युथ फोर्स र अखिल फोर्सजस्ता ‘बाहुबली’को कामै छैन, खारेज गरौँ


काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले एमालेभित्र पछिल्लो समय ब्यूँताइएका तथा नवगठित दुई संगठन खारेज गर्नुपर्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर युवा संघले युथ फोर्स ब्यूँताएपछि त्यसको काउन्टरमा एमालेकै अर्का नेता माधव नेपाल समूहले अखिल फोर्स गठन गरेको थियो ।

तर नेता भट्टराईले भने यी दुवै संगठनको कुनै काम नरहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीमा रहेको अनेरास्ववियु र युवासंघजस्तो जुझारु संगठनलाई ओझेलमा राखेर युथ फोर्स र अखिल बनाइनु आपत्तिजनक रहेको बताएका छन् ।

‘ऐतिहासिक र गौरवशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरुलाई राजनीतिक/वैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ ।’

बरू अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्ने उनकाे सुझाव छ । ‘के काम हुन्छन जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्षे हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ?’ उनले भनेका छन् ।

यदि त्यसाे हाे भने आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नुपर्ने उनकाे तर्क छ ।

शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम नरहेको नेता भट्टराईको तर्क छ । उनले यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्