कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति पक्राउ


कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्तिलाई धादिङ प्रहरीले पक्राउ गरेको छ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ स्थित खरीबाट ५३ वर्षीय यमबहादुर रानामगरलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

रानामगरले २०६१ कात्तिक १२ गते बेलुकी साबिक खरी गाविस वडा नम्बर ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। वडा नम्बर ४ का यमबहादुर विकको घरमा पूजा हुँदा भेला भएका उनीहरूबीच झडप भएको थियो। त्यसैक्रममा रानामगर लगायतले फ्याली मगरको हत्या गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

यस घटनामा प्रहरीले पाँच जनालाई प्रतिवादी बनाएको थियो। त्यसमा दुई जनालाई अदालतले सफाइ दिएको थियो भने दुई जना घटनापछि फरार छन्।

सो मुद्दामा धादिङ जिल्ला अदालतले गत मंसिर १० गते रानामगरलाई जन्म कैदको सजाय सुनाएको थियो।

उनको १९ वर्ष ७ महिना ६ दिन कैद भुक्तानी गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

‘उनी केही महिना पुर्पक्षमा बसेका थिए। अदालतले थुनामा राख्न नपर्ने भनेपछि निस्केर फरार भएका थिए। फेरि पछि आदेश भएपछि हामीले पक्राउ गर्‍यौं,’ भण्डारीले भने।

सजाय कार्यान्वयन गराउन प्रहरी चौकी साधभञ्ज्याङबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो। सजाय कार्यान्वयन गराउन प्रहरीले जिल्ला अदालतमा पेस गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्