कांग्रेस महाधिवेशन : पौडेल समूहमा तेब्बरभन्दा धेरै आकांक्षी, साझा उम्मेदवार बनाउने कोसिस


काठमाडौँ — १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसको संस्थापनइत्तर पक्षमा साझा उम्मेदवार बनाउने कोसिसमा जुटेको छ । यो समूहमा पदाधिकारीको संख्याभन्दा तेब्बर आकांक्षी अहिले नै देखिइसकेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले पटक-पटकको छलफलपछि वडा अधिवेशनको सम्मुखमा मंगलबार बसेको बैठकबाट सकेसम्म वडा अधिवेशनभन्दा अगावै सभापतिको उम्मेदवार छानेर कार्यकर्तामाझ नाम प्रस्ताव गर्ने, नभए टिमबाट एक जनामात्रै उम्मेदवार बन्छौँ भन्ने सामूहिक प्रतिबद्धता जनाएका थिए ।

मंगलबारको बैठकमा नेताहरूले सभापतिमात्रै होइन, टिमबाट पदाधिकारीकै उम्मेदवारको नाम टुंगो लगाएर प्रस्ताव गर्नुपर्ने कुरा उठाए । साझा उम्मेदवार चयन गर्ने विषयमै नेताहरू बुधबार पनि छलफलमा जुटेका छन् । तर, त्यो काम त्यत्ति सजिलो भने छैन । शीर्ष नेताहरू टिमबाट साझा र एउटामात्रै प्यानल घोषणा गर्नुपर्ने भन्दै गृहकार्यमा जुटेका बेला समूहभित्र आकांक्षीको संख्या भने बढिरहेको छ ।

केन्द्रीय पदाधिकारीमा पदभन्दा तेब्बर बढी आकांक्षी त खुलिसकेका छन् । धमाधम उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । सबै आकांक्षीहरू साझा प्यानल बनाउनुपर्नेमा एकमत छन् । त्यस्तो प्यानलमा आफू समेटिनुपर्ने उनीहरूको दाबी छ । अनुकूल नभए कोही कसैका लागि छोड्न तयार देखिँदैनन् । सबै आकांक्षीलाई सम्बोधन गरेर साझा प्यानल घोषणा गर्न पौडेल समूहका लागि ‘फलामको चिउरा’ बन्ने निश्चित छ ।

कांग्रेसको आसन्न महाधिवेशनमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्रीमा आठ वटा समावेशी समूहबाट एक–एक गरी आठ जना निर्वाचित हुने वैधानिक व्यवस्था छ । यसरी निर्वाचित पदाधिकारीको संख्या जम्मा १३ जनामात्रै हो । समावेशी समूहमा सम्बन्धित समावेशी समूहबाट मात्रै उम्मेदवार बन्न पाइन्छ । खुला प्रतिस्पर्धा गर्न मिल्ने पदाधिकारीको संख्या पाँच जनामात्रै हो । सभापतिसहित पदाधिकारीमा अहिले पनि पहिलो पुस्ताकै नेताहरूको आकांक्षा हाबी छ । तर, दोस्रो पुस्ता र नयाँ पुस्ताका नेताहरूले पनि त्यही पदमा उम्मेदवारी दिने दाबी गरिरहेका छन् ।

पाँच दशकभन्दा धेरै समय पार्टीको नेतृत्व गरेको इतिहास बोकेको पौडेल समूहबाट पौडेलसँगै कोइराला परिवारबाट महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइराला तथा गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह सभापतिका आकांक्षी छन् । पौडेल समूहबाटै नयाँ पुस्ताका नेता कल्याण गुरुङले पनि बुधबार सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र रामशरण महत टिमबाट साझा उम्मेदवार नबने आफूहरू पनि सभापतिमै उम्मेदवारी दिने भन्दै दबाब दिइरहेका छन् ।

समूहबाट एक जनामात्रै सभापतिको उम्मेदवार बनाउनुपर्छ भन्ने गृहकार्यमा जुटेका नेता बलबहादुर केसी भन्छन्, ‘पार्टीको नेतृत्व टिममा फर्काउनुपर्ने अवस्था छ । गएको पाँच वर्षमा पार्टीले कुन दुर्गति भोग्यो, त्यो सबैलाई थाह छ । त्यसैले हामीसँग एकताको विकल्प छैन ।’ नेता केसीले त सकेसम्म वडा अधिवेशनभन्दा अगाडि नै नामसहितको प्रस्तावित टिमकै घोषणा गर्ने, यदि त्यो सम्भव भएन भने पनि कम्तीमा टिमका सबै नेताहरूले एकताबद्ध भएर भाग लिन्छौँ भन्ने सार्वजनिक रुपमा प्रतिबद्धता जनाउने भन्ने सहमति भएको समेत बताए ।

‘अहिलेसम्म हामी टिमबाट सभापतिको मात्रै उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्दै आएका थियौँ । अब सिंगो पदाधिकारीकै टुंगो लगाएर वडा अधिवेशनअघि नै नाम प्रस्ताव गर्नुपर्छ भनेर छलफलमा छौँ,’ नेता केसीले थपे । केसीले भनेझैँ सभापति देउवालाई जित्ने गरी उम्मेदवारी दिनुपर्ने दबाब पौडेल समूहलाई छ । त्यसबारे सबै नेता सतर्क छन् । तर, समूहका तर्फबाट सभापतिमै कसलाई उम्मेदवार बनाउने भन्ने तहमा नेताहरूबीच छलफल भइसकेको छैन ।

१३ औँ महाधिवेशनमै देउवासँग पराजित भइसकेका वरिष्ठ नेता पौडेल फेरि आफैं सभापतिको उम्मेदवार बन्न कस्सिएका छन् । अघिल्लो महाधिवेशनमा पराजित भएकाले आफू स्वाभाविक उम्मेदवार भएको उनको दाबी छ । तर, नयाँ पुस्ताका कतिपय नेताहरू भने अब पौडेलले सम्मानजनक रुपमा नेतृत्वबाट बिदा हुनुपर्ने र दोस्रो पुस्तालाई नेतृत्वमा राखेर पदाधिकारी तहमा नयाँ पुस्ताले अवसर पाउनुपर्ने दाबी गरिरहेका छन् ।

पौडेलले सम्मानजनक विश्राम र केन्द्रीय सदस्यबाट सिधै सभापतिको उम्मेदवारी तयार गरिरहेका शेखर कोइरालाले एक पटक पदाधिकारीमै चुनाव लड्नुपर्ने दोस्रो पुस्ताका नेताहरूको जोडबल छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह आफूले १३ औँ महाधिवेशनमा पनि अरुका लागि त्याग गरेको र अब सभापतिका लागि आफू स्वाभाविक उम्मेदवार भएको दाबी गरिरहेका छन् ।

महामन्त्री शशांक कोइराला त झन् आफू नभए अरु कसैले पनि सभापतिमा देउवालाई हराउन नसक्ने दाबी गर्दै आएका छन् । बैठकमा सुजाता र कल्याणको उम्मेदवारीका विषयमा खासै छलफल भएको छैन । बरु नेता कृष्णप्रसाद सिटौला समेतलाई समेटेर जानुपर्ने विषय उठेको छ । ‘रामचन्द्र दाई टेष्टेड हो, उहाँले सम्मानजनक विश्राम लिनुपर्छ भन्ने हो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘त्यसपछि दोस्रो पुस्ताबाट सभापतिको उम्मेदवार चयन गर्न सकिन्छ । अनि नयाँ पुस्ताका नेताहरूलाई पदाधिकारीमा समेटेर टिम बनाउन सहज हुन्छ ।’

पौडेल समूहमा पुनः खानदानकै नेताहरूलाई उम्मेदवार बनाउने वा अन्य ? लाई भन्ने बहससमेत चलेको छ । विरासतको प्रतिनिधित्व गर्ने नेतालाई उम्मेदवार नबनाए पुनः हार बेहोरिने कतिपय नेताको तर्क छ ।

पदाधिकारीमा पनि आकांक्षीको लाम

सभापतिकै जस्तै पदाधिकारीमा पनि आकांक्षीको लाम छ । पदाधिकारीमा झन् तेब्बरभन्दा धेरै आकांक्षी छन् । पटक-पटक केन्द्रीय सदस्य भइसकेका नेताहरू सभापतिको उम्मेदवार तय भएपछि आफू उपसभापति वा महामन्त्रीमा उम्मेदवार बन्ने दाउ कसेर बसेका छन् । कतिपयले घोषणासमेत गरिसकेका छन् ।

पौडेल समूहमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका गगन थापालाई समेट्नुपर्ने दबाब छ । थापा आफैँ पनि पौडेल समूहले एकमात्रै सभापतिको उम्मेदवार चयन गरेको अवस्थामा त्यही टिमबाट महामन्त्रीको उम्मेदवार बन्ने दौडमा छन् । ‘उहाँले अहिले कसको टिमबाट उम्मेदवार बन्ने भन्ने निर्क्योल गर्नुभएको छैन ।

तर, संस्थापनइतर समूहबाट एक जनामात्रै सभापतिको उम्मेदवार बनेको अवस्थामा त्यही टिमबाट उहाँ महामन्त्रीको उम्मेदवार बन्नुहुन्छ,’ उनी निकट एक नेताले भने । स्रोतका अनुसार थापाले नेताहरूसँग सल्लाह गरेरै उम्मेदवारी घोषणा गरेका हुन् । थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको उमेर समूहका एक दर्जनभन्दा धेरै नेताहरू पदाधिकारीका आकांक्षी छन् । दोस्रो पुस्ताका दर्जनौँ नेता पदाधिकारीकै आकांक्षी छन् ।

पहिल्यै सहमहामन्त्री भइसकेका अर्जुननरसिंह केसी र रामशरण महत पनि पदाधिकारीमा अटाउन चाहन्छन् । केन्द्रीय सदस्यहरू बलबहादुर केसी, महेश आचार्य, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु र दिपक गिरीलगायत दोस्रो पुस्ताका नेताहरू पदाधिकारीका आकांक्षी छन् । नयाँ पुस्ता अर्थात् गगन थापा पुस्ताका चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, जीवन परियार, सरिता प्रसाईंलगायत पनि पदाधिकारीकै आकांक्षी छन् । अहिले केन्द्रीय सदस्य नै नबनेका विद्यार्थी र तरुण नेताहरू पनि पदाधिकारीका आकांक्षी छन् । तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आफूले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरे यो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण दुवै हुनुपर्ने बताउँछन् । ‘समयमै महाधिवेशन नहुने अभ्यास हुँदै आयो । फेरि नेतृत्व हस्तान्तरण हुन सकेन । त्यहीकारण पार्टीमा नेताहरूको एउटै तहले वर्षौंसम्म नेतृत्व गरिरहने चलन भयो,’ घिमिरे भन्छन्, ‘अब यो महाधिवेशनबाट हामी नेतृत्व हस्तान्तरण र पुस्तान्तरण दुवै चाहन्छौँ ।’ उनले टिमबाट एउटा साझा प्यानल घोषणा हुनेमा विश्वास व्यक्त गरे । भने, ‘हामी सभापतिसहित सबै पदाधिकारीमा साझा उम्मेदवार बनाउँछौं । त्यो साझामात्रै होइन, पार्टीभित्र लोकप्रिय टिम पनि हुनेछ, सकेसम्म सबैलाई समेटेर जानुपर्छ भन्ने हो, नभए उम्मेदवारीको विषय स्वेच्छिक हो । कसले कसलाई छेक्न सक्छ र !’

महाधिवेशनमा उम्मेदवारी चयनका बारेमा पौडेल समूहमा रसाकस्सी चलिरहेका बेला सभापति शेरबहादुर देउवाले भने खासै कसरत गरेका छैनन् । तर, यसपटक भने पदको भागबन्डामा देउवा टिममा पनि समस्या छ । उपसभापति विमलेन्द्र निधिले यसपटक आफूलाई सभापति पदमा नसघाए आफूले अलग्गै टिम बनाएर चुनाव लड्ने भन्दै सभापतिमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन् ।

१४ औँ महाधिवेशनअन्तर्गत शुक्रबारबाट वडा तहको अधिवेशन सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लामा निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतहरू पठाइसकेको छ । गाउँ/नगरपालिकाको अधिवेशन हुने मिति अर्थात् २७ भदौभित्र वडा तहको अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको समितिले जनाएको छ ।

त्यसपछि १ असोजमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, ५ असोजमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र १० असोजमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । त्यस्तै, १०, ११ र १२ कार्तिकमा प्रदेश अधिवेशन हुनेछ । आगामी मंसिर ९-१३ मा काठमाडौँमा केन्द्रीय महाधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्