भीम रावललाई फकाउन माधव नेपाल टोखामा !


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल सहभागी नभएपछि उनलाई भेट्न उनकै निवास टोखा पुगेका छन् । आफूनिकट नेताहरुलाई बोलाएको बैठकमा रावल अनुपस्थित भएपछि उनलालाई भेट्न नेपाल टोखा पुगेका हुन् ।

साउन २ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि नै सांसद पदबाट राजीनामा दिएका रावल एमालेका नेपालसँग रुष्ट छन् । पार्टी अध्यक्ष ओली पार्टी एकताका लागि तयार रहँदा पनि नेपाल नै चिढिएपछि एकता भंग भएको रावलले बताएका छन् ।

पार्टी एकता गर्न बनाइएको १० बुँदे सहमति नेता नेपालकै कारण असम्भव भएको नेता रावलको ठहर छ । साउन २ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिनु र पार्टी एकता गर्न १० बुँदे कार्यान्वयनमा अध्यक्ष ओली लचक हुँदा नेता नेपालले आफूनिकट सांसललाई संसद जोगानका लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन उर्दी जारी गरेका थिए ।

पार्टी एकताको अन्तिममा घडीमा नेता नेपालले दिएको निर्देशन गलत भन्दै रावलले त्यहीँ दिन सभामुख अग्नि सापकोटालाई सांसद पदबाट राजीना पत्र बुझाएका थिए । तर, अहिलेसम्म उनको राजीनामा पत्र स्वीकृत भएको छैन ।

प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालले ह्विप नै जारी गरेर मत दिनेलाई कारबाही गर्ने निर्देशन दिएको थियो । तर, ओली समूहकै ८ जना सांसदले ह्विप उल्लंघनत गरेर देउवालाई विश्वासको मत दिएका थिए भने नेपाल १४ जना गरी २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने २२ सांसदहरुलाई एमालेले बुधबार २४ घन्टे स्पष्टीकरण सोधेको छ । र, पार्टीले गरेको कारबाही र अबको कदमबारे बुधबार नेपाल समूहको बैठक आह्वान गरिएको थियो ।

तर, बैठकमा नेता रावल नगएपछि उनलाई भेटघाट गर्न र फकाउन बैठक सकिएलगत्तै नेता नेपाल रावलको निवास टोखा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्