सहकारीले उत्पादनमा जोड दिनुपर्छ : पौडेल


राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले नेपाल सहकारी पत्रकार समाजको ११ औं स्थापना दिवसमा बोल्दै यस्तो बताएका हुन् । पौडेलले भने, ‘सहकारीले तीन खम्बे अर्थ नीति अनुसार स्थापित हुन उत्पादनमा जोड दिनुपर्छ ।’ यसैगरी, उनले सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

यसैगरी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले निष्पक्ष ढंगले कलम चलाउन सके सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सञ्चारमाध्यमले सहकारी क्षेत्रको विषयमा स्थान दिनुपर्ने बताए । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले सञ्चारमाध्यमको सहयोगले सहकारी करेक्सन हुन मौका पाउने बताए । ‘सहकारीका सबै खाले समाचारले सहकारी प्रवद्र्धनमा सहयोग पुग्छ’ उनले भने, ‘सहकारीले खोजमूलक समाचार सम्प्रेषणमा ध्यान दिनुपर्छ ।’
पत्रकारिता पुरस्कार कुँवरलाई
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को ११ औं स्थापना दिवसको अवसरमा सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार कौशिला कुँवरलाई पुरस्कृत गरिएको छ । सीजेएनकी सदस्य कुँवरले सहकारी क्षेत्रमा रचनात्मक कलम चलाएबापत पुरस्कृत गरिएको हो । त्यस्तै सीजेएन संस्थापक सम्मानबाट संस्थापक कोषाध्यक्ष सीता पोखरेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्