फैलिँदै युवाहरूमा ‘भिरिंगी’, विदेश जानेमा बढी


डा. शेरबहादुर पुन

‘ओहो कस्तो दुख्दो रहेछ।’

‘भिरिंगी’ रोग विरूद्धको एन्टिबायोटिक सुइँ लिएपछि कपडा मिलाउँदै एक २३ वर्षीय युवक भन्दै थिए।

‘बिहे गरिसकेको हो?’ भन्ने प्रश्न पूरा हुन नपाउँदै गर्लफ्रेन्ड भएको र सहमतिमा नै नियमित यौन सम्पर्क हुने बताए।

यौन सम्पर्क सामान्यतय असुरक्षित अर्थात् बिनाकण्डम हुने पनि उनले बताए।

‘भिरिंगी’ रोग विरूद्धको एन्टिबायोटिक सुइँ लगाउनेमा लगभग सबैजसो २० देखि ४० वर्ष भित्रका देखिन्छन्। यसमा पनि २० देखि ३० वर्षकाहरूको संख्या झन्डै दुइ तिहाइ नै देखिन्छ। यो आश्चर्य र चिन्ताजनक सूचकको रूपमा लिन सकिन्छ।

किनभने असुरक्षित यौन सम्पर्कबाट ‘भिरिंगी’ मात्र नभएर एचआइभी, एचपिभी, गोनोरिया, हेर्पिस, क्लामादिया, हेपाटाइटिस् ‘बी’ जस्ता अरू संक्रामक रोगहरूको जोखिम पनि उच्च हुने गर्दछ।

‘भिरिंगी’ले तत्काल जटिल समस्या नदेखाउने हुँदा धेरैले परीक्षण नगर्ने र त्यसैले आफू संक्रमित भए/नभएको थाहा नहुने हुन्छ।
पछिल्लो केही वर्षयता वेदेशिक रोजगारमा जाने युवाको संख्या बढ्दै जानु र ‘भिरिंगी’लाई स्वास्थ्य परीक्षणमा अनिवार्य गरिदिँदा यो रोगको अवस्थाको बारेमा जानकारी सतहमा आउन थालेको हो।

‘भिरिंगी’ सक्रिय यौनमा रहेका तथा एकभन्दा बढीसँग सहवास (यौन सम्पर्क, मुख-मैथुन वा गुदा-मैथुन) गर्नेहरूलाई लाग्ने सम्भावना बढी रहन्छ।

‘त्रिपनिमा पालीडम’ नामक व्याकटेरियाको कारणले ‘भिरिंगी’ हुने गर्दछ।

यो चार चरणमा विकसित हुने गर्दछ।

पहिलो र दोस्रो चरणमा हुँदा धेरै जसोलाई थाहै हुँदैन वा लक्षण सामान्य हुँदा बेवास्ता गरिन्छ। संक्रमण भएको औसतमा ३ हप्तामा (१०-९० दिन सम्ममा) धेरैलाई लक्षण देखिने गर्दछ। यसलाई पहिलो चरण भनिन्छ।

लिङ्ग, योनी, मुख/ओठ वा मलद्वारमा घाउ देखिने गर्दछ। घाउ नदुख्ने भएकोले धेरैले थाहा नपाउने वा बेवास्था गर्ने गर्दछन्। यो समयमा उपचार गरिए संक्रमण दोस्रो चरणमा जानबाट रोकिनेछ। उपचार नगरे पनि सो घाउ भने ३ देखि ६ हप्तामा हराउने छ। तर संक्रमण भने दोस्रो चरणमा प्रवेश गर्नेछ।

पहिलो चरण सकिएको केही हप्तापछि शरीरको विभिन्न भागमा (हत्केला तथा पैतालामा पनि) स-साना विविरा देखिने गर्दछ। यी विविरा प्रष्ट नदेखिने, नदुख्ने वा नचिलाउने हुनाले खासै ध्यान जाँदैन। योसँगै ज्वरो आउने, लिम्फ ग्रन्थीहरू सुन्निने, घाँटी दुख्ने, थकान महसुस हुने आदि हुने जस्ता समस्याहरू देखिने गर्दछ।

यो अवस्थामा रोग पहिचान गरी उपचार गर्न सके संक्रमण अर्को चरणमा जान पाउँदैन। तर उपचार नगरे पनि स्वास्थ्य समस्याहरू आफैं हराएर जानेछ। तर संक्रमण भने अर्को चरण ‘लेटेन्ट चरण’मा प्रवेश गर्नेछ।

विदेश जाने युवाहरू अधिकांश यही ‘लेटेन्ट चरण’ मा आइपुग्ने गरेको पाइन्छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल ‘छाला तथा यौन रोग’ शाखाका अनुसार यही चरणमा संक्रमितहरू बढी आइपुग्ने गरेका छन्।

‘लेटेन्ट चरण’ मा लक्षण वा कुनै स्वास्थ्य समस्याका संकेतहरू देखिँदैन। तर उपचार नभए शरीरमा वर्षौंसम्म पनि संक्रमण रही रहन सक्नेछ। त्यसपछि ‘त्यारसरि चरण’ अर्थात् ‘त्यारसरि सिफिलिस’को चरणमा पुग्न सक्दछ।

यो संक्रमण भएको १० देखि ३० वर्षसम्ममा देखिन सक्दछ।

यो चरणमा ‘भिरिंगी’ले विभिन्न अंगहरूमा प्रभाव पार्न सक्दछ। विशेषत: नसा, आँखा र कानमा जटिल स्वास्थ्य समस्याहरू देखिन सक्नेछ। यसको समयमा नै पहिचान गरे सहजै उपचार हुन्छ।

वैदेशिक रोजगारीको सिलसिलामा जाँदा ‘भिरिंगी’ परीक्षण अनिवार्य भएकोले समुदायमा यसको प्रभाव/अवस्थाको बारेमा विस्तारै थाहा हुँदै गएको हो। तर उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरू पनि यौन क्रियाकलापमा सक्रिय रहने अनुसन्धानले देखाउँदा सो समूह पनि ‘भिरिंगी’को उच्च जोखिम रहेको देखिन्छ। यद्यपि यसको पर्याप्त अनुसन्धान भने भएको पाइँदैन।

सन् २००९ मा बिएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार नेपालमा ५५ प्रतिशत विद्यार्थीको एकभन्दा बढी यौन साथी हुने देखाएको छ।

त्यस्तै, ५७ प्रतिशतभन्दा कमले मात्र पहिलो यौन सम्बन्ध राख्दा कन्डमको प्रयोग गरेका थिए। आधाभन्दा कम (४९ प्रतिशत) विद्यार्थीले व्यवसायिक यौनकर्मीसँगको सहवासमा कन्डम प्रयोग गरेका थिए।

सो अनुसन्धानले विद्यार्थीको यौन सक्रियतामा केन्द्रित भएर अध्ययन गरेको भएता पनि यसको नतिजाबाट ‘भिरिंगी’जस्ता यौन रोग तथा अनिच्छित गर्भ व्यापक भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ।

यसको लागि अनुसन्धानको जरूरी भने देखिन्छ।

‘भिरिंगी’ तत्कालको स्वास्थ्य समस्या जस्तो नदेखिएता पनि वैदेशिक रोजगारीमा जान खोज्दा धेरै जना प्रभावित भएको देखिन्छ।

विदेश जानको लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको अवस्थामा ‘भिरिंगी’ देखापर्दा यात्रा नै रोकिएका धेरै उदाहरण छन्। किनभने रोजगारदाताको स्वास्थ्य परीक्षणमा ‘भिरिंगी’ नभएको प्रमाण देखाउनु एक प्रमुख स्वास्थ्य शर्त मानिन्छ।

उपचारपश्चात रोग निको हुने भएता पनि रगत जाँचमा ‘भिरिंगी’को मार्कर देखिरहने हुँदा युवाहरू विशेषत आर्थिक मारमा परेको देखिन्छ। किनभने उनीहरुले त्यतिन्जेल धेरै खर्च गरिसकेका हुन्छन्।

अन्तमा, वैदेशिक रोजगारमा जानेको परीक्षण गर्दा मात्र पनि ‘भिरिंगी’ युवामा व्यापक तथा भुसको आगोसरि फैलिरहेको देखिन्छ।

उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूको यौन पार्टनर एकभन्दा बढी हुनु र असुरक्षित यौन सम्बन्ध राख्नुले ‘भिरिंगी’ युवामाझ थप व्यापक भएको वा फैलिरहेको अनुमान गर्न सकिन्छ।

‘प्रजनन तथा यौन शिक्षा’ लाई खुला बहस गर्ने तथा ल्याउने वातावरण शृजना गर्न सके ‘भिरिंगी’ को समस्यालाई धेरै हदसम्म न्यूनीकरण वा समाधान गर्न सकिने छ।

(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रतिक्रिया दिनुहोस्