‘बिकाउ माल’ भन्दै माधव नेपालमाथि खनिए ओली : पार्टी ध्वस्त बनाउनेबाट जोगाऔं


काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालप्रति फेरी पनि आक्रोशित भएका छन्। ओलीले यसअघि नेपाललाई ‘गद्दार’ भन्दै तल्लो स्तरमा आलोचना गरेका थिए।

तर, बिहीवार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा ओलीले नेपाललाई माफी दिएको घोषणा गरेका थिए। आइतवार नेपाल महिला संघको बैठकको भर्चुअल सम्बोधन गर्दै ओलीले नेपालले पार्टी ध्वस्त बनाएकाले जोगाउनुपर्ने बताए। उनले नेपाललाई ‘बिकाउ माल’ भन्दै आलोचना गरेका छन्।

‘पार्टीलाई ध्वस्त पार्नबाट जोगाउँ। यो ‘बिकाउ माल’हरुको पार्टी होइन,’ ओलीले भने। उनले नेपाल समूहमा रहेका नेताहरुलाई भने एमालेमा फर्कन आग्रह गरेका छन्। उनले महिला संघलाई प्रतिगमनका विरुद्ध उत्रन निर्देशन दिए।

‘बाटो बिराएकालाई पनि सहमतिमा आउनुस्। सामाजिक अभियान हाम्रो मुख्य विषय थियो। तर कहिलेकाहीँ राजनितिक विषय मुख्य बनेर आउछ,’ ओलीले भने।

सर्वोच्च अदालतले प्रधामन्त्री नियुक्त गर्नु प्रतिगमन भएको बताएका ओलीले प्रतिगमनलाई नंग्याउनुपर्ने बताए। ‘केही समयका लागि राजनीतिक विषय प्रमुख बनेको छ। जबसम्म प्रतिगमन सच्याउन र नंग्याउन सक्दैनौ त्यतिन्जेल सम्म राजनीतिक विषयलाई प्रमुख बनाइनुपर्छ,’ उनले भने। ओलीले नेपालले पार्टी ध्वस्त बनाएको भन्दै पार्टी जोगाउन आग्रह गरेका छन्। ‘पार्टीलाई ध्वस्त पार्नेबाट जोगाउँ।सक्रिय संगठन आजको आवश्यकता हो,’ ओलीले भने।

आफ्नो आलोचना गरेर केही मानिसहरुले जिविका चलाएको भन्दै उनले आक्रोश ब्यक्त गरेका छन्। आफू आलोचना गर्नेसँग खुसी भएको भन्दै उनले भने,’एक दुई जना व्यक्तिहरुले मुख छाडेर जिविका चलाए केपी ओली खुशी हुन्छ। केही दर्जन मानिसहरु यसमा लागेका छन्।’

सत्तारुढ गठबन्धनबाट अलग हुन ओलीले नेपाललाई फकाइरहेको भए पनि नेपालले अलग नहुने बताएपछि ओली आक्रोशित भएका हुन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गरेपछि नेपाल गठबन्धनबाट केही दिन बाहिरिएको भए पनि फेरी गठबन्धनमै सक्रिय भएका छन्। शनिवार भएको गठबन्धनको बैठकमा पनि नेपाल सहभागि भएका थिए।

प्रतिक्रिया दिनुहोस्