विवेकशील साझा : पाण्डेको प्रस्ताव मिश्रले गरे अस्वीकार दुवै पक्षको भर्चुअल बैठक


आजको बैठक रोक्नका लागि युवा संगठनका केही पदाधिकारी र संयोजक पाण्डेले प्रस्ताव गरे पनि मिश्रले बैठक रोक्न अस्वीकार गरेको पाण्डेपक्षीय केन्द्रीय सञ्चार विभागका उपप्रमुख हरिप्रसाद भट्टले जानकारी दिए ।

“युवा संगठनका केही साथीहरूले दुईवटै बैठक रोकौँ भनेर अध्यक्ष र संयोजकलाई अनुरोध गर्नुभएको थियो । त्यसैअनुसार संयोजकले २४ घण्टाका लागि दुईवटै बैठक रोकौँ भन्ने प्रतास्व गर्नुभएको थियो । तर, संयोजक र युवा साथीहरूको प्रस्ताव अध्यक्षले अस्वीकार गर्नुभयो । उहाँले बैठक रोक्दैनौँ भन्नुभयो । त्यसकारण संयोजकले बोलाएको बैठक पनि जारी छ,” भट्टले भने ।

त्यस्तै, मिश्रले पाण्डेसहितका नेतालाई बैठकमा डाकेका छन् । “आदरणीय साथीहरू, अबको केही बेरमा पार्टीको केन्द्रीय समितिको बैठक सुरु हुुँदै छ । सो बैठकमा सबै साथीहरूको उपस्थितिको अपेक्षा गर्दछु । हामी यो स्थितिमा कसरी पुग्यौँ भन्ने मेरोतर्फबाट राख्नेछु । र, तपाईंहरू सबैको विचार सुन्नेछौँ,” उनले केन्द्रीय समितिको आधिकारिक मेसेन्जर ग्रुपमा भनेका छन्, “फेरि पनि मिलनजीलगायत कतिपय साथीहरूलाई १२ः३० कै बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न आग्रह गर्दछु । पार्टीको हितमा निकास निस्कनेछ भन्नेमा विश्वस्त छु ।”

बैठकमा ७५ प्रतिशत सदस्यले उक्त बैठकमा सामेल हुने बताएको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिए । अध्यक्षलगायत नेताहरू सबैलाई मिलाएर लैजाने प्रयत्नमा रहेको उनले बताए ।

“विशिष्ठ अवस्था भए पनि अध्यक्षलगायत धेरै साथीहरूले मिलाएर लैजाने प्रयास गर्नुभएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्