वैदेशिक रोजगारीमा जाने र फर्कनेका लागि बेनीमा आप्रवासन सहायता कक्ष


बेनी – वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई लक्षित गरी बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ ।

सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो ।

वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको सहजीकरणका लागि पुस्तकालयको भवनमै आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो ।

‘वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई कानुन, नीतिगत व्यवस्था र प्रक्रियाबारे परामर्श दिने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारको नाममा हुने ठगी र मानव बेचबिखन रोकथाममा सघाउनाका साथै समस्यामा परेकाका तर्फबाट सम्बन्धित निकायमा उजुरी र कानुनी उपचारमा सहजीकरण गरेका छौँ ।’

गएको वैशाखदेखि सञ्चालनमा आएको सहायता कक्षाबाट पाँच सयभन्दा धेरैले सेवा लिइसकेका छन् ।

सहायता कक्षमा वैदेशिक रोजगारसम्बन्धी उपयोगी पुस्तक, पर्चालगायत अध्ययन सामग्री पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्