बिमा आवश्यकता हो, बाध्यता होइन


बिमा भनेको आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको सुनिश्चतता हो । बिमा करार गर्दा बिमा गर्ने व्यक्ति (बिमित) र बिमा गरिदिने व्यक्ति (बिमक) बीच लिखित सम्झौता हुन्छ । त्यो सम्झौताका आधारमा बिमा कम्पनीहरूले नोक्सानी भएको बखत नोक्सानी मूल्याङ्कन गरी क्षतिपूर्ति रकम दिने गर्छन् ।
भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर के दुर्घटना हुन्छ, कसैलाई थाहा हुँदैन । त्यसैले भोलिको दिनमा हुन सक्ने सम्भावित जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिमलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानुनी विधि वा बिमा कम्पनीहरूसँग भविष्यमा भैपरी आउँदा हुने हानि–नोक्सानी र जोखिमबाट मुक्त हुनका लागि गरिने करार सम्झौता नै बिमा हो ।
नेपालमा बौद्धिक वर्गले समेत बिमाको आवश्यकता तथा महत्वमाथि ध्यान दिएको पाइँदैन । बिमालाई केवल एउटा बाध्यकारी बैंक तथा वित्तीय संस्थाहरूले आफूले प्रवाह गरेको ऋणको सुरक्षाका रूपमा लिने गरेको पाइन्छ । साथै जोखिम मूल्याङ्कन गरी जानेर बुझेर बिमा गरेको पाइँदैन ।
२०७२ सालको विनाशकारी भूकम्पपछि बिमाबारे नेपालीहरूले सोच्ने विचारमा सकारात्मक रूपमा परिवर्तन आएको पाइन्छ, तर पनि जुन गतिमा अघि बढ्नुपर्ने थियो त्यति गतिमा अघि बढ्न सकेको छैन । नेपाल सरकारले सवारी साधनको अनिवार्य बिमा लागू गरेसँगै घर तथा सम्पत्ति र स्वास्थ्य बिमा पनि त्यसरी नै अनिवार्य वा बाध्यकारी कारणबाट बिमामा आकर्षण हुने देखिन्छ । बिमाको पहुँच बढाउन सबैभन्दा पहिला त बिमासम्बन्धी साक्षरता तथा जनचेतना अभिवृद्धि गर्नुपर्ने हुन्छ । बिमा किन, केका लागि, केके फाइदा हुन्छ र बिमा कोद्वारा गरिन्छ भन्ने कुरा बुझ्नु र प्रस्टसँग बुझाउनुपर्छ ।
नेपालमा बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगमार्फत उक्त सेवाको डिजिटलीकरणमा निकै फड्को मारिरहेको अवस्थामा बिमा क्षेत्रमा पनि प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् । त्यसैले बिमा क्षेत्रमा प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्न सकिने र बिमा क्षेत्रमा कार्यरत कर्मचारीहरू पनि प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्ने हुन्छ ।
हाल बिमा समितिले पनि दक्ष जनशक्ति उत्पादनका लागि बिमा कम्पनीहरूसँगको सहकार्यमा इन्स्युरेन्स इन्स्टिच्युट अफ नेपाल संस्थाको स्थापना गरी सोमार्फत समय–समयमा तालिम सञ्चालन गरी कर्मचारीहरूको दक्षता, कार्यक्षमता अभिवृद्धि गर्दै आएको छ ।
यसले गर्दा बिमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुका साथै उनीहरूको कार्यक्षमता अभिवृद्धिले बिमा सेवाप्रवाह गुणस्तरमा पनि अभिवृद्धि हुँदै जाने गर्छ । बिमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा घट्दै जाने र नयाँ–नयाँ बिमालेख ल्याउँदै जानाले पनि बिमाको क्षेत्र फराकिलो बन्दै जाने र सम्पूर्ण व्यवसाय वा सम्पत्तिको बिमामा आकर्षण हुने देखिन्छ । हालको बिमा दाबी प्रक्रियामा केही जटिल तथा झन्झटिलो भए तापनि त्यसलाई समयसापेक्षिक सरलीकृत ग्राहक केन्द्रित बनाउँदै लैजानुपने हुन्छ ।
हाल बिमा समितिले उधारोमा बिमालेख जारी गरी बिक्री भइरहेको वा बिमितको खातामा पर्याप्त मौज्दात नभई चेक दिई बिमालेख लिने गरेको पाइएकोमा सुनिश्चत नभई बिमालेख जारी नगर्न निर्देशन गरेको छ । जोखिम बढ्नु दैवी प्रकोप, महामारी, द्वन्द्व, अपराध, जलवायु परिवर्तन, भूकम्प, ज्वालामुखीजस्ता कारणहरूबाट दैनिक मानवीय र भौतिक सम्पत्तिको ठूलो जोखिम र क्षति हँुदै गएको छ ।
नेपालमा विगतदेखि हालसम्म हेर्ने हो भने यस्ता दैविक र प्राकृतिक जोखिम उच्च स्थानमा रहेको र ठूलो क्षति भएको पाइन्छ । विपत् अनुमान र आकलन गर्न नसकिने हुनाले विपद् अनपेक्षित र अनिश्चित अवस्था हो । मानव जीवन र सम्पत्तिमा हरेक क्षण हरेक समय जोखिमको सम्भावना रहिरहन्छ, त्यसैले कुनै पनि क्षेत्र वा मानिस जोखिममुक्त छैन । त्यस्तै विपद्बाट क्षतिलाई न्यूनीकरण गर्न राम्रोसँग जानेर, बुझेर जोखिम न्यूनीकरण गर्ने माध्यम नै बिमा हो र त्यस्ता विपत्बाट बच्न वा हुन सक्ने सम्भावित क्षतिका लागि उच्च जोखिम व्यवस्थापन गर्ने काम बिमामार्फत हुँदै आएको छ ।
हाल नेपालमा प्रचलनमा रहेका मुख्य–मुख्य बिमालेखहरू यस प्रकार छन्— १. मोटर बिमालेख, २. सम्पत्ति बिमालेख, ३. सामुन्द्रिक तथा पारवहन बिमालेख, ४. ठेकेदारी तथा इन्जिनियरिङ बिमालेख, ५. स्वास्थ्य तथा औषधोपचार बिमालेख, ६. बाली तथा पशुपन्ी बिमालेख, ७. दुर्घटना बिमालेख र ८. बैंकर्स क्षतिपूर्ति बिमालेख ।

प्रतिक्रिया दिनुहोस्