एक सातामै अल्पमतमा पर्‍यो भीम आचार्य नेतृत्वको सरकार, तीन साताभित्र ढलिसक्ने


विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार गठन भएको एक सातामै अल्पमतमा परेको छ ।

नेकपा (एमाले) विभाजन भई दल रोज्न उपलब्ध गराइएको समयसीमाअगावै प्रदेशका १० सांसद नेकपा (एकीकृत समाजवादी)तर्फ खुलेपछि प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार १० सांसदले नेकपा (एस) रोज्दै प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गरेका छन् । कुल ५१ मध्ये १० जना सांसद नेकपा (एस)तिर लागेपछि अब एमालेमा ४१ सांसद छन् । बहुमत पुर्‍याउन ४७ जना सांसद चाहिन्छ ।

यही भदौ १० गते शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । सोही दिन आचार्य संसदीय दलको नेता चुनिए । लगत्तै उनको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । आफ्नो मन्त्रिमण्डलमा नेपाल समूह छाडेर साथ दिन आएका लक्षुमन तिवारीलाई उद्योग, पर्यटन वन तथा वातारण र बलबहादुर साम्सोहाङलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र राईले दल रोज्ने समय अझै बाँकी रहेकोले त्यो समय पूरा भएपछि मात्र नयाँ सरकार गठनको नयाँ प्रक्रिया थालनी हुने बताए । “दल रोज्ने अथवा भएकै दलमा रहने समय अझै बाँकी छ,” राईले सनाखतपछि पत्रकारहरूसँग भने, “यो समय पूरा भएपछि गठबन्धनको सरसल्लाहानुसार नै सरकार गठनको प्रक्रिया सुरु गर्नेछौँ ।”

सरकार अल्पमतमा परेको मुख्यमन्त्री आचार्यलाई पनि थाहा भइसकेकाले नैतिकताको आधारमा राजीनामा दिने भन्नेमा आफूहरू विश्वस्त रहेको उनले सुनाए ।

गठबन्धनको सरकार अरू प्रदेशमा पनि बन्दै गएको र माधवकुमार नेपाल समूहको नेतृत्वमा सरकार कतै पनि नबनेकोले प्रदेश–१ मा आफूहरूले बनाउने जिकिर राईले गरे । थप सांसदहरू नेकपा (एस)मा आउने आफूहरूको अपेक्षा रहेको सांसद सुनाउँदै सांसद राईले भने, “लामो संघर्ष गरेर बनाएको पार्टीमा केपी ओलीले भन्दा धेरै लामो योगदान दिएको साथीहरू हुनुहुन्छ । सजिलो गरी पार्टी बनेको थिएन । हामीले पनि उत्तिकै दुःख गरेका थियौँ । पार्टी विभाजनले हामीलाई प्रिय छैन । एमालेबाट जबर्जस्ती केपी ओलीले निकालेकोले यो हाम्रो बाध्यता हो ।” चुनावसम्म पनि सहमतिपूर्ण रूपमा अगाडि बढ्नुपर्ने भन्ने आफूहरूको प्रस्ट मान्यता रहेको सांसद राईले बताए ।

बुधबार सुरुमा नेकपा (एस)का साता सांसदले निर्वाचन कार्यालयमा सनाखत गरेका थिए । दुईजना आउन विलम्ब भएपछि राजेन्द्रले उनीहरूलाई पर्खिएर बसे । सांसदहरू राजन राई, खिनुलङ्वा लिम्बू, गणेश काम्वाङ, सरिता थापा, सुनीताकुमारी चौधरी, सावित्राकुमारी रेग्मी र पदमकुमार गुरुङ विराटनरस्थित निर्वाचन कार्यालयमा पुगेर सनाखत गरे । कृष्णकुमारी राई र उपेन्द्र घिमिरे भने करिब दुई घण्टापछि मात्र निर्वाचन कार्यालय पुगे । सांसद राईले उपेन्द्र र कृष्णकुमारी निर्वाचन कार्यालय आएपछि सँगै सनाखत गरे ।

मूल पार्टी छाडेर अर्को नयाँ दल गठन गरी जानुपर्दा स्वाभाविक रूपमा दुःख लागेको सांसद सावित्राकुमारीले बताइन् । उनले भनिन्, “जबर्जस्त रूपमा पार्टीभित्र गरिएका विभेदपूर्ण क्रियाकलापका कारण नयाँ पार्टी गठन गर्नुपरेको हो ।” समयले अहिलेको परिस्थिति सिर्जना भएको उनले सुनाइन् ।

प्रदेश–१ मा अब मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार बढीमा तीन सातासम्म रहनेछ । एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने भएकोले अल्पमतमा परेको सरकार ढल्ने निश्चित देखिएको छ । नयाँ सरकार गठन गर्न गठबन्धनबाट नेपाली कांग्रेसका २१, नेकपा (एकीकृत समाजवादी)का १०, नेकपा (माओवादी केन्द्र)का १५ र जनता समाजवादी पार्टी (जसपा)का तीन सांसद छन् ।

प्रदेशसभामा हाल कायम रहेको ९२ सांसदमध्ये एमालेकी गुलेफुन खातुन फौजदारी कसुरमा अदालतबाट सजाय भएपछि लुकीछिपी हिँड्ने गरेकी छन् । माओवादीका टंक आङ्बुहाङ एमालेतिर गएपछि एक पद खाली छ ।

संसद् ‘फेस’ गर्छु, राजीनामा दिन्नँ : मुख्यमन्त्री आचार्य
मुख्यमन्त्री भीम आचार्यले आफू पार्टी एकता बचाउनको लागि मुख्यमन्त्री बनेको भन्दै राजीनामा नदिने बताएका छन् । आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै आचार्यले संविधानतः विश्वासको मत लिनुपर्ने व्यवस्थाको सम्मान गर्दै संसद् ‘फेस’ गर्ने बताएका हुन ।

उनले यसअघि भने प्रदेश सरकारले सञ्चालन गर्ने जनतासँग मुख्यमन्त्री टेलिभिजन कार्यक्रममा इच्छा नहुँदा नहुँदै मुख्यमन्त्री बनेको बताएका थिए । संसद्ले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने भन्दै उनले आफू काम गर्ने मान्छे भएको र काम गर्नै आएको बताए । उनले भने, “साथीहरूले विश्वासको मत दिनुहुनेछ भन्नेमा म विश्वस्त छु ।” आफू अप्ठेरो अवस्थामा रहेको पहिल्यै बुझेको भन्दै उनले राजनीनिक परिस्थिति अझ धेरै बिग्रिएर गएको सुनाए ।

यसअघि, आचार्यलाई नेकपा (माओवादी केन्द्र) र कांग्रेससहितका विपक्षी दलले मुख्यमन्त्रीमा प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, पछि उनले एमाले रोजेर उतै गएपछि उनको पक्षका सांसहरू समेत विभाजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्