बागमतीमा केन्द्रकै समीकरण अनुसारको सत्ता गठबन्धन बन्ने


काठमाडौं– नेपाली कांग्रेसले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा मागेको छ। शाक्यले प्रदेश सभामा बहुमत गुमाएपछि विपक्षी दल कांग्रेसले उनको राजीनामा मागेको हो।

सत्तारुढ दल नेकपा एमालेका १२ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यको बहुमत गुमेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले बहुमत गुमेपछि नैतिकताको आधारमा शाक्यले राजीनामा दिनुपर्ने बताए।

बहुमत गुमेपछि शाक्यले एक महिना भित्रमा विश्वासको मत लिनुपर्दछ। बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ। उनको पक्षमा ४४ एमाले सांसद छन्।

उक्त संख्यामा साना दल समावेश भएपनि बहुमत पुग्ने देखिँदैन। शाक्यको पक्षमा एमालेका उनलाई विश्वासको मत प्राप्त हुने सम्भावना छैन।

‘उहाँ (शाक्य) ले विश्वासको मत लिएपनि बहुमत प्राप्त गर्ने सम्भावना छैन। नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ।’

बागमतीमा केन्द्रकै समीकरण अनुसारको सत्ता गठबन्धन बन्ने भएको छ। कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी सम्मिलित सरकार बन्ने भएको छ। कांग्रेसका इन्द्र बानियाँ, माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मध्ये एक जना मुख्यमन्त्री बन्ने भएका छन्। केन्द्र सरकार बनाउन निर्णायक भूमिका खेलेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बागमतीमा मुख्यमन्त्री आफ्नो पक्षको दाबी गरेमा कांग्रेस अबरोधक नबन्ने बताइएको छ।

बागमती प्रदेशमा नेकपा एमालेका १२ जना प्रदेश सभा सदस्य (सांसद)ले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। एक जना सांसद थपिने एकीकृत समाजवादीको दाबी छ।

बागमतीमा माओवादी केन्द्रका २३, कांग्रेसका २१ सांसद छन्। उक्त संख्यामा एकीकृत समाजवादी थपिएपछि गठबन्धनलाई सुविधाजनक बहुमत पुग्दछ।

एमालेबाट एकीकृत समाजवादीमा लाग्ने सांसदहरुमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्णप्रसाद शर्मा छन्।

प्रतिक्रिया दिनुहोस्