हस्ताक्षेप गर्न मिल्दैन’, यात्रु ठगिएको देख्ने एक व्यापारी भन्छन्, ‘काठमाडौंबाट रिजर्भ यात्रु लिएर आएको एउटा जिपले चलनचल्तीको भन्दा कम भाडामा यात्रु खोज्दा यहाँका गाडीवालाहरूले धन्नै कुटेनन।’ स्थानीय प्रशासनको बेवास्ताका कारण यस्तो स्थिति आएको उनको निश्कर्ष छ।

चुनावका कारण ट्राफिक प्रहरीहरू ग्रामीण रुटतिर खटिनु परेकाले सदरमुकामको सडकको सवारी व्यवस्थापनमा ध्यान दिन नसकेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम पोखरेल बताउँछन्। ‘चुनावमा ग्रामीण सडकमा खटिएका ट्राफिकहरू फर्किरहेका छन्। अब व्यवस्थित हुन्छ’, उनले भने।

भोट हालेपछि उपेक्षा
पाँचथरको फालेलुङ गाउँपालिका–७ की अरुणा राई अध्ययनको सिलसिलामा झापामा बस्दै आएकी थिइन। निर्वाचनको मिति नजिकिएसँगै राईलाई फालेलुङका नेताहरूले दैनिकजसो फोन गर्थे। गाउँ आउँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने वचन पाएपछि आफूसँगै भाइलाई लिएर उनी भोट हाल्न गाउँ पुगिन। भोट पनि हालिन। तर, अहिले जुन पार्टी वा उम्मेदवारलाई उनले भोट दिइन, उनैले बास्ता नगरेको गुनासो राईले पोखिन।

मतदानको मिति नजिकिँदै गर्दा दलहरूले मतदाता खोजे। कार्यक्षेत्रबाट सवारीसाधन रिजर्भ गरेर गाउँगाउँ पुर्‍याए। लैजाने र ल्याउने आश्वासन दिए। जब मतदान सकियो गाउँ पुर्‍याउने दलका नेता बेपत्ता भए। अहिले गाउँ पुगेका नागरिकलाई कार्यक्षेत्र फर्कन समस्या भएको छ।

‘भोट हालेको भोलिपल्टै खर्च दिएर पठाउँला भनेका नेताहरूले आजसम्म वास्ता गरेका छैनन्,’ राईले भनिन्, ‘फर्कनुपर्ने बेला भइसक्यो। अस्ति भाडा दिन्छु भनेर फोन गर्ने नेताहरूले अहिले फोन पनि उठाउन छाडेका छन्।’ अरुणा जस्तै भोट हाल्न पाँचथर आएका मतदाताहरूलाई नेताहरूले बेवस्ता गरेका छन्। जिल्ला बाहिर भएका मतदाताहरूलाई यहाँका नेताहरूले यातायात खर्च दिने भनेर भोट हाल्न बोलाएका थिए। तर, भोट सकिएपछि नेताहरू सम्पर्कमै आउन नचाहेको मतदाताको गुनासो छ।

काठमाडौंबाट मात्रै करिब ३ हजार मतदाता भोट हाल्न पाँचथर आएका छन्। यातायात खर्च व्यहोरिदिने भनेर नेताहरूले मतदातालाई गाउँ बोलाएका थिए। तर, नेताहरूले बेवास्ता गरेको काठमाडौंबाट भोट हाल्न फिदिम आएका तीर्थ मिश्रले बताए। ‘मतदान सकिएपछि बाहिरबाट आएका मतदातालाई नेताहरूले बेवास्ता गरेका छन्,’ मिश्र भन्छन्, ‘मतदाताहरूलाई नेताहरूले यसरी नै झुक्याउने र दुःख दिने परिपाटी पुरानै हो।’ यातायात खर्च दिने नेताहरूको आश्वासन पाएर पाँचथर आएका मजदुर र विद्यार्थीहरू बढी मारमा छन। काठमाडांैसम्म फर्कन पनि यातायात खर्चको अभाव भएको उनीहरूले गुनासो गरे।

ल्याउँदा रिजर्भ, फर्किंदा अलपत्र
चुनावपछि जनजीवन पुरानै लयमा फर्किंदैछ। सहरी क्षेत्रमा व्यापार–व्यवसाय र रोजगारका काम पुनः सुरु भइसकेका छन। क्याम्पसहरू सञ्चालनमा आइसकेका छन। तर, राजधानी काठमाडौंमा फर्किन गाडी नै नपाइएपछि गाउँ पुगेका मतदाताहरूमा चिन्ता थपिएको छ। हप्तौंसम्म गाडी बुकिङ भइसकेका कारण टिकट पनि नभेटिएको उनीहरूको भनाइ छ।

राजनीतिक नेतृत्वप्रति व्यंग्य हो यो। यो दलका नेतृत्वप्रति असन्तोषको संकेत हो। उनीहरूलाई सच्याउन र उधार्न लाग्नुपर्छ भन्ने सन्देश दिएको छ। राजनीतिक दलका नेता लोकप्रिय हुने हो भने स्वतन्त्रप्रति आकर्षण नै हुँदैनथ्यो। यो दल र त्यसका नेतृत्वलाई चेतावनी पनि हो। हरिहर विरही, राजनीतिक विश्लेषक
काठमाडौंका इँटाभट्टालगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका रोल्पा र पूर्वी रुकुमका मतदातालाई उम्मेदवारले गाडी रिजर्भ गरेरै गाउँ ल्याएका थिए। ‘कहाँ–को बस्छ’ भनेर सूची नै बनाएर मतदातालाई गाडीमार्फत ओसारिएको थियो। गाउँमै मतदाता नामावली भएका दाङ र घोराहीलगायतका ठाउँमा बसोबास गरिरहेका मतदातालाई पनि गाउँ पुर्‍याइएको थियो। मतदानको एकसाता अघिदेखि मतदाता ओसार्दा गाउँ भरिभराउ भएका थिए।

तर, फर्किने बेला भने न उम्मेदवारले वास्ता गर्‍यो, न त कुनै पार्टीका नेताले नै सोधपुछ गरे। मतदान गरी फर्किनेहरू रोल्पा बसपार्कस्थित बस काउन्टरमा टिकट लिइरहेका छन्। ‘मतदानका लागि फकाएर रिजर्भ गाडीमा गाउँ ल्याए। तर, फर्किने बेला वास्ता नै गरेनन्’, रोल्पा नगरपालिकाका एक मतदाताले नाम उल्लेख नगर्ने शर्तमा भने। इँटाभट्टामा काम गर्दाको ज्यालाको रकम पनि नलिई मजदुरहरू गाउँ फर्केका थिए। त्यही कारण पनि उनीहरू छिटोछिटो काठमाडौं फर्किन विवश छन्। विभिन्न पार्टीका नेता र उम्मेदवारले जिल्ला बाहिर रहेका मतदातालाई फोन गरेर जसरी पनि गाउँ फर्किन आग्रह गरेका थिए। यतिसम्म कि, सदरमुकाम लिवाङमा विभिन्न व्यापार, व्यवसाय र पेसा गरी बसेका मतदातालाई पनि गाडी रिजर्भ गरेर रोल्पाका सम्बन्धित गाउँ पुर्‍याइएका थिए।

आजभोलि भने मतदान गर्न गाउँ आएकाहरूको जिल्लाबाट बाहिरिने लर्को छ। जलजला यातायात समितिको बुकिङ काउन्टरका कर्मचारी नरेन्द्र कुँवरका अनुसार जिल्ला बाहिरिने यात्रुको चाप बढी छ। मतदानका लागि गाउँ आएकाहरूले दुई तीन दिनअघि नै टिकट बुक गर्ने क्रम बढेको छ।

गाउँ आएकालाई फर्कनै हम्मेहम्मे
ताप्लेजुङको सिरिजंघा–८ याम्फुदिनमा मतदान गर्न जिल्ला बाहिर रहेका ५० जना गाउँ आए। काठमाडौंमा लगायत छिमेकी भारतसँग सिमाना जोडिएको इलामको पशुपतिनगरबाट उनीहरू मतदान गर्न गाउँ आएका हुन। जिल्लाबाहिर रहेका उनीहरूलाई उम्मेदवारले मतदानका लागि गाउँ आउन खबर गरेका थिए।

गाउँसम्म आउनका लागि आवश्यक समन्वय पनि उम्मेदवारले नै गरेका थिए। ‘निर्वाचन भनेको पाँच वर्षमा आउने चाड भएकाले इलामबाट गाउँ आयौं,’ पशुपतिनगरबाट आएका फुपू छुवाङ भोटेले भने, ‘गाउँघरको न्यास्रो पनि मेटियो। भोट पनि हाल्न पायौं। फर्कने समयमा चाहिँ गाडी भरिएको हुँदो रहेछ। समस्या भइरहेको छ।’ राजनीतिक दलका उम्मेदवारले पैसा खर्च गरेर मतदानका लागि मतदाता ओसारेको सुने पनि आफूहरूचाहिँ स्वतस्फुर्त रूपमा गाउँ आएर मतदान गरेको उनले बताए। उनी जस्तै सो वडामा मतदानका लागि बाहिरबाट गाउँ भित्रिएकाहरूलाई फर्कन भने समस्या भएको छ। दुर्गमस्थानमा सवारीसाधनको पहुँच पर्याप्त नभएको र उम्मेदवारहरूले पनि मतदातालाई आ–आफ्नो ठाउँमा फर्काउनलाई कुनै चासो नदेखाएकाले समस्या भएको उनले बताए।

एक नगरपालिकासहित ९ स्थानीय तह रहेको ताप्लेजुङमा ८९ हजार ६ सय ८० मतदाता छन्। हिमाली दुर्गम जिल्ला भएकाले अधिकांश स्थानीयवासी विभिन्न अवसरको खोजीमा जिल्लाबाट बाहिरिने गर्छन। चुनाव बेला भने उम्मेदवारहरूले बाहिरबाट मतदाता ओर्सार्नुपर्छ। मिक्वाखोला–५ पापुङका मात्रै करिब २ सय मतदाता जिल्ला बाहिरबाट ओसारिएका थिए।

कतिपय उम्मेदवारहरूले मतदाताको जिल्ला आउने जाने खर्चको पनि व्यवस्था गरेका थिए। फर्कने समयमा भने कसैले पनि वास्ता नगरेको गुनासो मतदाताको छ। ‘अस्ती भोट लगाउनु अघि चाहिँ सबै खर्च गरेर ल्याए,’ फक्ताङ्लुङ–६ का एक मतदाताले भने, ‘हामीले भोट पनि दियौं। तर, अहिले फर्कने समयमा भने सोधेका पनि छैनन। आफूलाई आवश्यकता परेको समयमा मात्रै बोलाउँदा रहेछन्। अहिले त एक कल फोन पनि गरेका छैनन। चुनावमा हारेकाको त के कुरा भयो र ?’ भौगोलिक हिसावले दुर्गम यहाँका सबै वडामा यातायातको पहुँच छैन।

उम्मेदवारहरू भने बाहिरबाट ल्याइएका मतदाताको व्यवस्थापनमा समय दिन नसकेको बताउँछन्। मतदान लगत्तै मतगणनामा व्यस्त रहनु परेकाले व्यवस्थापनमा ध्यान दिन नसकिएको बताउँछन्, सिरिजंघा गाउँपालिका–८ मा कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार कृष्ण गुरुङ।

-अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्