दार्चुला घटनाबारे भारतले भन्यो– ‘औपचारिक जानकारी छैन, मिडियामा सुनेको हो’


नयाँदिल्ली — दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यो विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

‘त्यहाँको घटना मिडियामार्फत सुनेका छौं । तर हामीसंँग कुनै अफिसियल खबर छैन । नेपालमा इन्टरनल रुपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि मलाई थाहा छैन,’ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कान्तिपुरले सोधेको प्रश्नको जवाफमा प्रवक्ता बाग्चीले भने, ‘ नेपाल सरकाबाट केही जानकारी आइनसकेकोले यसबारे म केही भन्न सक्दिनँ ।’

उनले यो विषयमा भारतभित्र पनि कुनै अनुसन्धान भएको नभएकोबारे पनि केही जानकारी नभएको बताए । ‘मलाई कसैले केही भनेको छैन, मिडियामा मात्र पढेको छु । भारतभित्र आन्तरिक अनुसन्धान भए नभएकोबारे पनि सूचना छैन, भारतको राजदूतावासमार्फत केही आउला अनि मात्र हामीले यसबारेमा केही हेर्नेछौं ।’ उनले यो विषयमा फरक फरक धारणाबाट कुरा आइरहेको बताए । ‘धेरै मानिसले उक्त घटनालाई एउटा र केहीे फरक दृष्टिकोणले बताइरहेकाले ठ्याक्कै सही कुरा के हो मलाई थाहा छैन ।’

भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले तुइन चुडाइँदिँदा जयसिंह धामी बेपत्ता भएका थिए । यस सम्बन्धमा गृह मन्त्रालयको छानबिन टोलीले कूटनीतिक पहलमार्फत घटनामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सुझाव दिएको थियो । उक्त सुझावअनुसार गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्