कोरोनाका कारण पाल्पामा जात्रा प्रभावित


पाल्पा । पाल्पामा कृष्ण जन्माष्टमीको भोलिपल्ट नवामी दिन मनाइने श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा कोरोना संक्रमणको जोखिमले प्रभावित भएको छ ।

अंग्रेजसंग विजय हासिल गरेका तत्कालिन कर्णेल उजिर सिंह थापाले वि.स.१८७७ देखी विजयउत्सव रुपमा सिन्दुर जात्रा चलाएका हुन् ।

कोरोना कहरको त्रासले मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधि, नेपाली सेना र नेपाल प्रहरीले मन्दिर परिसरमा भगवतीको मुर्ति परिक्रमा गराएका थिए ।

विगतमा भगवती मुर्ति सहित रथयात्रा गरी बजार परिक्रमा गराएर सर्वसाधारणले घर घरबाट नै पुजाआज गर्ने प्रचलन थियो । गत बर्ष र यस बर्ष रथयात्रा निकालिएन ।

सर्वसाधरणका लागि बिहान ११ बजेसम्म सामाजिक दुरी कायम गरेर मन्दिरमै पुजाआज गर्ने व्यवस्था गरिएको थियो ।

युद्धमा विजय हासिल गरेकाले सिन्दुर जात्रा चलाइएको भनाइ छ । कृष्ण जन्माष्टीको राती जाग्राम बसेर भगवतीको महिमा गाउने, राती १२ बजे भगवतिको रथ उचाल्ने, बली दिने गरिन्थ्यो ।

नवामीको दिन भगवतीको बिहानै देखि पुजा पाठ गर्ने, कुखुरा, बोका र पाडा बली दिएपछि दिउ‘सो तानसेन बजार घुमाई प्रचालन थियो । पाल्पामा लाग्ने १० भन्दा बढी जात्रा मध्ये भगवतीको सिन्दुर जात्रा सबै भन्दा ठूलो हो ।

प्रतिक्रिया दिनुहोस्