अघिल्लो सरकारले वृद्धि गरेको भत्तालाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । अघिल्लो सरकारले गत आर्थिक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएका थिए । सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संसोधन गर्दै प्रतिस्थापन विधेयकको तयारी गरेका छन् । त्यसमा सामाजिक सुरक्षा भत्ता भने नचलाइने निश्चित भएको छ ।

बजेटले वृद्धि गरेको भत्ता साउन महिनाबाटै लागू हुने छ । प्रत्येक चार महिनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीहरुले बढेको रकममा चार महिनाको भत्ता एकमुष्ठ पाउनेछन् ।

सहसचिव श्रेष्ठको सचिवमा बढुवा, अर्याल र वली बने सहसचिव 

सरकारले सहसचिव राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले बढुवा समितिबाट सिफारिस भएर आएका तीन सहसचिवमध्ये श्रेष्ठको बढुवा गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव श्रेष्ठसहित रवीलाल पन्थ र रामेश्वर दंगालको नाम सिफारिस गरेको थियो । श्रेष्ठ हाल निर्वाचन आयोगको प्रवक्ताको समेत जिम्मेवारीमा छन् ।

मन्त्रीपपरिषद् बैठकले नेपाल परराष्ट्र सेवाका दुई उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ । बढुवा हुनेमा उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर वली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्