पल शाह प्रकरणमा नेपाल चलचित्र कलाकार संघले मुख खोल्यो


काठमाडौँ– नेपाल चलचित्र कलाकार संघले हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेको समाचार र सन्दर्भमा संघको ध्यान आकृष्ट भएको जनाएको छ ।

अभिनेता पल शाहको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निर्क्योल र निष्कर्ष निकाल्ने र दोषीलाई सजाय दिने भएकाले त्यो विषय र सन्दर्भमा चलचित्र क्षेत्र र कलाकारलाई दोषारोपण गर्दै विभिन्न लाञ्छना लगाई वादविवादको सिर्जना गर्नु र एक आपसमा लाञ्छना लगाउनु दुःखद रहेको संघले ठहर गरेको छ ।

केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत जीवन,पेसा र व्यवसाय फरक फरक कुरा हुन । व्यक्तिको विषयलाई लिएर पेसा र व्यवसायलाई आक्षेप लगाउँदै फलानो चलचित्रमा फलानो छ भन्दै दोषारोपण गर्नु खेदजनक छ । एउटा चलचित्रमा कलाकार मात्र हैन , अरू पेसाकर्मी र लगानीकर्ताको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र,पेसा र व्यवसायलाई जोडेर चलचित्र क्षेत्रलाई बदनाम गराउने,जनमानसमा दुष्प्रचार गर्ने खालका क्रियाकलाप नगरी दिन हुन हामी सबैमा विनम्र अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्