राजनीति सैद्धान्तिक वाद-प्रतिवादभन्दा पर


यतिखेरसम्मका राजनीतिक माहौल र क्रियाकलाप हेर्दा नेपाली कांग्रेस नेतृत्व नयाँ पक्ष वा धारमा जान सक्ने स्थिति देखिन्‍न । शेरबहादुर देउवा हुन् या अर्काे इतर समूह, त्यतिखेरकै नेतृत्व कुनै न कुनै किसिमको शक्ति वा पद बाँडफाँड गर्ने ध्याउन्‍नमै केन्द्रित छन् । अर्थात्, कांग्रेसमा चालीस वर्षभन्दा बढ्ता समयदेखि जो-जसरी पनि नेतृत्वमा छन्, तिनै फेरि भागबण्डामा रहन खोज्दैछन् ।

अझ सरल गरी भन्‍ने हो भने महाधिवेशनपछि ‘दाइ’हरूकै नेतृत्व निरन्तर चल्ने देखिन्छ । अनि जति युवा भनिएका तप्का छन्, तिनीहरू पनि ‘दाइ’हरूकै दौराको तुना समातिरहेका हुनेछन् । युवा पंक्तिले संस्थागत रूपमा ‘दाइ’हरूलाई ‘चुनौती’ दिन सकेनन् । त्यसरी चुनौती दिन नसक्दा पाका पुस्ताकै हालीमुहाली फेरि पनि चल्नेछ ।

संसदीय अभ्यास हेर्दा र बोल्दा गगन थापा पुस्ताले निकै आशा जगाएका छन् । तर उनले पनि अझ मूलधारमै प्रवेश गरेर भिड्न सकेको देखिएन । कांग्रेसमा अझै पनि यति धेरै अघिल्लो पुस्ता हाबी छन् कि अझै गगनलाई कान्छो भन्दा पनि अझ तल छ भने त्यही पुस्ताकै रूपमा हेरिरहेका छन् ।

जब कि गगन पुस्ताभन्दा पनि तल जानुपर्छ भन्‍ने बहस भित्रिएको छ । ठूलै परिवर्तन नभइकन कांग्रेसमा त्यो पुस्ता बाहिरिँदैन । हिजो नेपाल विद्यार्थी संघ भन्‍ने संस्था थियो, जुन संस्था कांग्रेसका नेता/कार्यकर्ता उत्पादन गर्ने ‘प्ल्याटफर्म’ बनेको थियो । कांग्रेस राजनीतिमा प्रवेश गर्न र कांग्रेसलाई नयाँ पुस्तामा सामाजिकीकरण गर्न त्यो संस्थाले भूमिका खेलेको थियो । हाल पुरानो पुस्ताका भनिएका नेताहरू हुन् कि नयाँ पुस्ता गगन, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरेहरू जे/जति पनि मानिस कांग्रेसमा देखिन्छन्, यिनीहरू त्यसैका उत्पादन हुन् ।

जब विश्वेश्वरप्रसाद कोइराला ‘राष्ट्रिय मेलमिलाप’को नीति लिँदै प्रवासबाट मुलुकमा फर्किनुभयो, उहाँ त्यसरी नेपाल प्रवेश गर्दा उहाँ वरिपरि २०२७/०२८ मा राजनीतिक दीक्षित भएका (तिनी)हरू यतिखेर हाबी छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत धेरै तिनै नेताहरू छन् । २०४६ को समयमा उमेरका दृष्टिकोणबाट हेर्दा तिनीहरू काम गर्न सक्ने स्थितिमै थिए । त्यतिखेर तिनीहरू ४० देखि ५० वर्ष उमेर समूहमा पर्थे ।

फरक उद्देश्यसहित पार्टीमा नयाँ मानिस
मेरो विश्लेषण वा बुझाइ कमजोर पनि हुन सक्छ, तर मैले कांग्रेसमा नयाँ मानिस को आइरहेका छन् भनी भेउ पाउन सकिरहेको छैन । माओवादी सशस्त्र द्वन्द्व र २०६२/०६३ को आन्दोलनपछि कांग्रेसमा के-कस्ता मानिस आएका छन् भन्‍नेमा सही आँकलन गर्न सकिएको छैन ।

सत्ता-पैसालाई मात्र महत्व दिनेहरू हाबी हुँदै गएपछि राजनीतिक र सामाजिक परिवर्तन कसरी हुन्छ ?

बहुदलपछि कांग्रेस शक्तिमा जाने, गठबन्धनमा बस्ने, सत्ताको समीकरणमा बस्ने हुँदा साधन-स्रोत परिचालन गर्न प्रयोग गरिएका मानिसहरू पार्टीमा प्रवेश भएको देखिन्छ । अर्थात् पार्टीमा जिल्लाका स-साना ठेकेदार (पेटी कन्ट्याक्टर्स), केन्द्रमा घरानियाँ व्यापारीहरूको प्रवेश भएको छ ।

त्यसो त, त्यस किसिमका मानिसहरू पहिला पनि नभएका होइनन् । यसो भन्दा अन्यथा अर्थ नलागोस्, गोपालमान श्रेष्ठ स्याङ्जाका ट्रक व्यवसायी नै हुन् । तर, श्रेष्ठ लोकतन्त्रका निम्ति लामो समयदेखि संघर्ष गरेकै हुन्, जेल-नेल खाएकै हुन् । रामकृष्ण ताम्राकार पेन्टिङकै पसल खोलेर बसेका थिए । कांग्रेस कार्यकर्ता भूमिगत हुँदा या दुःख पाउँदा सहयोग गर्ने उनै थिए ।

व्यापार-व्यवसाय गर्ने पोखराका पालिखे परिवार हुन् या बन्दीपुरका व्यापारी हुन् या चितवनका मैयादेवी श्रेष्ठ, मुक्तिलाल चुकेहरू सानो-तिनो व्यापार गर्नेहरू हुन् । त्यतिखेर के थियो भने तिनीहरूले सार्वजनिक जीवनमा आफूलाई कांग्रेसप्रति समर्पित गरेकै हुन् । पञ्चायतकालमा पैसा कमाउने उद्देश्य राखेको भए किन पार्टीमा लाग्थे र ? त्यतिखेर उनीहरूले जोखिम मोल्दै कांग्रेस र लोकतन्त्रप्रति समर्पण भाव देखाएकै हुन् । यतिखेर त्यस्तै सोच राख्ने मानिसहरू प्रवेश भइरहेका छन् कि पार्टीलाई प्रयोग गर्दै अथाह पैसा कमाउने उद्देश्य बोकेकाहरू हालीमुहाली गर्न खोज्दैछन् भन्‍ने हेर्नुपर्छ ।

मैले उतिखेरका जस्ता समर्पण भावहरू भएका मानिसहरू कांग्रेसमा प्रवेश भएको वा गरेको देखिइरहेको छैन । यतिखेर कोही मानिस कांग्रेसमा आउँछन् भने केही पाउँछु भन्‍ने उद्देश्य बोकेकैहरू छन् । मलाई लाग्छ, त्यस्तै प्रवृत्ति हाबी भएको छ, कांग्रेसमा मात्र होइन कि अरु पार्टीमा पनि । मेरो पुस्ताका मानिसहरू जसले भित्र वा बाहिर दुवैतिर देखेको हुँदा तिनीहरू सशंकित छन् ।

पार्टीमा असल मानिस प्रवेशमा कसले निषेध गर्यो त ? जो हरेक पार्टीभित्रका सत्तावाल हुन् या इतर । तिनले पार्टीको साधन-स्रोत प्रयोगका निम्ति उपयोग गर्ने उद्देश्यसहित पार्टीमा प्रवेश गरे-गराएको देखिन्छ । अनि जो त्यसरी प्रवेश भइरहेका छन्, तिनले पनि सत्ता प्रयोग गरी आफ्नै साधन-स्रोत विस्तार गर्ने लक्ष्य बोकेकाहरू छन् ।

एमालेमा पनि फुटको संघारमा पुग्दा-पुग्दै पनि त्यो पार्टीमा कसले ‘कन्ट्रोल’ गरेको छ भनी हेर्नुभयो भने सीधै देखिन्छ, त्यस्तै खाले पात्रहरूको बोलवाला देखिन्छ । तिनीहरूको किन नाम लिने ? समाजले तिनलाई पूरै चिनेको छ । जसको नामै लिइरहनु नै पर्दैन । कांग्रेसमा पनि त्यस्तै खाले मानिसहरू अलि सन्तुलित देखिएका छन् । फेरि सत्तासँगै तिनीहरू सल्बलाउने निश्चित छ ।

‘पार्टीमा को मानिस आएका छन् त ?’ हामीले कल्पना गरेभन्दा बाहिरका मानिसहरू आएपछि न सरकार चल्छ, न राजनीतिक संयन्त्र नै । अब राजनीति सैद्धान्तिक वाद-प्रतिवादभन्दा पर जाँदै छ । अब राजनतिमा सैद्धान्तिक भन्दा ‘मसल’ प्रयोगको खतरा बढ्दो छ ।

राजनीतिका दृश्य
कोही मन्त्री भयो । अनि ऊ जिल्लातिर गयो ऊ कहाँ बस्छ ? कार्यकर्तासँग कि स्वार्थ समूहसँग ? उसले पार्टीका महाधिवेशनमा आफूलाई मत नहाल्ने मानिसहरूलाई भेट्छ त ? उसले आफूलाई साथ नदिने मानिसलाई भेट्नु नपरेझैँ गर्छ । ऊ निर्वाचित भइसकेपछि सबैको नेता होइन र ?

तर, त्यो नेता जसले उसलाई होटलमा राख्छ, जसले उसलाई गाडीमा राख्दै लैजान्छ, जो मानिस फूलमालासहित एयरपोर्टमा ‘रिसिभ’ गर्न आउँछ, त्यस्तै मानिसहरूसँग मात्र घुलमिल गर्ने प्रवृत्ति छ । अलि फरक मत राख्‍नेसँग भेटघाट गर्ने परम्परा कुनै पार्टीमा पनि देखिँदैन । त्यहीकारण नेताहरूमा कुनै ‘अपिल’ देखिँदैन ।

चितवन होस् र पोखरा या विराटनगर-नेपालगन्ज एयरपोर्टमा उत्रिएर हेर्दा नेताले गर्ने व्यवहार स्पष्ट देखिन्छ । त्यहाँ नेतालाई ‘रिसिभ’ गर्न आउने मानिसबारे घोत्लिएर विश्लेषण गर्ने हो भने सबै स्पष्ट हुन्छ नै । यस्तो परिस्थितिमा हामीले जतिसुकै कामना गरे पनि नयाँ विचारशील, ऊर्जाशील खोजे पनि तिनीहरू कहाँबाट आउन सक्छन् र ? तिनै आउँछन्, जो एयरपोर्टमा फूलमाला लगाउने, होटलबासमा नेताहरूलाई पुर्‍याउँछन् ।

त्यसकारण पार्टीमा कस्ता मानिस प्रवेश गरेका छन्, तिनीहरू कसरी क्रियाशील भएका छन् ? भन्‍ने अध्ययन हुनुपर्छ । कांग्रेसमा महासमिति र महाधिवेशन प्रतिनिधिको सूची भिडाउने/केलाउने हो भने कस्ता खाले नयाँ मानिस आइरहेका छन् ? तथ्य पत्ता लगाउन सकिन्छ । त्यस्तै दृश्य एमालेमा पनि झांगिदै छ ।

मलाई लाग्छ, तीनवटा महाधिवेशन हेर्ने हो भने दश प्रतिशत पनि नयाँ मानिस आएका छैनन् । जुन पार्टीमा दश प्रतिशतको ‘टर्नओभर’ हुँदैन भने कसरी फरक राजनीतिक परिदृश्य निर्माण हुन सक्छ ? नयाँ मानिस नआइकन नयाँ विचार आउँदैन भन्‍ने हो भने एउटा तर्क राख्न सकिन्छ । नयाँ मानिससँग नयाँ विचार हुन्छ कि हुँदैन ? त्यो पनि अर्काे तर्क हुन सक्छ । त्यो चाहिँ अध्ययनबाट मात्र भन्‍न सकिन्छ । नयाँ मानिस, नयाँ विचारले नयाँ अनुहार आकर्षित गर्छ कि गर्दैन ? पार्टीमा नयाँ विचारको सञ्चार भएको छ कि छैन ? यी राजनीतिक अध्ययनका विषय हुन् ।

पहिलो त, नयाँ मानिस आउनु भनेको नयाँ परिस्थितिको सिर्जना हुनु हो । नयाँ विचारसँगै त्यो सञ्चारित भएको छ कि छैन भन्दा पार्टीमा नयाँ विचारमा छलफल गर्ने गरी दस्तावेजीकरण भएको छ कि छैन ? त्यो केलाउने हो भने पनि पार्टीको दायरा के हो ? बुझ्न सकिन्छ । कांग्रेसमा नयाँ मानिसले म क्रियाशील सदस्य हुन्छु भन्दा रोक्नुपर्ने कारण केही छ र ? त्यो रोक्न खोज्‍नुको कारण के हो भने तिनीहरूलाई कसैले किनेर ल्याएको छ ? जवाफ स्पष्ट छ ।

यथास्थितिवादकै खतरा

हाल भएका नेतृत्वबीच पद बाँडीचुँडी भयो भने पार्टी ‘यथास्थितिवाद’मै रम्नेछ । सैद्धान्तिक परिभाषामा भन्दा यथास्थितिवाद हुँदा सबैले सबैलाई चिनेकै छन्, तिनीहरू शासन-समाज बदल्ने वा तिनीहरू बदलिने सम्भावना नै हुँदैन । अफगानिस्तानमा ‘युद्ध सरदार’ले बाँडेजस्तै बाँडिन्छन् । मलाई पनि सोध्छन्, ‘तपाईं कांग्रेसको क्रियाशील सदस्य हो कि होइन ?’ म भन्छु मतदान गर्न त मलाई यसरी सदस्यता लिनुपर्छ र ?

म गिरिजाप्रसाद कोइरालाको प्रमुख राजनीतिक सल्लाहकार हुँदा मेरो बुबाले मलाई क्रियाशील सदस्य बनाउन खोज्नुभयो । मेरो बुबा ८४ वर्षमा हुनुहुन्छ, २००९ सालमै कांग्रेस बनेको हुँदा उहाँ क्रियाशील सदस्य हुनुहुन्छ । मैले भनेँ, ‘हुँदैन, म लिन्‍नँ । मैले सदस्यता लिए भने विचारको स्वतन्त्रताबाट बाँधिन्छु ।’ साधारण सदस्य हुँदा मलाई कुनै अप्ठ्यारो पर्दैन, तर क्रियाशील सदस्य हुँदा फरक पर्छ नै । यहाँनेर हामी घोत्लिनै पर्छ । मतदाताले सोच्‍नै पर्छ । राजनीतिमा नयाँ पुस्ता आउँदा पुराना पुस्तालाई अप्ठ्यारो पर्छ नै । उनीहरूलाई पद बाँडचूँड गर्न समस्या पर्छ । त्यहीकारण उनीहरू राजनीति आफ्नै पुस्तामा अल्झाइरहन चाहन्छन् ।

राजनीतिमा ‘ग्रुमिङ कल्चर’

सफल राजनीति र राजनीतिज्ञ तिनलाई मात्र मानिन्छ, जहाँ ‘ग्रुमिङ कल्चर’ स्थापित हुन्छ । कांग्रेसमा हिजो नेपाल विद्यार्थी संघ राजनीतिक कार्यकर्ता/नेता ‘ग्रुमिङ’ गर्ने थलो थियो । तिनको समय-समयमा चुनाव हुन्थ्यो । हेर्नाेस्, लामो समयदेखि नेविसंघको चुनाव भएको छैन ।

अझ यतिखेर त केन्द्रदेखि जिल्ला तहसम्म ‘वैचारिक प्रतिस्पर्धा’ भन्‍ने त तत्व नै देखिँदैन, खालि व्यावहारिक प्रतिस्पर्धा मात्र छ । अनि स्रोतमा कसरी कब्जा जमाउने, कसरी घर बनाउने, कसले कसको जागीर खाइदिनेमै सीमित छ । न कम्युनिस्ट पार्टीहरूसँग वैचारिक प्रतिस्पर्धा छ, न आन्तरिक दलभित्र नै । त्यसपछि कसरी ‘ग्रुमिङ’ हुन्छन् त ?

राजनीति सैद्धान्तिक वाद-प्रतिवादभन्दा पर जाँदै छ । अब राजनतिमा सैद्धान्तिक भन्दा ‘मसल’ प्रयोगको खतरा बढ्दो छ ।

जब वैचारिक प्रतिस्पर्धा हुँदैन, अनि ‘व्यवहारवाद’ मात्र हाबी हुन्छ, तब कमजोर नेतृत्वको बोलवाला हुन्छ । सँगै सम्झौतावादी नेतृत्व आउँछ । अनि सत्ता-पैसालाई मात्र महत्व दिनेहरू हाबी हुँदै गएपछि राजनीति र सामाजिक परिवर्तन कसरी हुन्छ ? त्यसो हुँदा आधारभूत रूपमै नेपाली कांग्रेससँग प्रश्न गर्नुपर्ने ठाउँ पैदा भएका छन् ।

नेपाली कांग्रेस के-कस्तो पार्टी हो ? यो केवल निर्वाचन पद्धतिद्वारा सत्तामा जाने मात्रै पार्टी हो कि सामाजिक रूपान्तरण गर्ने पार्टी हो ? यसको विगत र उत्तरदायित्व सामाजिक रूपान्तरणसँग जोडिएको छ । किनभने विगतमा यो पार्टी राजनीतिक मात्र नभएर सामाजिक रूपान्तरणसँग पनि जोडिएको थियो, त्यसमा सफल पनि भएको थियो । त्यसकारण सत्ता सञ्चालन र सामाजिक रूपान्तरणलाई कसरी सँगसँगै लैजाने भन्‍नेमा यो पार्टीमा द्विविधा देखिएको छ । अझ सत्ता सञ्चालनमा जानेबित्तिकै सामाजिक रूपान्तरणका मुद्दा यसले बिर्सिन्छ ।

ऐतिहासिक उदाहरण हेर्ने हो भने २०१४ मा भद्र अवज्ञा आन्दोलन टुंग्याएर संविधानसभा कि संसदीय चुनाव भन्‍ने बहस भित्रिएको थियो । त्यतिबेला विश्वेश्वरप्रसाद कोइरालाको तर्क थियो, ‘सत्ता परिवर्तन गर्न सकियो भने सामाजिक परिवर्तनका कार्यक्रम गर्न सकिन्छ ।’ त्यहीकारण भूमिसुधार, बिर्ता उन्मूलन कार्यक्रम ल्याइयो । सत्ता किन जरुरी छ ? त्यसको जवाफ थियो, ‘सामाजिक रूपान्तरणका निम्ति त्यो आवश्यक छ ।’

समर्पण भाव भएका मानिसहरू कांग्रेसमा प्रवेश भएको वा गरेको देखिइरहेको छैन । यतिखेर कोही मानिस कांग्रेसमा आउँछ भने केही पाउँछु भन्‍ने उद्देश्य बोकेकैहरू छन् ।

अब यतिखेर नेपाली कांग्रेसको सामाजिक रूपान्तरणको वैचारिक एजेन्डा के हो ? अरुको भन्दा के फरक छ ? हेरियो भने केही फरक देखिँदैन । अनि किन सत्तामा जाने ? किन शेरबहादुर देउवा पाँच-छ पटक प्रधानमन्त्री बन्‍ने ? त्यो राम्ररी हेरियो भने उद्देश्य केवल साधन-स्रोतमाथि कब्जा गर्न मात्रै देखिन्छ ।

त्यसो हुँदा कांग्रेस स्पष्ट रूपमा वैचारिक स्खलनमा गइसकेको छ । यसमा कसले चिन्ता व्यक्त गर्ने हो त भन्दा हामीले नै हो । यसरी सामाजिक विचलन जाँदा पार्टीभित्रको वैकल्पिक धारले बहस भित्र्याउनु पर्छ । जसलाई बोलीचालीमा गैरसंस्थापनवादी धार भनिन्छ । सधैँभरि गैरसंस्थापन पक्षले घचघचाइरहनुपर्छ, ‘पार्टी नेतृत्व खराब बाटोतिर जाँदै छ भने ।’

त्यसरी घचघचाउन सकेको खण्डमा नेतृत्वलाई चुनौती अनुभूत गर्छ । यो काम कसले गर्ने ? यतिखेर जसले संस्थापन नेतृत्वलाई विस्थापित गर्छु भनिरहेको छ, तिनैले गर्ने हो । यदि संस्थापन सामाजिक सुधारका एजेन्डा बोक्दैनन् भने गैरसंस्थापन पक्षले बोक्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्