माधव नेपाल र उपेन्द्र यादवबीच लफडा, सरकार नै संकटमा !


काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा विवाद देखिएको छ । डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेका गठबन्धन सरकारमा मन्त्रालयको भागबण्डा मिलाउन नसकेपछि झनै किचलो बढेको हो ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच मन्त्रालयका विषयमा विवाद देखिएको छ । मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठकमा मन्त्रालयको विषयमा कुरा नमिलेको हो ।

स्रोतका अनुसार बैठकमा महत्त्वपूर्ण मन्त्रालय माग गरेको र त्यसैमा एकीकृत समाजवादीका माधव नेपाल र जसपाका उपेन्द्र यादवबीच विवाद देखिएको हो ।
बैठकमा नेता नेपालले आफ्नो पार्टीले पाउने मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुनुपर्ने माग गरेपछि यादवले भने ‘अब्जेक्सन’ जनाएको बैठकमा सहभागी एक नेताको भनाई छ ।

बैठकमा यादवले माधवको मागलाइ अब्जेक्श जनाउँदै भने, ‘माधवजीले पाउनुहुन्छ भने त्यो आफ्नो कुरा भयो । तर शक्ति सन्तुलनको हिसाबले उहाँले दुवै मन्त्रालय माग गर्न मिल्दैन,’ बैठकमा सहभागी ती नेताले यादवको भनाइ उद्धृत भने ।

ती नेताका अनुसार यादवले माधव नेपालको पार्टीलाई भौतिक र उद्योगमध्ये एक दिन सकिने तर बाँकी भने अन्य मन्त्रालय लिनु पर्ने बताए । ‘उद्योग र सहरी विकास उहाँले लिनुपर्छ । भौतिक नै चाहिन्छ भने उहाँलाई शिक्षा मन्त्रालय पनि दिन सकिन्छ । तर दुवै मन्त्रालय दिन मिल्दैन ।’

काँग्रेसले यसअघि नै गृह र कानुन मन्त्रालय लिइसकेका छन् । माओवादी केन्द्रले पनि अर्थ र ऊर्जा तथा जलस्रोत मन्त्रालय सम्हालिसकेको छ । सत्ता साझेदार बाँकी दुई दलले पनि महत्त्वपूर्ण मन्त्रालय माग गरेको र त्यसैमा एकीकृत समाजवादीका माधव नेपाल र जसपाका उपेन्द्र यादवबीच विवाद देखिएको हो ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । छलफलबाट सहमति नभएकाले पुनः बैठक बसेर सहमति जुटाउन प्रयास हुने जनाइएको छ ।

आज सहमति जुटेको अवस्थामा बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुने भनिएको थियो । सत्तारुढ दलहरु आफ्नो अडानमा कायम रहेपछि बुधबार पनि मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून देखिन्छ । माधव नेपाल समूहको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भए पनि सहमति जुट्न नसक्दा गठबन्धन सरकारमा थप किचलो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्