लोकप्रियतामा कमी आएसँगै जापानी प्रधानमन्त्री सुगाले पद छोड्ने


काठमाडौं । लोकप्रियतामा कमी आएसँगै जापानी प्रधानमन्त्री योशीहिदे सुगाले प्रधानमन्त्रीको पद छोड्ने संकेत गरेका छन् ।

प्रधानमन्त्री सुगाले मुख्य सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीको आउँदो नेतृत्वको लागि हुने चुनावमा प्रतिस्पर्धा नगर्ने बताएका छन् । यसको अर्थ उनले प्रधानमन्त्री पद छोड्दै छन् र जापानले छिट्टै नयाँ प्रधानमन्त्री पाउनेछ भन्ने रहेको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएपछि ७२ वर्षीय सुगा गत वर्ष सेप्टेम्बरमा प्रधानमन्त्री बनेका थिए । उनको स्वीकार्य दर (लोकप्रियता)मा अहिलेसम्मकै कमी आएको बेला सुगाको यस्तो घोषणा आएको हो ।

कोभिड–१९ को खराब लहरसँग जुधिरहेको जापान अहिले पनि आपत्कालीन अवस्थामा छ । जापानमा १५ लाखभन्दा बढी व्यक्तिमा कोभिड संक्रमण देखिएको छ । खोप लगाउने काम पनि ढिलो गतिमा भइरहेको छ ।

महामारीको खराब अवस्थाका बीच ओलम्पिक खेल आयोजना गर्ने निर्णय पनि निकै अलोकप्रिय भयो ।

सुगाले आफू कोभिड–१९ विरुद्धको प्रयासमा केन्द्रित हुने भन्दै नेतृत्वको चुनावमा प्रतिस्पर्धा नगर्ने बताएको सुगाको पार्टी एलडीपीका महासचिव निकाइ तोसिहिरोले बताए ।

यो खबरसँगै जापानको सेयर तीव्र रूपमा बढेको छ । टोपिक्स स्टक इन्डेक्स तीन दशकयताकै उच्च १.७ प्रतिशतले बढेको छ ।

यही सेप्टेम्बर २९ मा सत्तारूढ पार्टी एलडीपीको अध्यक्ष चयन गर्न चुनाव गरिँदै छ । एलडीपीको संसद्मा बहुमत रहेकोले उसको अध्यक्षमा निर्वाचित व्यक्ति नै जापानको नयाँ प्रधानमन्त्री हुने अपेक्षा गरिएको छ ।

को हुन् प्रधानमन्त्री सुगा ?
७२ वर्षीय प्रधानमन्त्री सुगा स्ट्रबेरी किसान परिवारमा जन्मिएका हुन् । उनी पहिलोपटक १९८७ मा योकोहामा सिटी काउन्सिलमा निर्वाचित भएका थिए । १९९६ मा जापानको संसद्मा पहिलोपटक निर्वाचित भएका थिए ।

२००५ मा प्रधानमन्त्री जुनीचिरो कोइजुमीले उनलाई आन्तरिक मामिला र सञ्चार मन्त्रालयको वरिष्ठ उपमन्त्रीमा नियुक्त गरेका थिए ।

अर्को वर्ष कोइजुमीका उत्तराधिकारी सिन्जो आबेले उनलाई तीनवटा क्याबिनेट पदको जिम्मेवारी दिँदै मन्त्रीमा बढुवा गरेका थिए । सो पदमा उनले २००७ सम्म काम गरे ।

गत वर्ष तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्