प्रशिक्षक अल–मुताइरी भन्छन्– गोर्खालीले डटेर लड्ने हो


काठमाडौं : करिब ५ महिनापछि दशरथ रंगशालामा फेरि फुटबल भारतविरुद्ध उत्रिँदा नेपालको ध्याउन्न यसअघिका सबै हार बिर्सेर इतिहास रच्ने हुनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले भारतीय टिम बलियो भए पनि आफूहरू वीर गोर्खाली भएकाले डटेर सामना गर्ने बताएका छन्।

१३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल अघिको मैत्रीपूर्ण खेलमा भारतसँग नेपालले बिहीबार साँझ प्रतिस्पर्धा गर्दैछ। अहिलेसम्म भएका १९ खेलमा नेपाल जम्मा २ वटामा मात्र विजयी भएको हुँदा अर्को जित थप्न नेपाल हौसिएको छ।

अहिलेसम्म भारतले १३ खेलमा जित्दा ४ खेल बराबरीमा सकिएका छन्। भारतले नेपालको पोस्टमा ३३ गोल गर्दा नेपालले भने भारतीय पोस्टमा जम्मा ९ गोल मात्र गर्न सकेको छ। पछिल्लो पटक ६ जुन २०१७ मा नेपाल–भारत प्रतिस्पर्धा भएको थियो।

मुम्बईमा भएको खेलमा भारत २–० ले विजयी भएको थियो। दुई टिमबीच दशरथ रंगशालामा सन् २०१५ मा विश्वकप छनोटको दोस्रो लेगको प्रतिस्पर्धा भएको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यत्तिमात्र नभएर सन् २०१३ मा नेपालले आफ्नै भूमिमा आयोजना गरेको साफ च्याम्पियनसिपको समूह चरणमा भारतलाई २–१ ले हराएको थियो।

दक्षिण एसियाली देशहरूको फुटबलमा सबैभन्दा ठूलो प्रतिस्पर्धा साफ च्याम्पियनसिपको तयारीमा रहेको अल–मुताइरीद्वारा प्रशिक्षित नेपाली टोलीले आजको खेललाई एक महिनापछि माल्दिभ्समा हुने १३ओं साफको अभ्यासको रूपमा लिएको छ।

सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिपपछि भएका १२ संस्करणमा नेपाल उपाधीविहीन मात्र होइन फाइनलमा समेत पुग्न सकेको छैन।

७ पटक उपाधी जितेको भारत ७ राष्ट्रमध्ये सबैभन्दा उच्च मनोबलका साथ मैदानमा उत्रने छ। नेपाल यसपटक पनि उपाधी जित्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रनेछ। साफको तयारीका लागि कतार जानुअघि चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई घरेलु भूमिमा निराश बनाएर मनोबल बढाउने योजनामा छ नेपाल।

बिहीबारपछि आगामी आइतबार पनि दशरथ रंगशालामा नेपालले भारतसँग खेल्नेछ। भारतीय टिमका कप्तान सुनील क्षेत्रीले मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको तयारीको रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

उनले नेपाललाई बलियो टिमको संज्ञा दिँदै नेपालसँग खेल्न सधैं कठिन हुने बताए। पूर्वी नेपालको झापा मामाघर भएका क्षेत्री नेपाली फुटबलप्रेमीमाझ लोकप्रिय छन्।

कठिन भए पनि गोर्खालीले डटेर लड्ने : प्रशिक्षक अल–मुताइरी

​नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल–मुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन्। सोल्टी होटलमा बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा उनले भारतविरुद्ध बराबरीका लागि नभई नेपाली टिमले जित्नका लागि खेल्ने दृढता व्यक्त गरे।

फिफा वरीयतामा भारत नेपालभन्दा माथि छ। भारत १ सय ५ औं स्थानमा छ भने नेपाल १ सय ६८ औं स्थानमा छ। खेलमा टोलीको वरीयताले असर नपर्ने दाबी प्रशिक्षक अल–मुताइरी दाबी गर्छन्। ‘वरीयताले टिमको हारजितमा असर गर्दैन,’ उनले भने, ’इतिहास हैन, भविष्य ध्यानमा राखेर खेल्नेछौं।’

उनले भारतीय टिम बलियो भए पनि आफूहरू वीर गोर्खाली भएकाले डटेर सामना गर्ने बताए। ‘उनीहरू बलिया छन् तर हामी साँचो गोर्खाली हौं,’ उनले भने, ‘भारतविरुद्ध नयाँ खेलाडीले मौका पाउने छन्।’

नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतविरुद्धका दुवै खेल कठिन हुने भएपनि सुखद नतिजाको अपेक्षामा आफूहरू हुने बताए। प्रि–म्याच कन्फरेन्समा उनले भारतविरुद्धको खेललाई सहज रूपमा लिन नहुने बताए।

भारतसँगको खेल कहिल्यै नजितेका किरणले घरेलु मैदानमा खेल हुने भएकाले कठिन भएपनि आफ्ना र देशका लागि ऐतिहासिक अवसर हुने बताए। उनले योे खेल नेपालका लागि आफ्ना कमजोरी पत्ता लगाउने अवसर हुनेसमेत बताए।

यसका लागि नेपाली टोलीले २ महिनादेखि प्रशिक्षण गरिरहेको छ। उता, भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्ध खेलका लागि टोली तयार भएको बताएका छन्। उनले नेपाललाई भारतले हराउँदै आए पनि यस पटक सहज नहुने स्पष्ट पारे। भारतीय कप्तान सुनील क्षेत्रीले पनि प्रि–म्याच कन्फरेन्समा आफू नेपालविरुद्ध खेल्न पाउँदा हौसिएको बताएका छन्।

दर्शकले पनि खेल प्रत्यक्ष हेर्न पाउने

कोरोना कहरका कारण प्रत्यक्ष फुटबल हेर्न वञ्चित भएका दर्शकले नेपाल–भारत मैत्रीपूर्ण खेल भने दशरथ रंगशालामै गएर हेर्न पाउने भएका छन्।

सरकारले दर्शकलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै हेर्न अनुमति दिएको हो। सरकारले ५ हजार १ सय दर्शकलाई खेल हेर्न अनुमति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

फुटबल हेर्न आउने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रमाण देखाउनु पर्नेछ। टिकट प्रभु पेबाट किन्न सकिनेछ।

सम्भावित प्लेइङ सेट

गोलरक्षक : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथू
रक्षापंक्ति : सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द
मध्यपंक्ति : सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान
फरवार्ड ः मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

भारतीय टोली

गोलरक्षक : अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सन्धु
रक्षापंक्ति : प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभाशिष बोस, सेरिटन फर्नान्डेज
मध्यपंक्ति : ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर
फरवार्ड : मनवीर सिंह, रहीम अली, सुनील क्षेत्री, फारूख चौधरी

प्रतिक्रिया दिनुहोस्