भारतीय दूतावासको भरमा त्रिविको हिन्दी केन्द्रीय विभाग !


काठमाडौँ: गत सोमबार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रीय विभागमा पुग्दा सुनसान देखिन्थ्यो । न प्राध्यापकहरु थिए न त कर्मचारी नै ।

विभागमा पुग्दा विभागीय प्रमुख सञ्जिता बर्मा आफैँ कार्यकक्षको चाबी खोलेर भित्र छिर्दै थिइन् । अनौठो त के भने पुरानोमध्येको एक विभागबारे धेरैलाई थाहै छैन । ‘कतिपयले त त्रिविमा हिन्दी विभाग पनि छ र भनेर सोध्छन्,’ विभागीय प्रमुख शर्माको अनुभव छ ।

त्रिविको सबैभन्दा पुरानो विभागमध्ये एक हो हिन्दी केन्द्रीय विभाग । २०१६ मा त्रिविविको स्थापनासँगै यो विभाग पनि सुरु भएको थियो । भारत र नेपालबीचको सम्बन्ध प्रगाढ रहेका कारण पनि यो विभाग सुरुदेखि नै सञ्चालनमा रहेको बताउँछिन् विभागीय प्रमुख शर्मा । विभागमा विद्यार्थीहरुको आकर्षण भने नगन्य छ । विभाग नै सुनसान देखिन्छ ।

हिन्दी विभागमा हरेक वर्ष ४ देखि ८ जनासम्म भर्ना हुन्छन् । विभागका अनुसार आजसम्म विभाग विद्यार्थी नभएर खाली हुनु परेको भने छैन । तर, एउटा अहम् प्रश्न भने विभागमा ठोक्किरहन्छ, हिन्दी विभागलाई सरकारले सहयोग नगर्दा विभाग नै संकटमा पर्ने त होइन ?

विभागीय प्रमुख बर्माले भनिन्, ‘नेपालका कतिपय स्थानमा हिन्दी भाषा पनि मातृ भाषाको रुपमा बोलिन्छ । पुराना अभिलेखहरुमा पनि हिन्दीको प्रयोग भेटिन्छ। हिन्दीलाई भारतको भाषा भन्ने रुपमा मात्रै बुझ्ने चलन छ । तर हिन्दी नेपालको पनि भाषा हो । यसबारे आम मानिसको सोच परिवर्तन गर्नु आवश्यक छ ।’ हिन्दी भन्ने बित्तिकै विदेशी भाषा भनेर अपहेलित गरिने हिन्दी विभागमा अध्यापनरत शिक्षकहरुको गुनासो छ ।

यसवाहेक विभागमा तलब बाहेक अन्य बजेट निकासा नहुने शिक्षकहरु बताउँछन् । विश्वविद्यालयले पर्याप्त बजेट नछुट्याउँदा अफ्ठेरोमा परेको उनीहरुको गुनासो छ । हाल विभागमा तीन प्राध्यापक सहित चार जना अध्यापनरत छन् ।

नेपाली र हिन्दी भाषा समपुरक रहेपनि यसको सन्दर्भमा पर्याप्त प्रचार हुन सकेको छैन । हिन्दि अध्ययन गरेका विद्यार्थीहरुलाई रोजगारीको सुनिश्चितताका लागि सरकारले कुनै योजना नबनाएको गुनासो गरीन् ।

किन कम हुन्छन् हिन्दी विभागमा विद्यार्थी ?

हिन्दी विभागमा ०७४/०७५ मा सातजना र ०७५/०७६ मा पनि सातजना विद्यार्थी भर्ना भएका थिए । विभागीय प्रमुख शर्माका अनुसार कति विद्यार्थीलाई त केन्द्रीय विभागमा पढाइ हुन्छ भन्ने पनि थाह छैन । त्यसो त, प्रचार प्रसारका लागि पनि सरकारबाट बजेट आउँदैन । ‘गनेर तलवका लागि मात्रै बजेट आउँछ । हिन्दी विभागलाई दूतावास बाहेक कसैले सहयोग गरेको पनि छैन,’ प्रमुख शर्माले भनिन्, ‘किताव समेत किनेर नेपालको सिमानाबाट आफैँ ल्याउनुपर्छ । कतैबाट सहयोग नआउँदा अप्ठ्यारो छ।’

विभागका अनुसार यहाँ कतिपय विद्यार्थीहरु भारत र अन्य देशबाट समेत पढ्न आउने गरेका छन् । नेपाली विद्यार्थीहरुमा भने यो विषयप्रति चासो नै नदेखिने विभागका प्राध्यापकहरु बताउँछन् ।

स्नातकोत्तर तहमा हिन्दी विभागमा पढ्दा अंग्रेजी विषय दिनुपर्ने बाध्यकारी व्यवस्था भएकाले पनि विद्यार्थी आउने क्रम बढ्न नसकेको प्राध्यापकहरुको तर्क छ । भारतमा भने स्नातक तहमा अंग्रेजी विषय ऐच्छिक छ । तर, नेपालमा स्नातकोत्तर तहमा हिन्दी विषयमा भर्ना गर्न स्नातक तहमा अंग्रेजी विषय उत्तिर्ण गर्नुपर्ने व्यवस्था छ ।

विभागीय प्रमुख शर्माका अनुसार हिन्दी अध्ययन गर्नेलाई अंग्रेजी अनिवार्य पढ्नुपर्ने बाध्यकारी प्रणाली हटाउन विश्वविद्यालयसँग कुरा गरिए पनि सुनुवाइ भएन । जसले गर्दा विद्यार्थीहरु भर्ना हुन आनाकानी गर्छन् । विभागका प्राध्यापकहरु भने हिन्दी भाषा नेपालमा धेरै प्रयोग नहुने भएकाले पनि विद्यार्थी संख्या नबढेको तर्क गर्छन् । विभागीय प्रमुख शर्मा भने हिन्दी भाषा र नेपाली भाषाबीच अन्तरक्रिया आवश्यक रहेको बताउँछिन् । साथै भाषागत एकता र शुद्धताका लागि अन्तरक्रिया जरुरी रहेको उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्