कल्याणकुमार गुरुङद्वारा नेपाली कांग्रेस केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा


नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको १४ औँ महाधिवेशनमा पार्टीमा केन्द्रीय सभापतिको उम्मेदवारी दिने घोषणा गरे ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य गुरुङले पार्टीमा युवा पुस्ता नेतृत्व लिन सक्षम भएको भन्दै आफूले केन्द्रीय सभापतिका लागि उम्मेद्वारी दिने बताए । उनले शासन व्यवस्थामा परिवर्तन आए पनि सोचमा परिवर्तन आउन नसकेकोले युवा पुस्ताले नेतृत्व लिएर सोचहरुमा परिवर्तन ल्याउनुपर्ने बेला भएको बताए । केन्द्रीय सदस्य गुरुङले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्ने बताए । उनले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह लगायतका नेताहरुले युवावस्थामै नेतृत्व गरेको पार्टीमा अहिले किन युवा पुस्ता हाबी हुन नसकेको भन्ने दबाव देशभरबाट आएपछि आफूले १४ औँ महाधिवेशमा केन्द्रीय सभापतिको उम्मेद्वारी दिन लागेको बताए ।
केन्द्रीय सदस्य गुरुङले भने, ‘युवाहरु आएर नेतृत्व गर्न किन डराइरहेका छन् ? किन युवाहरुबाट नेतृत्व आउँदैन ? के हामी सक्षम छैनौँ त ? हामी योग्य छैनौँ त ? भन्ने दबाब देशभरबाट आउन थालेपछि मैले सल्लाह प्रारम्भ गरेको थिएँ, म देश घुम्न थालेँ, म जिल्ला–जिल्ला घुम्न थालें, जिल्ला घुम्दा गाउँ–गाउँका साथीहरुसँग भेट भयो, सहिद परिवारका मानिसहरुसँग भेट भयो, जेल जीवन बिताउनुभएका मानिसहरुसँग भेट भयो, दुःख गर्नुभएका मानिसहरुसँग भेट भयो, कुनै लोभ लालचमा नपरि नेपाली काँग्रेसमा निरन्तर लागि पर्नुभएका मानिसहरुसँग भेट भयो, त्यहाँबाट नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने आवाज आयो, आज म पत्रकार साथीहरुको बीचमा म औपचारिक रुपले घोषणा गर्छु कि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अब नयाँ पुस्ता सक्षम भइसकेको छ, नयाँ पुस्ता योग्य भइसकेको छ, नयाँ पुस्ता पार्टीको नेतृत्व गर्न पनि सक्षम छ, योग्य छ, देशको नेतृत्व गर्न पनि सक्षम छ, नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा म कल्याणकुमार गुरुङ केन्द्रीय सभापतिको उम्मेद्वारीको घोषणा गर्न चाहन्छु ।’
केन्द्रीय सदस्य गुरुङले सभापतिमा निर्वाचित भएपछि किसान, दलित जनजाति, आदिवासी, मुस्लिम संघ, थारु संघ सबै समुदायलाई समेटेर नेपाली कांग्रेसलाई समावेशी पार्टी बनाउने बताए । उनले नेपाली कांग्रेसभित्र सबैले न्यायको अनुभूति, न्याय, राजनीतिक सुरक्षा प्राप्त गर्ने पार्टीको रुपमा वातावरण सिर्जना गर्ने बताए । पार्टीको सभापति बनेमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद एकपटकको लागि मात्र हुने वैधानिक व्यवस्था गर्ने र देशको संंविधानमा पनि दुई पटक मात्रै मन्त्री र प्रधानमन्त्री हुने पहल गर्ने पनि उनले बताए ।
उनले भने, ‘पार्टीमा आउने नेविसंघ, आदिवासी, जनजाति, मुस्लिम संघका साथीहरु, थारु संघका साथीहरु, जति पनि हुनुहुन्छ, खस, आर्यलगायत पिछडिएको क्षेत्र, सबै समुदायलाई म समेटेर नेपाली कांग्रेसलाई समावेशी पार्टी बनाउँछु । नेपाली कांग्रेसभित्र न्यायको अनुभूति कसरी गर्न सक्छन्, कसैले अवसर पाएको पाइन्छ, कसैले पुस्तौं पुस्तादेखि लागेर पनि कुनै अवसर पाएका छैनन्, म नेपाली काँग्रेसको सभापति भएँ भने नेपाली कांग्रेसमा सबैले न्याय प्राप्त गर्ने, सबैले राजनीतिक सुरक्षा प्राप्त गर्ने वातावरण, त्यो प्रकारको नीतिहरु निर्माण गर्दछु, त्यो प्रकारको वैधानिक व्यवस्था गर्दछु, नेपाली कांग्रेसबाट समानुपातिक सभासद जो बन्नुहुन्छ, त्यो एकपटकको लागि मात्रै हुने वैधानिक व्यवस्था गर्दछु, नेपाली कांग्रेसको विधानमा मात्रै होइन, देशको संविधानमा नै समानुपातिकबाट सांसद हुने व्यक्ति एकपटक मात्रै हुन पाउनुपर्छ त्यो किसिमको संवैधानिक व्यवस्था गर्न म नेपाली काँग्रेसको सभापति भइसकेपछि म पहल गर्छु, दुई पटक मात्रै मन्त्री र दुई पटक मात्रै प्रधानमन्त्री हुने संविधानमा व्यवस्था गर्छु । ’
केन्द्रीय सदस्य गुरुङले अहिले ६० वर्ष र त्योभन्दा कम उमेरको केन्द्रीय सभापतिको दाबी गर्ने आफू मात्रै भएको भन्दै अन्य साथीहरुले पनि केन्द्रीय सभापतिको दाबी गरे आफू खुशी हुने बताए । उनले नेपाली कांग्रेसको केन्द्रीय सभापति भनेको भोलि देशको वैकल्पिक प्रधानमन्त्री भएकोले सभापतिको दाबी गर्दा यसलाई मनन गरेर मात्रै दाबी गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्