प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको अन्तरिम आदेश


सर्वोच्च अदालतले प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको छ। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बिहीबार यस्तो अन्तरिम आदेश गरेको हो।

सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाअनुसार इजलासबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट दायर गरेका थिए।

अधिवक्ता रेग्मीको रिटमा संविधानमा जे व्यवस्था छ त्यहीअनुसार इजलास गठन हुनुपर्ने र कसैको दबावमा परेर संवैधानिक इजलासबाट प्रधानन्यायधीश बाहिरिन नहुने जिकिर गरिएको थियो। रिटमा प्रधानन्यायाधीश इजलासबाट अलग हुन नमिल्ने अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो।

तत्पश्चात प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको सुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गरेका थिए। संवैधानिक परिषदसम्बन्धी मुद्धाको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्