मेयर मेहताको अपमान गर्न खोजेको भन्दै नेपाली काँग्रेस इनरुवा कार्य समितिद्वारा प्रतिकार


इनरुवा । मेयर राजन मेहताको अपमान गर्न खोज्ने उपर नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले प्रतिकारको चेतावनी दिएको छ । सामाजिक सञ्जाल मार्फत नगर प्रमुख लक्षित भडकाउ अभिव्यक्ति दिने स्थानीय दिलिपचन साह उपर काँग्रेस इनरुवा नगर कार्य समितिले कार्वाहीको चेतावनी दिएको हो ।

नगर कार्य समितिले विज्ञप्ति प्रकाशित गर्दै सार्वजनिक पद धारण गरेको व्यक्ति उपरको अपमानजनक र धम्कीपूर्ण अभिव्यक्तिको प्रतिकारमा उत्रनु पर्ने अवस्था आउन सक्ने भन्दै सजग रहन चेतावनी दिएको छ । सामाजिक सञ्जाल मार्फत साहले भ्रष्टाचारी मेयर राजन मेहतालाई जन कार्वाही आवश्यक, कालोमोसो र जुत्ताको माला लगाई बजार घुमाउनु पर्ने भन्ने अभिव्यक्ति सार्वजनिक गरे पश्चात काँग्रेसले विज्ञप्ति मार्फत सो धारणा सार्वजनिक गरेको हो ।

सचिव राकेश निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक सञ्जाल मार्फत साहले नगर प्रमुखमाथि आक्रमणको धम्की दिई त्यस तर्फ सर्वसाधारणलाई उकास्ने काम गरेकाले निजलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्