मन्त्रालय बाँडफाँडमा सहमति जुटेन, मन्त्रिपरिषद् विस्तार गर्न केही दिन लाग्ने


काठमाडौं : सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको टुंगो आज पनि लगाउन सकेन। मंगलबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले टुंगो लगाउन नसकेको हो।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, उपस्थित थिए।

सत्ता सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको विषयमा छलफल भएपनि ठोस निर्णय लिन नसकेको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार केहि दिन ढिलाइ हुने भएको छ।
देउवाले विश्वासको मत पाएपनि डेढ महिना समय बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्। सत्ता गठबन्धन भित्र मन्त्रालय बाँडफाड र गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाले कस्तो मन्त्रिमण्डल बनाउँछन् भन्ने आमचासो रहेको छ।

निर्वाचन आयोगले एमालेबाट अलग भई माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता दिएकाले मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई सहज भएको नेताहरुको दाबी छ। अधिवेशन अन्त्य गरेर देउवा सरकारले राजनीतिक दल विभाजनमा खुकुलो प्रावधान राखेर अध्यादेश जारी गरिसकेको छ। सोही अध्यादेशमा टेकेर एमालेबाट माधव नेपाल र जसपाबाट महन्त ठाकुर अलग भई नयाँ दल गठन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्