एकीकृत समाजवादीलाई पार्टी विभाजनको औचित्य पुष्टि गरेर देखाउन नेम्वाङको चुनौति


काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिएका छन् ।

संविधानसभाका अध्यक्ष समेत रहेका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने बताएका छन् ।

पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले विनाविचारधारा, दर्शन र कार्यक्रमविना पाटी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यस विपति गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोप समेत लगाए ।

कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेताहरुलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई उनको आह्वान थियो ।

उनले भने, ‘मैले तपाईहरु समक्ष राख्न खोजेको कुरा के हो भने तपाइहरु आ आफ्नो ठाउँबाट जुरुक्क उठनुपर्छ । गाउँगाउँबाट उठनुपर्छ, घरघरबाट उठनुपर्छ, र सोध्नुपर्छ – कुन चाँही विचारधारामा फरक प¥यो, कुन चाँही दर्शन फरक प¥यो ? कुन चाँही कार्यक्रम फरक प¥यो ? र तिमीले नेकपा एमाले छोडेर छुट्टै राजनीतिक दल बनायौं भनेर प्रश्न गर्नु पर्दछ । विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् साथीहरुले । म यतिमात्रै भन्छु । विभाजनको औचित्य स्थापित गर्नु पर्छ । अहिले नै प्रष्ट देखिएको छ । विभाजनको औचित्य स्थापित हुन सक्ने ठाउँछैन । हिजोअस्ती एक दुई जना साथीहरुले भन्नु भयो, जो पहिलो माले विभाजनका पालामा पनि हुनुुहुन्थ्यो । उहाँले भन्दै हुनुहुन्थ्यो । ठयाक्कै यही कुरा उठाउँदै कुनै विचार सिद्धान्त छैन, खाली तँ र म को कुरा छ । हामीले के आधारमा जनतालाई भन्ने ? हामीले यो आधारमा पार्टी फटायौं । त्यति बेला हामीले माले फुटाउँदा त राष्ट्रियताको प्रश्न थियो ।’

उपनेता नेम्वाङले घरघरबाट बाहिर आएर पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुटन पार्टी निकट कानुन व्यवसायीहरुलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्