बहिर्गमित जनमुक्ति सेनाले भेटे प्रधानमन्त्री देउवालाई, मुद्दा सम्बाेधन गर्न ध्यानाकर्षण


काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर आफ्नो मुद्दाको बारेमा ध्यानाकर्षण गराएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर उनीहरूले आफ्ना मुद्दाका बारेमा ध्यानाकर्षण गराएका हुन् ।

बहिर्गमित जनमुक्ति सेना नेपालका प्रवक्ता तथा उपाध्यक्ष राजन थापा (सुवास)ले विगत लामो समयदेखि उठाउँदै आएको मागमुद्दाबारे र अघिल्लो केपी ओली नेतृत्वकाे सरकारले गरेको निर्णय कार्यान्वयनबारे ध्यानाकर्षण गराइएकाे बताए । लोकतान्त्रिक योद्धा अभिलेखीकरण सम्मान समिति निर्माण गरेर अघिल्लाे सरकारले देखाएको सम्मानलाई निरन्तरता दिई अगाडि बढाउँदै व्यवस्थापन सहित सम्बोधन हुन बाँकी रहेका बुँदाहरु कार्यावयनमा लैजाने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उनले बताए ।

तत्कालीन नेकपा माओवादीले सुरू गरेको १० वर्षे जनयुद्धपश्चात् भएकाे शान्ति-सम्झौतापछि नेपाल सरकार तथा माओवादीबीच अनमिनले गरेको प्रमाणीकरणमा ४००९ जना लडाकुलाई २०६६ सालमा अयोग्य ठहर गर्दै बिनासम्मान घर पठाएकाे थियाे । त्यसयता उनीहरू रुष्ट बन्दै आइरहेका छन् ।

भेटमा तत्कालीन युद्धका कमान्डरहरू उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू बन्दै आइरहेकाे भन्दै उनीहरूले त्यही आन्दाेलनकाे बलमा टेकेर आएकाहरू मात्र योग्य हुने तर आफूहरू कसरी अयाेग्य भन्दै प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री देउवासँग भएको भेट सकारात्मक भएको संगठनका उपाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले बाँकी अधुरो शान्ति प्रकृयालाई पुर्णता दिने र बहिर्गमित जनमुक्ति सेना नेपालले उठाउँदै आएको मागमुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको बताए ।

बहिर्गमित जनमुक्ति सेना नेपाल आफ्ना माग र मुद्दाको सम्बन्धमा पटकपटक सडक संघर्षरत रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्