बागमती सरकार जोगाउन अन्य दलसँग सहकार्यको प्रयासमा छौँः निरौला


नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार जोगाउनका लागि नवगठित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र अन्य दलहरुसँग सहकार्यको प्रयास भइरहेको बताएका छन् ।

उनले रातोपाटीसँग कुराकानी गर्दै शाक्य नेतृत्वको सरकार टिकाउन नेकपा एकीकृत समाजवादी पार्टीसहित अन्य साना दलहरुसंग सहकार्यका तयारीका साथ छलफल भइरहेको बताएका हुन् ।

नेकपा एमाले व्यावहारिकतामा मात्र विभाजन भएको र कानूनी रुपमा विभाजनको लागि आगामी २२ गतेसम्म कुर्नुपर्ने र त्यसपछि मात्र नेकपा एमालेले सरकार टिकाउने आगामी रणनीति र प्रकृया अघि बढाउने उनले बताए । तर एकीकृत समाजवादी पार्टीले भने शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उनी पदमा बसिरहनु उपयुक्त नभएको र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताइसकेको छ ।

निरौला भने आगामी २२ गतेपछि निर्वचन आयोगले बागमती प्रदेशसभा सचिवालयलाई दल विभाजनको जानकारी दिएपछि मात्र नेकपा एमाले कानूनी रुपमा सरकारको बहुमत गुमाउने भएकाले त्यसपछि संवैधानिक प्रकृयाबाट नै सरकार टिकाउनका लागि मुख्यमन्त्री शाक्यले संसदबाट विश्वासको मत लिने बताउँछन् ।

नेकपा एमालेको बुधबारको संसदीय दलको बैठकबाट पनि वर्तमान शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरे अनुसार संवैधानिक प्रकृयामा गएर सरकार टिकाउन अन्य दलहरुसंग सहकार्य गर्ने उनले बताए ।

नेकपा एकीकृत समाजवादीले दलको मान्यता पाएपछि सरकारको भविष्य र नेतृत्वबारे छलफल र सहकार्यको योजनामा नेकपा एमाले रहेको उनको भनाई छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा प्रदेश सरकार टिकाउने विषयमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेसहित केन्द्रीय तहमा समेत सामान्य छलफल भइरहेको उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्