सभामुख राजनीतिको राजमार्गबाट हिँडेनन्, कान्ला–कान्ला र भीरबाट हिँडे : केपी ओली


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई ‘कुबाटो’मा हिँडाउन खोजेको आरोप लगाएका छन् ।

नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिडी कान्ला–कान्ला र भीरबाट हिँडेको बताएका हुन् ।

उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिँड्न छाडेको बताए । उनले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि उल्लेख गरे । उनले भने, ‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । बाटाबाट हिँड्न मान्दैनन् । कान्ला कान्ला, भिर भिर कुद्छन् । निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ बसेपछि त जे गर्दापनि हुन्छ । त्यही भइरहेको छ । हामी ति कुराहरुलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौँ । चिन्ता लोकतन्त्रको भविष्य प्रति गरिरहेका छौँ । किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ ।’

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने दावी गरे ।
उनले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि सो क्रममा बताए ।

प्रतिक्रिया दिनुहोस्