ओलीले युवाहरूलाई किन ‘बाँदर’ बनाइरहेछन् ?


राजनीतिमा पुनः अपराधीकरणको जोखिम बढेको छ । केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै गठन गरिएको ‘युथफोर्स’ले शनिबार पुनः शक्ति प्रदर्शन गरेको छ । महामारीको अवस्थालाई नजरअन्दाज गर्दै ओलीका लागि गरिएको उक्त शक्ति प्रदर्शन ओलीकै राजनीतिक भविष्यका लागि पनि घातक छ । रचनात्मक कार्यमा लाग्नुपर्ने युवाहरूलाई ओलीले कहिले शक्ति प्रदर्शन र विरोध प्रदर्शनको नाममा कहिले बाँदर बनाएर त कहिले मसाल बोकाएर सडकमा पठाइरहेका छन् ।

डेढ दशक अघितिर यस्तै आतंक थियो, योङ कम्युनिस्ट लिग (वाईसीएल) नामक शक्तिको । अपहरण, धम्की, आक्रमण, असुली, फिरौती गर्ने समूहलाई भ्रातृ संगठनको नाम दिएर समाजमा अपराधीकरण बढाउने काम भयो भनेर ओली आफैँ त्यसका प्रखर विरोधी थिए ।

युवालाई संघर्षको मैदानमा होमेर राजनीतिको रोटी सेकाउने नेपाली राजनीतिको पुरानै चलन हो । यसबारे सबै जानकार छन् । नेताको स्वार्थका खातिर आफ्नो सक्रिय उमेरमा रचनात्मक र उपलब्धिमूलक काम गर्न छाडेर महामारीबीच सडकमा निस्कने ती युवा पनि दयाका पात्र हुन् । उनीहरूको विवेक (अ)राजनीतिक दीक्षाको बन्धक बनेर सडकमा मिल्किएको छ । साढे तीन वर्ष सत्तामा बसेर भर्खरै बहिर्गमित प्रधानमन्त्री यति अलोकप्रिय भएछन् कि उनको बोली युथफोर्समार्फत बिकाउनुपर्ने अवस्थामा पुगेका रहेछन् ।

रचनात्मक कार्यमा लाग्‍नुपर्ने युवाहरूलाई ओलीले कहिले शक्ति प्रदर्शन र विरोध प्रदर्शनको नाममा कहिले बाँदर बनाएर त कहिले मसाल बोकाएर सडकमा पठाइरहेका छन् ।
राजनीतिमा निर्लज्ज पात्रहरू धेरै छन् । विधि, विधान, संस्थाहरू भत्काउने, मनपरीतन्त्र र अराजकता फैलाएर बलबाट स्वार्थ सिद्ध गर्न सकिन्छ भन्ने भ्रम यदाकदा देख्न सकिन्छ । अहिले युथफोर्समार्फत ओलीका केही सन्देश छन् । जुन खुला रूपमा युथफोर्सका अगुवाले बोलेका पनि छन्– दल विभाजनसम्बन्धी कानुन आउनुभएन ।

दल विभाजनसम्बन्धी कानुन आएको खण्डमा धेरै सांसद एमालेका वरिष्ठ नेता माधवकुमार नेपालतर्फ आउँछन् र आधिकारिक एमाले उनको हुन्छ भन्ने प्रक्षेपण छ । त्यसबाट ओली एउटा कोटरीको नेतामा सीमित हुनेछन् । कुनै समय दुई तिहाइको शक्तिसम्पन्न प्रधानमन्त्री अनेक तिकडम गर्दा पनि अन्ततः सत्ता र पार्टी दुवै गुमाउनुपर्ने अवस्थामा पुग्नेछन् । यी सबै बुझेका ओलीले सबै सर्तमा माधवकुमार नेपाल समूहसँग विनासर्त पार्टी एकताको प्रस्ताव अघि सारेको पनि देखिएकै हो ।

ओली र उनका आसेपासेलाई डर छ । जब दलको शक्ति पनि गुम्छ, तब सरकारमा रहेर गरिएका नाजायज कामका फेहरिस्त बाहिर आउनेछन् । जसले उनलाई थप कमजोर बनाउनेछ । हुन त अभिमान, अहंकार, आडम्बरको दुःखद् अन्त्य भएका धेरै घटना छन् ।

घटना–परिघटनाले ओलीका लागि मुस्किल थप्दै लगेका छन् । विधि, पद्धति, संस्था निर्माण र थोरबहुत राजनीतिक आचरण र संस्कार भइदिएको भए ओलीले यो अवस्थाको सामना गर्नैपर्ने थिएन । उनको विवेकभन्दा लहड, विधि र पद्धतिभन्दा अराजकता रोज्ने, राजनीतिक संस्कारको सट्टा आलोचकमाथि आक्रमण गर्ने संस्कार र कपटी खेलका कारण आजको विकराल अवस्थामा आइपुगेका हुन् । अझै पनि सुध्रिनुको सट्टा उनी मुढेबलमा विश्वास गर्छन् । यसले उनलाई गन्तव्यमा पुर्याउँदैन । बरु अझै बदनाम मात्र बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्