नेतृत्व, नेपाली अनि नेपाल


भारत बसाइको क्रममा विभिन्न मुलुकका विद्यार्थीहरूसँग संगत गर्ने अवसर मिलेको थियो । भुटानका राजाको जन्मदिनमा भुटानका विद्यार्थीहरूले त्यहीं सानो कार्यक्रम सम्पन्न गरे । अफगानिस्तानी दूतावासबाट पटक–पटक अफगानी कर्मचारी आफ्नो मुलुकका विद्यार्थीलाई भेट्न आउँथे र केही समस्या पर्दासमेत आउने गर्थे । नरेन्द्र मोदीको पार्टीलाई समर्थन गर्ने होस् या नगर्ने होस्, भारतीयहरू पनि आफ्नो प्रधानमन्त्रीप्रति गर्व गर्थे र सम्मान गर्थे, युगान्डाको स्वतन्त्रता दिवसका दिन आफ्नो मुलुकप्रति गर्व गर्दै विभिन्न कार्यक्रम आयोजना गर्थे । तर, हामी नेपालीहरू भने न लोकतन्त्र दिवस मनाउँथ्यौं, न कुनै नेतृत्वलाई सम्मान नै गर्ने गथ्र्याैं । नेपाल र भारतबीचको फुटबल प्रतियोगिताको समयबाहेक हामी नेपाल वा नेपाली नेतृत्वप्रति एकीकृत कहिल्यै भएनौं ।
हाम्रो वास्तविकता त्यही नै हो । गणतन्त्रपश्चात् नेपालले के पायो, त्यो मूल्यांकन हुँदै होला, तर आमजनताको मस्तिष्कबाट राष्ट्रप्रेम, त्यो गर्व, नेतृत्वलाई सम्मान चैं गुमाएकै हो । आज आमजनतालाई कुनै उच्च पदप्रति सम्मान छैन । फेसबुकमा नेतृत्वलाई खुलेआम गाली गरेको देखिन्छ, आक्रोश देखिन्छ, लाइकभन्दा बढी हाँसेको र रिसाएको रियाक्सन बढी देखिन्छ । हिजोजस्तो आदर्श नेतृत्व नेपालमा छ-छैन, त्यो थाहा छैन, तर यहाँ विश्वास कसैले कसैलाई गर्दैन । हिजोसम्म चप्पल लगाएर हिँड्ने आज करोडौंको गाडीमा हिँड्ने भएका छन्, हिजो झुप्रोमा बस्ने, डेरा गरी बस्ने आज ठूलो महलमा लाखौँको खाटमा सुत्ने भएका छन्, जसलाई आमजनताले प्रत्यक्ष देखेका पनि छन् । आज नेतृत्वको प्राथमिकतामा देश र जनताभन्दा पनि सत्ता, कुर्सी र पद भएको प्रत्यक्ष महसुस हुन थालेको छ ।
विदेशमा रोजगारी खोज्दै जाने जमात होस् या गरिबी सहेर देशमै रहेका जमातहरू होस्– नेतृत्वको ध्यान त्यता कतै देखिँदैन । स्पष्ट देखिन्छ, निर्माणसम्बन्धी काम कुन गतिमा र कुन गुणस्तरमा बनिरहेको छ भनेर । आज राजनीति कमाइ खाने भाँडोसरह भएको छ । अन्य मुलुकमा झैँ यहाँ शिक्षित नेतृत्व छैनन्, हिजो जसले बन्दुक समात्यो, मान्छे मा¥यो– आज ऊ शक्तिशाली छ । हामी अफगानिस्तानको अहिलेको अवस्थाप्रति चिन्ता गर्दै गर्दा, हामी त्यही अवस्थामा रहेको बिर्सिन थालेको छौं ।
नेतृत्वमा हुनुपर्ने गुणको अभावकै कारण आज यो अवस्था आएको हुनुपर्छ । तर, दोस्रो कारण जनता पनि नेतृत्व कस्तो हुनुपर्छ भनी नबुझेर यस्तो अवस्था आएको हो— यहाँ जुन जोगी आए पनि कानै चिरेका झैँ देखिन्छ । दोष कसको ? हिजो आफ्नो सम्पूर्ण अवसर गुमाएर देश परिवर्तन गर्छु भन्नेहरूले यसरी सत्ता र पैसाको मोहमा फस्छु भनी अवश्य सोचेका थिएनन् होला । उनीहरूको दृष्टिकोण त सत्तामा प्रवेश गरेपश्चात् परिवर्तन भएको स्पष्ट तथ्यांकले जनाउँछ । आज राष्ट्रको झन्डाभन्दा पार्टीगत झन्डा ठूलो भएको देखिन्छ— भ्रष्टाचार, अपराधले लिप्त समाजमा नेपालीहरू बाँच्न सिकिसकेको देखिन्छ । राजनीतिक पहुँचका आधारमा काम हुन थालेको छ ।
हुन त विकासोन्मुख मुलुकमा यो सामान्य नै हो । पञ्चवर्षीय योजनामा गरिबी रेखा ९.५ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय ९५ अमेरिकी डलर, शिक्षित दर ९५ प्रतिशतजस्ता आकर्षक तथ्यांक देखाए पनि यसको प्राप्तिको कुनै ठोस मार्गचित्र छैन । दुईतिहाइको बहुमत प्राप्त हुँदाहुँदै पनि सत्ताच्युत हुने अवस्था आउनुको अर्थ— नेपालमा स्थायी सरकार अब सपनामात्र हो भन्ने बुझिन्छ । अर्थतन्त्रप्रति कसैको चासो छैन । अझै पनि नयाँ उद्यमी— टुटल, पठाओहरू राजनीतिक कारणले संघर्ष नै गरिरहनुपर्ने अवस्था छ । बिचौलियाहरूको बिगबिगी जताततै छ । भूगोलअनुसार आर्थिक एकरूपता देखिँदैन– त्यही खाना पकाउने ग्यासको मूल्य सहरी क्षेत्रभन्दा निकै महँगोमा दुर्गम क्षेत्रमा बिक्री हुने गरेको पाइन्छ ।
नेपालको भविष्य भनिएको युवा जमात खाडीमा वा शिक्षाको नाममा अर्धपलायन भइसकेका युवा अमेरिका, अस्ट्रेलिया आफ्नो उद्देश्य बनाउन थालिसकेको अवस्था छ । बेरोजगारी त समस्या छँदै छ, रोजगारलाई पनि शनिबार खानामा एउटा थप तरकारी खान हम्मेहम्मे परेको अवस्था छ— महँगीले आफ्नो उत्कर्ष नाघिसकेको देखिन्छ, तलबमा रमाउनेलाई उक्त तलबले नपुग्ने अवस्था आइसकेको देखिन्छ ।
यद्यपि हामी सकारात्मक भएर रमाउन थालिसकेको बुझिन्छ । हामीलाई यहाँ गुनासो त्यही नेतृत्वप्रति होला, तर आफूले कमाउने ठूलो भाग सरकारलाई कर भनी तिरिरहे तापनि आगामी दिन सुनौलो हुने विश्वास हामीमा छ । अन्य कुराले हामीलाई गौरव गराउला-नगराउला, तर सगरमाथा हाम्रो हो, बुद्ध भूमि नेपाल हो, अनि सीता नेपालकी चेली हो भन्ने आडमा हामी बाँचिरहेका छौं, अनि सायद यसैगरी बाँचिरहन्छौं ।

प्रतिक्रिया दिनुहोस्