एमालेमा संकट शृंखला


नेकपा एमाले पार्टीमा शृंखलावद्ध संकट सिर्जना गरिएको थियो, छ र भोलि पनि जारी रहने देखिन्छ। किनभने जननेता मदन भण्डारी र जबजका प्रकाशमा जनताको स्वैच्छिक अभिमतद्वारा अल्पमत, बहुमत र अझ दुईतिहाई ल्याएर सरकार सञ्चालन गर्ने कुरा देशीविदेशी प्रतिक्रियावादीलाई टनटनी टाउको दुखाइको विषय बनेको छ। नेपाललाई चरम शोषण दोहन गर्न बानी परेकाहरू र तिनका पक्षधरहरू यो देश विकसित भएको देख्न चाहँदैनन्। त्यसमाथि स्वस्थ्य लोकतान्त्रिक अभ्यासबाट नेपालमा कम्युनिस्टहरूको उदय र वर्चस्व स्थापित हुने कुरा प्रतिक्रियावादीलाई पच्ने विषय नै होइन। त्यसैले यस पार्टीलाई गुप्त षडयन्त्र जारी राखी छिन्नभिन्न पार्न खोजेका अनेक उदाहरणले पुष्टि गर्छ।

वामदेव र अशोक राई प्रकरणबाट पार्टी विभाजनका दुष्प्रयत्न ज्वलन्त उदाहरण ह्ुन्। यसका लागि भारी भरकम लोभलालचमा पार्टी फुटाउन बाह्य शक्ति हर्दम लागि रहनेछ। यसैको अन्तिमभन्दा अघिको पार्टी चोइट्याउने दुष्प्रयत्नबारे सचेत जनता जानकार छन्। जननिर्वाचित र जनप्रिय एमाले पार्टी र यसको सरकारलाई सजिलै अस्तव्यस्त पार्न सकिन्न भन्ने बुझेको प्रतिक्रियावादी शक्ति पार्टीभित्रै विभिषणहरू खोजेर तिनमार्फत् पार्टी खण्डित गर्ने दुष्प्रयत्न गरिरहेको देखिन्छ। तर एमालेजस्तो जबजको सैद्धान्तिक वैचारिक पार्टीलाई तह लगाउन प्रतिक्रियावादीको कुनै दबाब, दमन र बल पनि कामयाव हुन सक्ने देखिँदैन।
कम्तिमा आजका दिनसम्म मदन भण्डारी फाउन्डेसनले वैचारिक काम व्यवस्थित गरेको छ। यसलाई घनीभूत रूपमा परिचालन गर्नु अपरिहार्य देखिन्छ। विचार सिद्धान्तनिष्ट पार्टी, नेता र कार्यकर्ताहरू सतीसालझैं सय वर्ष लडा, पडा र खडा हुन्छन् र भएका छन् । आस्था, विचार र सिद्धान्त त्यस्तो बल हो, जो जुनसुकै आस, त्रास र बतासले गल्दैन, ढल्दैन र बरालिँदैन। तर हतियारलाई समाज परिवर्तनको एउटै मात्र शक्ति र साधन ठान्ने उग्रवाम पन्थको

धङ्धङीमा रमाइरहेकाहरू जो कोही किन नहुन् ती सबै अत्यन्त दुब्लो यथास्थितिको अवस्थाभन्दा माथि उठ्ने छैनन्। अझ तिनको ओरालो र भिरालोतिर यात्रा अझ बढ्ने लाग्ने लक्षण देखा परेको छ, जुन स्वाभाविक छ। अति सामान्य वर्ग पक्षधरविरुद्ध चारतारे झन्डा बोकेर कम्युनिस्ट आन्दोलन जोगाउँछु भन्ने चित्रबहादु्र लगायतका भद्दा चलचित्र हेरेर जनता वाक्क भएका छन्। ती कम्युनिस्ट आन्दोलनका हद दर्जाका भद्दा मजाक हुन्।

कान्छीलाई मन्त्री बनाउन सिंगो पार्टीलाई खालमा च्याँखे थापेको देखियो। कम्युनिस्ट नेताहरूले आदरणीय नेता नारायणमान बिजुक्छेबाट अहिले एमाले पार्टीविरुद्ध कम्युनिस्ट नामका र गुमनाम अनि बदनाम शक्तिहरूको फेहरिस्त सुन्दा हुन्छ। उनीहरूबाट अलिकति भए पनि सिके हुन्छ। कम्युनिस्टका आवरणमा सबल कम्युनिस्ट आन्दोलनलाई नै क्षतविक्षत पार्ने कलंकहरूको के कुरा गर्नु ? अझ नितान्त व्यक्तिगत पदीय लोभमा आजीवन लिसोझैं टाँसिन नपाउँदा पार्टीलाई खरानी पार्ने नेपाल र तिनका आसेपासे नेतालाई कुन विशेषण दिने ? चरम अवसरवादी र उग्रवाद पन्थलाई पराजित गर्न र तिनलाई कम्युनिस्ट आदर्शबाट च्युत पार्न एउटै गोली वा चक्की र एकमुठो कलिलो घाँस भए पुग्छ।

विचारविहीन, जनाधारविहीन, तलबाट वा भुइँतहबाट नउठेको र माथिबाट तलतल जबर्जस्ती थोपरेको र लादेको आन्दोलन अनि अभियान सामान्य धक्काबाट ध्वस्त हुन्छ, जग दह्रो नभएको घरजस्तै। माओवादी जनयुद्ध कालमा नेपालको ८० प्रतिशत भूभाग कब्जा गरेको भन्ने पार्टीको अस्तित्व उक्त भूभागमा के कति होला ? माले र एमालेले उहिले सञ्चालन गरेको देशव्यापी पार्टीगत राजनीतिक वैचारिक अभियानका कारण स्वेच्छिक रूपमा भुइँबाट स्वतःस्फूर्त रूपमा जुटेको, उठेको र जगाएको अवस्था हो, कम्युनिस्ट आन्दोलन। जुन अहिले पनि देशव्यापी रूपमा र जीवित छ, हरघरमा कम्तिमा एउटा न एउटा बुझ्झकी एमाले देशैभरि छ। मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या गरेपछि पार्टीमा विषवृक्ष रोपेर, हुर्काएर झाँगिएपछि त्यसका मातहत के कस्तो बिउ र विरुवा रोपिए अनि हुर्किए भन्ने कुरा जगजाहेरै छ। तैपनि केही बिग्रेको छैन, बुद्धि पुर्‍याए यो पार्टी सबल बन्न सक्ने आधार पर्याप्त छन्।

धमिराले धुलिएपछि कुनै वस्तु र प्राणी आफैं गल्छ र ढल्छ। त्यसैले एमालेले विगतदेखि विरासद स्वरूप प्राप्त तमाम विकृति हटाउनु पर्छ।

अहिलेसम्म एमालेको पार्टी आधार केही कमजोर भए पनि लथालिंग र भताभुंग चाहिँ भएको छैन। यसलाई जबजअनुसार सैद्धान्तिक र वैचारिक धार लगाएर ठीक ठाउँमा ल्याउन र अझ सबल बनाउन सकिने आधार पर्याप्त छन्। तर चीनमा झैं धन पद लोलुपहरू पार्टीमा नआऊ आए फिर्ता जाऊ भन्न सक्नुपर्छ। यस्ता कुरामा सचेत तथा सिद्धान्तले कमजोर नेता र कार्यकर्ता नै पार्टीका आधारभूत सबल किल्ला हुन्। ओली नेतृत्वको पार्टी र सरकारका दुरगामी महत्वपूर्ण कामका कारण जनाधार बरु प्रभावी र सबल बनेको अवस्था छ। तर एमाले पार्टीभित्र नेपालका कालमा जस्तै नोकरशाही जनवाद अपनाइयो भने यो पार्टीलाई ध्वस्त बनाउन कोही चाहिँदैन। धमिराले धुलिएपछि कुनै वस्तु र प्राणी आफैं गल्छ र ढल्छ।

त्यसैले एमालेले विगतदेखि विरासद स्वरूप प्राप्त तमाम विकृति हटाउनु पर्छ। पार्टीभित्र जनवाद पर्याप्त हुनुपर्छ। सबै आलोचना पार्टी र नेता विरोधी हुँदैनन्। अहिले पनि एमाले पार्टीमा पार्टीअध्यक्ष केपी ओलीलाई खुसी पारेर अरूहरू नेता, कार्यकर्तालाई हेप्ने, ठेल्ने र पेल्ने नेता यस पार्टीमा अत्यधिक देखिन्छन्। तिनमा नेतामैत्री, लेखकमैत्री, जनमैत्री, कार्यकर्तामैत्री र पठनमैत्री शून्यबराबर देखिन्छ। जबजको गहन अध्ययन र तद्नुसारको जीवनशैली, आचार–विचार र कार्यशैली अधिकांश नेतामा अत्यन्त कमजोर पाइन्छ। यस लेखकले यस्ता खालका नेतासित एकान्तमा भाले भिडन्त पनि गरेको छ। आवश्यक परे पार्टी अध्यक्षका कमजोरी उल्लेख गर्न नहिक्चिाउने पंक्तिकार पार्टी नीति र सिद्धान्तलाई सर्वोपरि ठान्छ। यस्तो चिन्तनले पार्टीलाई मात्र होइन, देशलाई अग्रगमन उन्मुख बनाउँछ।

अब भने नेता माथि शंका गर्नुपर्ने अवस्था टड्कारो बन्यो। हावा नचली पात हल्लिँदैन। कुनै पनि नेता कम्तिमा यही लेखकदेखि सतर्क भए हुन्छ। पूर्वमन्त्री प्रदीप ज्ञवालीले मात्र मन्त्री पदमा रहँदाका आर्थिक गतिविधि पारदर्शी रूपमा राखे। अर्का नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा रहँदा एक अब्बल शासकीय क्षमताका देखिए। सोझा जनता र तिनका सोझा सन्तानलाई ठगेर खान दिन हुँदैन। कालो गए गोरो आउँछ। एउटाले पनि सही सत्य कुरा नबोल्दा देश धरापमा जान्छ। एमालेमा फेरि पनि सत्ता, शक्ति र स्वार्थलगायत अनेक कृत्रिम कारणले संकट आउने सम्भावना छ।

अधिकांश कार्यकर्ता भने निस्वार्थ रूपमा पार्टीका काममा सदा लडिरहेका छन्, भिडिरहेका छन् र मरिरहेका छन्। सदासर्वदा केही न केही खाइरहन र पाइरहन लाग्ने चरम अवसरवादी नेता ठुलो भाग नपाउँदा पार्टीलाई परित्याग गर्दोरहेछ। पानी पकाएर बाक्लो हुँदैन र मान्छेलाई फकाएर आफ्नो हुँदैन। अहिले पनि १० बुँदे सम्झौतामा सहमत भएको राम्रो अवस्था देखिन्छ। युवा नेता बहुमूल्य उर्जामय जीवन एमाले पार्टीलाई वैचारिक सैद्धान्तिक केन्द्र निर्माण गर्न लगाउँछन् कि लगाउँदैनन् ? हेर्नुछ। नेताकै पनि शुद्धिबुद्धि ढिलो आउँदोरहेछ। २००८ सालमा पार्टी संस्थापक महामन्त्री पुष्पलाललाई षडयन्त्रपूर्वक अपदस्थ गरेर मनमोहन अधिकारी महामन्त्री बनेका थिए तर कमजोरी हटाएर अधिकारी महान् बने। नेतालाई चिन्न ढिला गरियो भने आफूसहित खाल्टोमा परिन्छ।

ओलीलाई पनि आफ्नै पर्याप्त ज्ञान र सूचनाका आधारमा परख गर्न सफल भएको हो। माक्र्सवादीहरूले अतिप्रशंसा र अतिनिन्दाबाट बच्नुपर्छ भनेको बिर्संदा अहिलेको नियति भोग्नु पर्‍यो। तीनवटा सन्तान पाएर अमुृक महिला वा पुरुष पोइल र जोइल जान्छन् जान सक्छन्। एमालेमा अध्यक्षलगायत सबैलाई इमान्दार भइरहलान् भनेर एकोहारो विश्वास गर्न मिल्दैन। माओले भनेझैं आन्दोलनप्रति सदा इमान्दार र प्रतिबद्ध भए भने किस्ताकिस्तामा विश्वास गरिने छ। किनभने नेताका आजसम्मका चिन्तन र चरित्रगत हुलियाले निशंक भएर विश्वास गर्नै दिँदैन। एमाले पार्टीमा भावी नेतृत्वका योग्य नेताहरू नभएका होइनन्। ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्बाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी आदि छन् तर बुहआयामिक नेता प्रदीप ज्ञवाली, शंकर पोखरेल र मणि थापाले सबैलाई उछिन्ने सम्भावना प्रवल देखिन्छ।

अयोग्यमध्ये योग्य होइन, योग्यमध्ये योग्यतम नेतृत्वको र सर्वमान्य वा अधिकतम मान्य नेताका लागि केही समय पर्खिनुपर्ने देखिन्छ। त्यसैले ओली नै पार्टीको भावी अध्यक्ष हुँदा यो पार्टी भुइँतहदेखि नै सबल हुने स्थिति स्पष्ट देखिन्छ। आगामी दिनमा पनि सके सत्तापक्ष नत्र प्रभावशाली प्रतिपक्ष बन्ने अवस्था कसैले रोक्न सक्दैन। कृत्रिम सबालहरू उठाएर एमालेलाई फेरि पनि सके फुटाउने नियतका साथ श्रृंखलाबद्ध संकट आइरहने देखिन्छ। किनकि नेपालको भूगोल त्यस्तै छ। उत्तरतिर विश्वको पहिलो शक्तिका रूपमा उदाउँदो चीन छ। तर केही कथित बुद्धिजीवी समग्रतामा हेर्दैनन् र माक्र्सवादको रक्षाका खातिर चारतारे झन्डा बोक्न तयार भएको अत्यन्त निरीहता दर्साउँछन्।

प्रतिक्रिया दिनुहोस्