मकवानपुरमा काँग्रेसको वडा अधिवेशन आज हुँदै


मकवानपुरमा आज नेपाली कांग्रेसले वडा अधिवेशन गर्दैछ । जिल्लाका १० वटा स्थानीय तहका १०२ वटा वडामा कांग्रेसले आज वडा अधिवेशन गर्ने तयारी गरेको छ

बुधबार केन्द्रबाट खटिएका निर्वाचन अधिकृतसहित पार्टी पदाधिकारी र पुर्व अध्यक्षसहितको बैठकले तोकिएको समयभन्दा २ दिन ढिलागरी अधिवेशन गर्ने निर्णय गरेको कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँले बताए ।

कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

वडा अधिवेशनबाट वडा सभापति, उपसभापति (२ जना), सचिव (२ जना), सह–सचिव (२ जना), कोषाध्यक्ष र सदस्यहरु चयन हुनेछन् ।

गाउँपालिकाको हकमा पदाधिकारीसहित १५ जनाको र नगरपालिकाको हकमा २५ जनाको वडा समिति चयन गरिनेछ ।
समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने विभिन्न कोटाहरू (जातजाति, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्लिम) लगायतको प्रतिनिधित्वसमेत हुनेछ ।

अधिवेशनका लागि कांग्रेस मकवानपुरले सबै वडामा मतदान अधिकृत खटाइसकेको छ। सकेसम्म सहमति जुटाएर वडा समिति चयन गर्ने, सहमति नजुटेका केही स्थानमा निर्वाचन हुने नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले बताए ।

मकवानपुरका विभिन्न गाउँपालिका र नगरपालिकाका वडाहरूमा आवश्यकताका आधारमा वडा समिति र बुथ प्रतिनिधिसमेत गरी कम्तिमा १६ जनादेखि ५० जना आजै चयन हुने प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्