प्रकाण्ड-गृहमन्त्री वार्तामा के छलफल भएको थियो ?


काठमाडौँ: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयनमा आलटाल गरेको भन्दै आफ्ना बन्दीहरुलाई रिहाइ गर्न माग गरेको छ ।

नेकपा र सरकारबीच आफ्ना सम्पूर्ण क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने, नेपाल सरकारका तर्फबाट लगाइएका नेकपामाथिको प्रतिबन्ध हटाउने र सबै बन्दीको रीहाइ र मुद्दा खारेज गर्ने सहमति भएको थियो । तर, आफ्ना नेता कार्यकर्ता बन्दीको रिहाइ र मुद्दा खारेजीको माग अहिलेसम्म पनि कार्यान्वयन गर्न सरकार गम्भीर नभएको नेकपाले बताएको छ ।

यसै विषयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र गृहमन्त्री बालकृष्ण खाण बीच शुक्रबार भेटवार्ता भएको छ । भेटवार्तामा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको नेकपाका नेता प्रकाश शाहीले जानकारी दिए ।

प्रतिबन्ध फुकुवा गरे पनि एक सय बढी नेता, कार्यकर्ताहरु जेलमा रहेको भन्दै तत्काल रीहा गर्नुपर्ने उनीहरुको माग छ । नेकपाका एक केन्द्रीय नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल भएको हो । गृहमन्त्री बालकृष्ण खाणले छलफल सकारात्मक भएको बताए । गत फागुन २० मा केपी ओली नेतृत्वको सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो । सहमति कार्यान्वयन नभएपछि नेकपाका नेताहरुले शिर्ष नेताहरुलाई भेटेर दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्