चीनलाई झुकाएर बिपी बने महान्, भारतको चाकडीले देउवा कहलिए कायर


काठमाडौँ। साउन २२ गते राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले काँग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको बताइन्। धेरैले त्यो कुरालाई हेक्कामा राखेनन्- धामी बेपत्ता हुँदा कसरी भयो बिपीको अपमान ?

बिपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै संवाद गर्ने गरेको स्मरण गराउँदै उनले यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी थिइन्। तर, बिपीले कुन विषयमा त्यस्तो उल्लेखनीय अडान लिएर राष्ट्रिय स्वधिनता र नेपाली स्वाभिमानको रक्षा गरेका थिएँ भन्ने घटना भने वास्तव मै रोचक छ।

घटना २०१६ सालको हो। जसबारे दमन नाथ तुलाधरले आफ्नो संस्मरणात्मक पुस्तकमा सविस्तार उल्लेख गरेका छन्। सो पुस्तकमा ‘मुस्ताङ काण्ड’ उप-शीर्षक अन्तर्गत त्यो घटनाबारे लेखिएको छ।

मुस्ताङ का,ण्ड

पुस्तकमा लेखिएको छ- यसै ताक मुस्ताङमा रहेको हाम्रा फौजी जवान मध्ये एक जनालाई चिनियाँ सिमानामा रहेका फौजी जवानहरूले हाम्रो सीमा भित्र अतिक्रमण गरी गोली चलाई थलैमा बमप्रसाद भन्ने एउटा जमदारलाई मारिदिए । यो प्रश्न लिएर चिनियाँ सरकारलाई विरोध पत्र लेखियो। जवाफमा चीन सरकारतर्फबाट लेखिएर आयो-चिनियाँ फौजले नेपालको सीमा अतिक्रमण गरेको छैन, नेपाली फौजी जवानहरू चिनियाँ सीमा भित्र पसेकोमा विरोधी तत्त्व भन्ने ठानी गोली चलाउँदा मरेको हो । त्यसमा चार छ पटक पत्रको आदान प्रदान भयो । चिनियाँ पक्ष आफ्नो अडानमा अडिरहे । हामी पनि आफ्नो अडानमा अडियौ।

यसरी पत्र लेख्दा कुनै समयमा त मैले एउटा पत्रको उत्तरमा ५।६ किसिमका मस्यौदा पनि तयार पारेँ । ती सबै किसिमका मस्यौदामा परराष्ट्र सचिवसँग छलफल गर्दा सातौँ मस्यौदा तयार भएको थियो । फेरि प्रधान मन्त्री विश्वेश्वरप्रसाद कोइराला समक्ष पेस हुँदा उनको पनि विचार समावेश गरी आठौँ चाहिँ अन्तिम मस्यौदा बन्न पुगेको थियो। पत्राचार लम्बिन जाँदा अब हामीले पनि सबै पत्राचारलाई श्वेत पत्रको रूपमा जन समक्ष ल्याउनु पर्ने स्थिति पनि बनिसकेको थियो । अन्त्यमा चीनका प्रधान मन्त्री चाउ एन लाईले एउटा पत्र लेखी चिनियाँ गोलीले नेपाली जमदार मरेकोमा खेद प्रकट गर्दै यसमा श्री ५ को सरकारले निर्धारण गरे बमोजिम क्षतिपूर्ति दिन समेत मज्जूर गरे ।

बिपीको अडान

उनले पुस्तकमा अगाडी लेखेका छन् – त्यस पत्रको उत्तरमा मैले क्षतिपूर्ति गर्न मज्जूर गरेकोमा सम्माननीय चिनियाँ प्रधान मन्त्रीलाई धन्यवाद ज्ञापन गरेर मानिसको ज्यू ज्यानको रुपियाँ पैसामा मूल्याङ्कन हुन नसक्ने र नेपालको क्षेत्रीय अखण्डतामा अतिक्रमण भएकोले रु. एकको हर्जाना दिइएमा श्री ५ को सरकार अनुगृहीत हुने छ भन्ने बेहोराको प्रत्युत्तर मस्यौदा तयार पारी हाम्रा प्रधान मन्त्री समक्ष पेस गरेँ । प्रधानमन्त्रीले भने-कहाँ एक रुपियाँ मात्र, पचास हजार हर्जाना माग्नु पर्छ ।

मैले निवेदन गरेँ- एउटा नेपालीको ज्यानको मोल ५० हजार रुपियाँ भयो भने निचोडमा गएर पचास हजार रुपियाँ हर्जाना थाप्ने नेपाली नै बाँकी रहँदैन । तर प्रधान मन्त्रीले आफ्नो जिकिर छाडेनन्- मेरो कुरा हावामा उड्यो । पचास हजार माग्ने निर्देशन भयो । मैले ‘मानिसको ज्यानको मूल्याङ्कन हुन सक्दैन’ भन्ने वाक्यांशलाई काटेर पचास हजार रुपियाँ हर्जाना चाहिन्छ भन्ने अनुरोध गरेर पत्र लेखेँ ।

प्रत्युत्तरमा पचास हजार भा.रु. को चेक खामेर त्यो मान्छे हाम्रो सीमाभित्र मारिएको, तर यसमा वादविवाद अघि नबढाई मामला यहीँ टुग्याऔं’ भन्ने पत्र आयो। सो पचास हजार रकम मध्ये ने. रु. छ/सात हजार मृत जमदारका परिवारले पायो । बाँकी रकम श्री ५ को सरकारको सर्व-सञ्चित कोषमा दाखिला भयो ।

देउवाको कायरता

साँच्चै भन्ने हो भने जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न सकेको छैन। समिति बनाएर टार्न खोजेको थियो तर साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले आफ्नो प्रतिवेदन समेत बुझाई सकेको छ। सरकार त्यो प्रतिवेदन लुकाउने योजनामा छ किनकि भारतीय सुरक्षाकर्मीले जानी जानी एक नेपाली युवाको हत्या गरेको घटना आफूलाई भारी पर्ने देउवा सरकारको ठम्याई रहेको देखिन्छ।

त्यसैले विषयान्तर गर्न बुधवारको क्याबिनेटमा चीनसँगको सीमा विवादबारे अध्ययन गर्न समिति गठन गरेको बुझ्न कुनै गाह्रो छैन। उनी जसरी भए पनि जयसिंह धामी प्रकरणलाई ओझेल पार्न चाहन्छन्। जम्मा १० लाख रुपैयाँ सरकारी कोषबाट धामीको परिवारलाई उपलब्ध गराएर भारतीयको गल्ती ढाकछोप गर्ने जघन्य अपराधमा अहिलेको सरकार लागेको छ। बरु, भारतलाई खुसी पार्ने र धामी हत्याकाण्डलाई धुमिल पार्ने उद्देश्यले उत्तरी छिमेकी चीनलाई रुष्ट पार्न समेत यो सरकार तयार बनेको बुधवारको निर्णयबाट प्रस्ट भएको छ।

देउवालाई कोमल ओलीले संसद्मा सोधेका प्रश्न नै उनी कति कायर रहेछन् भनेर बुझ काफी हुन्छ- ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर युवालाई मारिदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो बिपीका अनुयायीहरूको चरित्र ? यो बिपी कोइरालाको अपमान हो। बिपीले बनाएको पार्टीको अपमान हो। नेपाली काँग्रेसका कार्यकर्ता माथिको अपमान हो। बिपीले बनाएको पार्टी काँग्रेसलाई विश्वास गर्ने नेपाली जनताको अपमान हो। यो इतिहासको अपमान हो। स्वाभिमानको अपमान हो। र मानवतावादको अपमान हो। देश, मानवीय, जनताको इस्यूलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ? बिपीले त्यति बेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो? बिपीको नाम रहन्थ्यो?’

अहिले भएको के हो ?

समाचारहरूमा उल्लेख भए अनुसार- जय सिंह धामी, विक्रम रंगोली र अमिता धामी तीन जना महाकाली छेउमा पुगे। जयसिंह धामी तुइन तर्न थाले। उनी तुइनमा झुन्डिएर तरिरहेका बेला पारिपट्टि दुई जना एसएसपी जवान आए। नेपालतिर वारी ठुलो ढुङ्गाको सपोर्ट लिएर गाडीको एउटा काठको खम्बामा तुइनको तार बाँधिएको थियो। भने पारी पट्टी टुडीको रुख थियो, त्यही रुखमा तार बाँधिएको थियो।

जयसिंह धामी पारि पुग्न करिब एक मिटर मात्रै बाँकी थियो। पोसाकमा रहेका एसएसपीको जवानले रुखमा बाँधेको तार फुकाल्न थाले। फुकालेपछि तुइनको तार बिच नदीमा पर्‍यो, पारी किनारमा पुग्नै लागेको जयसिंह धामी पनि तारसँगै हुत्तिएर उर्लँदो नदीको भेलमा खसेर बगे। तुइन फुकालेर नदीमा युवक बगेपछि दुई जना एसएसपी भागे।

प्रत्यक्षदर्शी यति स्पष्ट रूपमा खुटका खुट घटनाक्रम बताइरहेको बेला कसैमा कुनै दुबिधा नहुनु पर्ने हो। तर, कायर राजनीतिका नेतृत्व रहेका बेला अब कति जयसिंहले यसरी नै अनाहकमा ज्यान गुमाउनु पर्ने हो। र, सरकारले अमूल्य जीवनको मूल्य १० लाख रुपैयाँ राज्य कोषबाट तिर्दै घटनाको ढाकछोप गर्ने हो त्यो भने देउवा सरकारका आगामी दिनमा गणना गर्नु बाहेक अरू विकल्प देखिँदैन।-आर्थिकन्यूज

प्रतिक्रिया दिनुहोस्