प्रदेश सरकार टिकाउन मुख्यमन्त्री आचार्यको ‘जोडबल’


मोरङ — एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा जान १० जना प्रदेश सांसदले निर्वाचन आयोगमा सनाखत गरेपछि मुख्यमन्त्री भीमप्रसाद आचार्य अल्पमतमा परेका छन् । तर आचार्यले नयाँ बन्ने राजनीतिक समीकरणले प्रदेशसभाबाट विश्वासको मत पाउने दाबी गरेका छन् ।

‘एकपटक दलहरूबीच बनेको राजनीतिक समीकरण सधैंका लागि स्थिर रहन्छ भन्ने होइन,’ मुख्यमन्त्री कार्यालयमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘एमालेको सरकार गिराउन बनेको अहिलेको राजनीतिक समीकरणको इस्यु र एजेन्डा समाप्त भइसकेकाले अब नयाँ समीकरण निर्माण हुन्छ ।’

अहिलेको सत्तारूढ गठबन्धन दलबीच खास समयमा मिलेको इस्यु र एजेन्डा सिद्धिसकेकाले अहिले मुलुकमा नयाँ राजनीतिक समीकरण निर्माणका लागि औपचारिक रूपमा छलफल भइरहेको आचार्यले बताए । ‘इस्यु र एजेन्डाले राजनीतिक दलहरूलाई नजिक र टाढा पुर्‍याउने हुन्छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘अहिले मुलुकमा नयाँ राजनीतिक समीकरण निर्माणका लागि धेरै नयाँ इस्यु र एजेन्डा छन् त्यसमा सकारात्मक रूपमा छलफल भइरहेको छ ।’

प्रदेश सरकार सञ्चालन र टिकाउन दलहरूबीच कुराकानी भइरहेको उनले सुनाए । उनले एमसीसीलगायतका थुप्रै मुद्दामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेको साथ खोजिरहेकाले कुराकानी भइरहेको बताए । ‘मुलुकमा संघीयताको अभ्यास भइरहेकाले मूलतः केन्द्रभन्दा पनि प्रदेशमा छुट्टै तरिकाले अघि बढ्नुपर्ने हो,’ उनले भने, ‘तर त्यो अवस्था निर्माण भइनसकेकाले नयाँ राजनीतिक समीकरणका लागि केन्द्रमा नै कुराकानी भइरहेको छ ।’

मुख्यमन्त्री आचार्यले पार्टी फुटेर नयाँ दल दर्ता भएको दिनदेखि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत प्राप्त गर्ने बताए । उनले आफू काम गर्न प्रदेश सरकारको नेतृत्वमा आएकाले जनताका लागि काम गर्न चाहना राखेका प्रदेश सांसदहरूले प्रदेशसमा विश्वासको मत दिने दाबी गरे । ‘एमाले छाडेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादीमा जान निर्वाचन कार्यालयमा सनाखत गरेको तर त्यो प्रक्रिया टुंगिन २३ गतेसम्म लाग्छ,’ उनले भने, ‘मुख्यमन्त्रीको कुर्सी ओगट्न होइन, काम गर्नका लागि आएकाले विगत साढे तीन वर्षदेखिको विरासत थामेरै जानुपर्नेछ ।’

प्रदेशमा एकीकृत समाजवादीले कानुनी मान्यता पाएपछि चाँडै विश्वासको मत लिएर प्रदेशको कामलाई गति दिने आचार्यको भनाइ थियो । आचार्यले विकास निर्माणको काममा तीव्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेशको नामकरण, प्रदेश सरकारको संरचना निर्माण, शान्ति सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ अघि बढेको बताए । आचार्यले कोरोना महामारीको तेस्रो लहरको तयारीका लागि प्रदेश कोरोना जनसुरक्षा कोषबाट १० करोड बजेट निकासा गरेर सामाजिक विकास मन्त्रालयमा पठाइसकेको बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजीव कोइरालाले एमालेले गठबन्धन फुटाउनका लागि अनेक ‘जोडबल’ लगाइरहेको तर त्यसले कुनै असर नपर्ने बताए । ‘गठबन्धनको बिहीबार बैठक बसेर एकीकृत समाजवादीमा जान सनाखत गरेका प्रदेश सांसदहरूलाई कानुनी मान्यता प्राप्त गरेपछि मात्रै सरकार गठनको विषय अघि बढाउने सहमति भएको छ,’ उनले भने, ‘प्रदेशमा गठबन्धन परिपक्व हुँदै गइरहेकाले कसैको पनि कुनै फन्डा काम लाग्दैन र गठबन्धनको सरकार बन्छ ।’

९२ सदस्यीय प्रदेशसभामा ५१ सदस्यमध्ये एमालेका १० जना प्रदेशसभा सदस्य एकीकृत समाजवादीमा लागेपछि एमाले ४१ सदस्यमा खुम्चिएको छ । कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना प्रदेश सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्