मुख्यमन्त्री बन्न पाण्डे र बानियाँको दौडधूप


हेटौंडा : पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने पक्का भएपछि बागमती प्रदेशमा मुख्यमन्त्री बन्न नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले दौडधूप तिब्र पारेका छन्।

पाण्डेले सार्वजनिक रुपमै आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका छन्। बानियाँ भने बाहिर बोल्दा गठबन्धनमा असर पर्न सक्ने भएकाले भित्रभित्रै मुख्यमन्त्री बन्ने लबिङमा छन्।

स्रोतका अनुसार बानियाँले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन्। भन्नुपर्ने ठाउँमा भनसुन गरिसकेर बानियाँ बुधबार काठमाडाैंबाट प्रदेश राजधानी एवं गृहनगर हेटौंडा झरेका छन्।

बागमती प्रदेशसभामा केन्द्रीय सत्तारुढ घटक जनता समाजवादीको सांसद छैनन्। प्रमुख तीन घटक कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी मिल्दा सरकार गठनका लागि स्पष्ट बहुमत पुग्छ। माओवादी केन्द्रले हालै लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाइसकेको छ भने सुदुरपश्चिम र कर्णाली प्रदेशमा पनि उसकै मुख्यमन्त्री भएकाले थप दाबी गर्ने अवस्था छैन।

कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्री पाइसकेको छ। अब कांग्रेसले बागमतीको मुख्यमन्त्री लिएर प्रदेश एकमा बन्ने नयाँ सरकारको नेतृत्व भने नेकपा समाजवादीलाई दिनेगरी केन्द्रमा चर्चा सुरु भएको छ।

तर यसअघि आफू मुख्यमन्त्री हुनेगरी नै प्रदेशसभामा चुनाव लडेको बताउने नेकपा समाजवादीका नेता पाण्डेले कुनै हालतमा बागमतीको मुख्यमन्त्री पद नछाड्न नेतृत्वलाई दबाब दिइरहेका छन्।

मंगलबार प्रदेश निर्वाचन कार्यालयमा आफूलाई नयाँ दल नेकपा समाजवादीमा सनाखत गराएपछि पाण्डेले गठबन्धनबाट मुख्यमन्त्री बन्न पार्टीले आफूलाई अघि सारेको बताएका थिए।

नेकपा समाजवादीका प्रदेशसभा सदस्य माधव पौडेलले गठबन्धन बागमती प्रदेशको मात्रै नभएर देशभरी नै भएको भन्दै आफूहरुको भागमा बागमती प्रदेशको मुख्यमन्त्री आउने दाबी गरे। उनले बागमती प्रदेशमा आफ्नो भागमा मुख्यमन्त्री पर्ने भएरै राजेन्द्र पाण्डेले प्रदेशमा चौथो दल भएपनि सरकारको नेतृत्वमा दाबी गरेको बताए।

प्रदेश सरकार गठन हुँदा नै मुख्यमन्त्रीका दाबेदार रहेका पाण्डे हालको मुख्यमन्त्री शाक्य अघि सरेपछि पछि हटेका थिए। तर त्यतिबेला शाक्यलाई संसदीय दलकाे नेतामा डोरमणि पौडेलले पराजित गर्दै मुख्यमन्त्री बनेका थिए।

एमाले फुटको संघारमा पुग्दा संस्थापन पक्षमै रहेपछि शाक्यलाई पौडेलकै प्रस्तावमा संसदीय दलको नेता हुँदै मुख्यमन्त्री नियुक्त गरिएको थियो। -थाहा खबर बाट

प्रतिक्रिया दिनुहोस्