देशको सीमाबारे बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : ज्ञवाली


नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको सीमा मिचिँदा बोल्न नसक्ने सरकारको वैधानिकता नरहने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उपमहासचिव ज्ञवालीले लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको सम्बन्धमा सरकारले भारतीय पक्षसँग कुरा गर्नुपर्ने बताए।

देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुने उनकाे भनाई थियाे।

उपमहासचिव ज्ञवालीले नेपालको भूभागमा भारतले बलमिच्याइँ गरेको विषयमा सरकार बोल्नुपर्नेमा जाेड दिए।

उनले भने, ‘देशको सिमाको बारेमा बोल्न सक्दैन, सार्वभौमिकताको विषयमा बोल्न सक्दैन भने त्यो सरकार, सरकार जस्तो रहँदैन। सरकारको वैधता त्यसै दिनबाट समाप्त हुन्छ। हामी चाहान्छौँ सरकारले दृढतापूर्वक यो विषयमा भारतीय पक्षसँग कुरा गरोस्। त्यो नेपालको भुभाग हो, त्यहाँ एकतर्फी ढंगले कुनैपनि संरचना बनाउन मिल्दैन। भारतले यो ढंगको बलमिच्याइँ पनि गर्नु हुँदैन। यो कुरामा सरकार बोल्नुपर्छ। सरकारले सशक्त ढंगले नेपालको राष्ट्रिय हितको पक्षमा आवाज उठाउनुपर्छ भन्ने हाम्रो मान्यता छ।’

ज्ञवालीले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप पनि लगाए।

‘सामान्यतया निर्वाचन आयोगलाई १२० दिन चाहिन्छ चुनावको तयारीका लागि, अहिलेसम्म सरकारले निर्वाचन आयोगको सिफारिस अनुसार कुनै निर्णय गरेको छैन’ उनले भने, ‘के सरकार स्थानीय तहको चुनावलाई पन्छाउन खोजेको हो? फेरि ५९ साल फर्काउन खोजेको हो कि गम्भीर आशंकाहरु पैदा भएका छन्।’

उनले संसद सुचारु गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमा सकारात्मक छलफल भएको भन्दै आगामी दिनमा समस्या समाधान हुने विश्वास व्यक्त गरे।

उनले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायालय सुधारको निम्ति नभएको टिप्पणी गरे। एक व्यक्तिलाई प्रधानन्यायाधीशबाट हटाएर अर्को व्यक्तिलाई ल्याउनको निम्ति मात्रै सो आन्दोलन केन्द्रित रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्